बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मीहरुको देशव्यापी आन्दोलनप्रति एक्यवद्धता

तनहुँ : देशव्यापी रूपमा स्वास्थ्यकर्मीहरूले समय र श्रमको कदर हुनुपर्ने मागसहित चलाइरहेको प्रदर्शनलाई बन्दीपुर अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले समर्थन जनाएका छन्।
बन्दीपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मीहरूको जायज मागमा पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै, श्रमको सम्मान र उचित पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

अस्पतालका अनुसार हाल बन्दीपुर अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरू नेपाल सरकारको तहअनुसारको तलब भत्ता पाउँदै आएका छन् भने अतिरिक्त कार्यसमयको भुक्तानीका लागि पनि बजेटीय व्यवस्था गरिएको छ।
तर, अबको यात्राका रूपमा पालिकाभित्रका सबै स्वास्थ्यकर्मीहरूलाई पनि समान तलब स्केल लागू गर्नुपर्ने, सबै स्वास्थ्यकर्मीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने र प्रयोगशाला (ल्याब) तथा एक्स–रे शाखाका कर्मचारीहरूलाई सरह अन्य नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई समेत जोखिम भत्ता प्रदान गर्नुपर्ने माग उठाइएको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मीहरूले उक्त मागहरू पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सबै सरोकारवालालाई जानकारी गराइएको बताएका छन्।










