दलित अगुवा रामलिलाको निधन
भञ्ज्याङ समाचारदाता/दमौली

दलित अधिकारकर्मी तथा अगुवा रामलिला सुवर्णकारको निधन भएको छ । व्यास नगरपालिका-२ निवासी सुवर्णकारको बुधबार राति निधन भएको हो । केही वर्षयता अस्वास्थ रहेका सुवर्णकारको आफ्नै निवासमा निधन भएको हो । नेकपा एमाले तनहुँका सदस्य, संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष रहिसकेका उनी गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।
सुवर्णकार जातिय मुक्ति आन्दोलनका नेता समेत हुन् । जातिय विभेद विरुद्धको आन्दोलनमा सुवर्णकारको महत्वपूर्ण योगदान रहेको छ। शिक्षक सेवाबाट निवृत्त भई विभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिक क्रियाकलापमा सक्रिय सुवर्णकार आदिकवि भानुभक्त क्याम्पसका पुर्व सञ्चालक समितिका सदस्य तथा मानवअधिकार निग्ररानी समूह तनहुँका पुर्व अध्यक्ष समेत हुन् ।
यस्तै, नेकपा एमाले तनहुँका पुर्व जिल्ला कमिटी सदस्य सुवर्णकारको पार्थिव शरिरमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार एकबहादुर राना र एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सुवर्णकारलाई अन्तिम श्रद्धाञ्जली दिन उनको निवास र सेतीमादी घाटमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।
सुवर्णकारको दमौली स्थित सेतीमादी घाटमा विहिबार बिहान अन्तिम संस्कार गरिएको छ । दिवंगत सुवर्णकारका पत्नि, १ छोरा र १ छोरी छन् । उनका छोरा मनोज सुवर्णकार सुनचाँदी व्यवसायी हुन् ।










