अपाङ्गतालाई रेडक्रसद्वारा ४८ लाख रुपैयाँ सहयोग
भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल रेडक्रस सोसाइटीले अपाङ्गता भएका व्यक्तिलाई ४८ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रस सोसाइटी तनहुँ शाखाले जिल्लाको ऋषिङ गाउँपालिकाका २८० जनालाई ४८ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण कार्यक्रम अन्तर्गत सशर्त व्यवसाय गर्ने २०५ जनालाई २० हजार रुपैयाँका दरले ४१ लाख रुपैयाँ र निःस्वार्थरुपमा व्यवसाय गर्दै जीविकोपार्जनका लागि ७५ जनालाई दश हजार रुपैयाँका दरले सात लाख ५० हजार रुपैयाँ वितरण गरिएको रेडक्रस तनहुँकामन्त्री चिनु पोख्रेलले बताइन् ।
अपाङ्गता भएकालाई व्यक्तिलाई समुदायमा सशक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यबमोजिम उक्त रकम सहयोग गरिएको उनले बताइन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रेडक्रसको सहयोग अभियानले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए। तनहुँ शाखा सभापति कृष्णहरि वाग्लेले समुदायमा अपाङ्गता भएका व्यक्तिलाई सवलीकरण गरी आर्थिक उपार्जनका लागि रेडक्रसले विगतदेखि नै सहयोग गर्दै आएको बताए ।
मिर्गौलापीडितलाई सहयोग
ब्यास नगरपालिका-१४ केशवटार निवासी दुवै मिर्गौलापीडित मेगीसरा थापाको उपचारका लागि एक लाख ३७ हजार ६३८ रुपैयाँ हस्तान्तरण गरिएको छ । दमौली केशवटार समाजको पहलमा संकलन भएको उक्त रकम मिर्गौलापीडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।
समाजका आर्थिक संकलन समितिका संयोजक युवराज आलेले मिर्गौलापीडितका श्रीमान खेमबहादुर थापालाई रकम हस्तान्तरण गर्दै थप रकम संकलनको अभियान जारी रहेको बताए । समाजले दुइ हप्ताको अवधिमा उक्त रकम जुटाएको हो ।










