तनहुँका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, थर्पु आधारभूत अस्पताल जिल्लामा उत्कृष्ट

तनहुँ । आर्थिक वर्ष २०८२/८३ मा तनहुँ जिल्लामा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँ विहीबार र शुक्रबार दमोलीमा समीक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालय, तनहुँका कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक अमर दवाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि रहेका थिए ।

समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, आधारभूत अस्पतालका प्रतिनिधि, विभिन्न स्वास्थ्य कार्यक्रमका फोकल पर्सन तथा स्वास्थ्यसम्बद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तह तथा स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे विषयगत प्रस्तुतीकरण र छलफल गरिएको थियो । जिल्लाका प्राथमिकतामा रहेका विभिन्न जनस्वास्थ्य कार्यक्रमका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण, पशु स्वास्थ्य तथा आयुर्वेद स्वास्थ्य सेवासम्बन्धी विषयमा समेत प्रस्तुतीकरण गरिएको थियो ।

भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले नगरपालिकाले सञ्चालन गरेको मातृ तथा नवशिशु स्वास्थ्य सेवासम्बन्धी अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका थिए । उनले गर्भधारणपूर्व परामर्श तथा अभिमुखीकरण -गर्भधारण गर्नुअघि महिला तथा दम्पतीलाई स्वास्थ्य अवस्था, पोषण, आवश्यक जाँच, जोखिम न्यूनीकरण तथा सुरक्षित गर्भधारणसम्बन्धी जानकारी र परामर्श दिने सेवा) र नवजात शिशु मृत्यु निगरानी -जन्मेको २८ दिनभित्र हुने नवजात शिशुको मृत्युका घटना पहिचान, अभिलेखीकरण, कारणको समीक्षा तथा भविष्यमा त्यस्ता मृत्यु घटाउन आवश्यक सुधारका उपाय पहिचान गर्ने प्रक्रिया) का विषयमा जानकारी गराएका थिए ।

समीक्षा कार्यक्रमको समापनका अवसरमा १०० पूर्णाङ्कमा आधारित कार्यक्रमगत सूचक तथा समग्र कार्यसम्पादनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था छनोट गरी सम्मान गरिएको थियो ।

जसअनुसार म्याग्दे गाउँपालिकाको थर्पु आधारभूत अस्पताल ९३.०५७ प्रतिशत अंकसहित प्रथम भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार स्वास्थ्य चौकी ८९.३३ प्रतिशत अंकसहित द्वितीय र देवघाट गाउँपालिकाको छिपछिपे स्वास्थ्य चौकी ८७.३२ प्रतिशत अंकसहित तृतीय भएका छन् ।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा भिमाद नगरपालिकाले ‘भिमाद नगरपालिकाका हरेक आमा तथा नवजात शिशुसम्म स्वास्थ्य सेवाको पहुँच : स्वास्थ्य सेवा खोज्ने व्यवहारको विश्लेषण’ विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट प्राप्त तथ्य तथा सुझावलाई स्थानीय स्वास्थ्य समस्या पहिचान र तथ्यमा आधारित योजना निर्माणमा उपयोगी योगदान पु¥याएको भन्दै सुनिता धरेललाई प्रशंसा–पत्र प्रदान गरिएको छ ।

त्यस्तै, जन्तरा संस्थाले कम्प्युटर–सहायिता डिजिटल एक्स–रे (सिएडिइ एक्स–रे) प्रविधिमार्फत क्षयरोग परीक्षण शिविर सञ्चालन गरी समुदायमा लुकेर रहेका क्षयरोगका बिरामी पहिचानमा योगदान पु¥याएको भन्दै जन्तरा संस्थाका कार्यक्रम संयोजक प्रवेश तिमिल्सेनालाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका कार्यालय प्रमुख डा. बुद्धिप्रसाद पौडेल, प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराल, कृषि विकास कार्यालयका कार्यालय प्रमुख पर्शुराम अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका ज्योती आचार्य तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषि सापकोटालगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी गण्डकी प्रदेश सरकार, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक यामप्रसाद शर्मा, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुसुमशिला भट्ट, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका प्रविण भण्डारी तथा डब्लु/आईपिडी पिल्ड अफिसर पोखराका यसयमओ डा. सस्मिता पोखरेललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक कार्यसम्पादन सफल बनाउन सहयोग गर्ने संघीय तथा प्रदेश सरकार, स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, विकास साझेदार तथा सम्बन्धित संघ–संस्थाप्रति आभार व्यक्त गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker