पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण
रासस (दमौली)

तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा र्सवसाधारणको आकर्षण बढेको हो ।
नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिनुभयो । “नयाँ वर्ष लागेसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिभराउ छ,” उहाँले भन्नुभयो, “बन्दीपुरको टुँडिखेल, मुख्य बजारमा पर्यटक खचाखच छन् ।” नयाँ वर्षको अवसरमा बन्दीपुरमा प्रत्येक वर्षकार्यक्रम हुने गरेको थियो । यस वर्ष भने मञ्च (स्टेज) कार्यक्रम गरिएको छैन । स्टेज कार्यक्रम नगरिए पनि प्रत्येक होटल व्यवसायीले आफ्नो होटल अगाडि साङ्गितिक कार्यक्रम गरेका छन् ।
हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको संख्या न्यून रहेपनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिनुभयो । “बन्दीपुरमा बास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको संख्या उत्साहजनक छ,” उहाँले भन्नुभयो, “नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चार्डपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।”
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको ब्यास नगरपालिका-३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षा बढेको छ । उद्यानमा जाने र फोटो तथा टिकटक बनाउन युवायुवतीको अत्याधिक भीड बढेको हो । पछिल्लो समय उक्त दुइ उद्यान पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
ब्यास-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा पनि आन्तरिक भक्तजनको भीड बढेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरबाराही मन्दिरमा पनि भक्तजनको भीड बढेको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।










