माओवादी पार्टीलाई अब भुगोलमा होइन गुगोलमा खोज्नुपर्ने दिन आउन सक्छ : युवा नेता बस्नेत
भञ्ज्याङ समाचारदाता (दमौली)

नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा इन्चर्ज महेश बस्नेतले माओवादी पार्टीलाई भुगोलमा होइन गुगोलमा खोज्नुपर्ने दिन आउन सक्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै सरकारको विरोध गर्दै हिड्नेहरुको कुनै भविष्य नरहेको र उनीहरु इतिहासमा मात्रै सिमित हुन सक्ने अवस्था आउने बताएका छन् ।
‘मुलधार र सुर्य चिन्हधारी आधिकारिक पार्टीलाई सक्याउन खोज्ने माधव नेपाल र प्रचण्डको राजनीतिक भविष्य अन्धाकार छ’, उनले भने, ‘प्रधानमन्त्री केपीलाई भस्म गर्छुभन्दै हिड्ने उनीहरु आफै भस्म हुनेछन् । नेपाली इतिहासमा उनीहरुको नाममात्र सिमित रहन सक्छ ।’
यस्तै, प्रचण्ड दुःखी, गरिवको भलो चाहाने नेता नभई दुःखी गरिवकै टाउकोमा टेकेर सत्तामा पुग्न चाहाने नेता भएको आरोप लगाउँदै नेता बस्नेतले नेपालको राजनीतिक आकासमा गलत खालको गुट र घर बनिरहेको भन्दै देशभर बनाइएको समानान्तर कमिटीको कुनै औचित्य नभएको बताए।
केपी ओली एकता, शक्ति र शुसासनको नेता रहेको बताउँदै नेता बस्नेतले नेपाल र प्रचण्ड व्रि्रह, विभाजन र व्रि्रोहका नेता भएको आरोप लगाएका छन् । कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष वच्चनबहादुर सिंहले युवाहरु उत्पादनमा लाग्दै समृद्धिमा जोडिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले केपी ओली नेतृत्वमा देश विकास सम्भव रहेको चर्चा गर्दै युवाहरुले मुलुकलाई आर्थिक समृद्धिको बाटो डोर्याउने नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले अरु पार्टीको भर परेर एमालेलाई कमजोर बनाउने षड्यन्त्र पूरा हुन नदिइने बताउँदै युवाहरु संगठित भएर देश विकासमा लाग्न आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, एमाले जिल्ला उपसचिव विष्णुभक्त सिग्देल लगायतका नेताहरुले एमालेलाई बलियो पार्टी बनाउन सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।










