सय वर्ष पुराना सम्पदा खोज्दै व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षणका लागि विशेष अभियान अघि बढाइएको छ । नगरको मौलिक इतिहास र सांस्कृतिक पहिचान झल्काउने सम्पदाको व्यवस्थित अभिलेख तयार गरी भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानले अभियान सञ्चालन गरेको हो ।
प्रतिष्ठानले नगरभित्रका सय वर्षभन्दा पुराना सम्पदाको विस्तृत विवरण संकलन गरी ‘व्यास नगर सम्पदा’ नामक पुस्तक प्रकाशन गर्ने, महत्वपूर्ण सम्पदाको फोटो ग्यालरी तयार गर्ने र वृत्तचित्र निर्माण गर्ने योजना अघि सारेको छ । अभियानबारे प्रतिष्ठानले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले ऐतिहासिक तथा पुरातात्विक सम्पदा नगरको पहिचान र इतिहासका महत्वपूर्ण आधार भएकाले तिनको खोज, अभिलेखीकरण र संरक्षणलाई प्राथमिकता दिइएको बताए ।
उनले भने, ‘हाम्रो इतिहास र मौलिक पहिचान बोकेका सम्पदा संरक्षण गर्न नसके भावी पुस्ताले आफ्नो नगरको ऐतिहासिक महत्व बुझ्ने आधार गुमाउन सक्छन् । त्यसैले सम्पदाको पहिचान गरी प्रमाणसहित अभिलेख तयार गर्ने र संरक्षणलाई पर्यटनसँग जोड्ने काम अघि बढाएका छौँ ।’
पुरातात्विक सम्पदा अभिलेखीकरण समितिका संयोजक देवीबहादुर बस्नेतका अनुसार नगरका वडास्तरमा पुगेर स्थानीय सम्पदाको पहिचान तथा छनोट गर्ने काम भइरहेको छ । प्रत्येक वडाबाट छनोट भएका राष्ट्रिय तथा स्थानीय महत्वका सम्पदाको तस्बिरसहित अभिलेख तयार गरिनेछ ।
स्थानीयस्तरमा रहेका धेरै सम्पदाको ऐतिहासिक महत्वबारे पर्याप्त जानकारी र दस्तावेज नभएकाले तिनको व्यवस्थित अभिलेख तयार गर्न अभियानले प्राथमिकता दिएको बस्नेतले बताए। कुन सम्पदा कहाँ छ, त्यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व के हो र संरक्षणको अवस्था कस्तो छ भन्ने विवरण संकलन गरी एकीकृत अभिलेख तयार गरिने उनले जानकारी दिए ।
अभिलेखीकरणले सम्पदाको वर्तमान अवस्था पहिचान गर्न, संरक्षणका लागि प्राथमिकता निर्धारण गर्न र तिनको ऐतिहासिक महत्व नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानले सम्पदाको संरक्षणसँगै व्यास पराशर क्षेत्र, छाब्दी बाराही र तनहुँसुरलगायतका ऐतिहासिक तथा धार्मिक गन्तव्यको जानकारी प्रविधिमार्फत उपलब्ध गराउने तयारी गरेको छ । गोष्ठी सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक महाप्रसाद हड्खलेका अनुसार ती गन्तव्यमा क्यूआर कोडमार्फत पाँच भाषामा डिजिटल सूचना उपलब्ध गराउने योजना छ ।
सम्पदालाई पर्यटनसँग जोड्दा ऐतिहासिक तथा धार्मिक गन्तव्यको प्रचारप्रसार विस्तार हुनुका साथै स्थानीय संस्कृति, परम्परा र रैथाने खानाका परिकारको प्रवर्द्धनमा समेत सहयोग पुग्ने हड्खलेले बताए ।
अभियानबारे जनचेतना विस्तार तथा स्थानीय सम्पदाको महत्व उजागर गर्न आगामी मङ्सिर २५ देखि २७ गतेसम्म दमौली सभा गृह परिसरमा व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला आयोजना गर्ने तयारी गरिएको छ ।
मेला प्रस्तावना एवं प्रगति प्रतिवेदन लेखन समितिका संयोजक प्रज्ञा हरिसिंह गुरुङका अनुसार मेलामा सम्पदाको महत्वबारे विचार गोष्ठी, वृत्तचित्र निर्माण तथा स्थानीय संस्कृति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन् । मेलामार्फत नगरका ऐतिहासिक सम्पदा र ग्रामीण पर्यटनको सम्भावनाबारे जानकारी गराउने लक्ष्य राखिएको छ । प्रतिष्ठानले मेलालाई प्लास्टिकका बोतल र गिलासमुक्त बनाउने योजना बनाएको छ ।
व्यास नगरका सम्पदा पहिचान गरेर पुस्तक, तस्बिर र वृत्तचित्रमा सीमित नराखी तिनको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा समेत निरन्तरता दिन सके अभियानको उपलब्धि दीर्घकालीन बन्नेछ । व्यवस्थित अभिलेखसँगै संरक्षणका लागि आवश्यक स्रोत, स्थानीय समुदायको सहभागिता र पर्यटनसँगको प्रभावकारी सम्बन्ध स्थापित गर्नु नै नगरको ऐतिहासिक पहिचान जोगाउने मुख्य आधार हुनेछ ।










