व्यासको कार्यपालिका बैठक : बाढीपहिरो, जेनजी आन्दोलन, योजना कार्यान्वयन र खर्च कटौतीबारे समीक्षा

दमौली : तनहुँको व्यास नगरपालिकाको २२४औं कार्यपालिका बैठकले विभिन्न विषयको समीक्षा गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले हालका प्राकृतिक र सामाजिक घटनाक्रम, योजनाको कार्यान्वयन तथा खर्च व्यवस्थापन लगायतका विषयमा समीक्षा गर्दै केही निर्णय गरेको हो ।
बाढीपहिरोबाट धनजनको क्षति नभएको प्रतिवेदन
गत असोज १९ देखि २१ गतेसम्म परेको लगातार वर्षा र बाढीपहिरोबाट व्यास नगरपालिकाका सबै १४ वडाबाट प्राप्त विवरण अनुसार धनजनको क्षति नभएको बैठकमा जानकारी गराइएको थियो। बैठकले सम्भावित जोखिम न्यूनीकरण र पूर्वतयारीका उपाय प्रभावकारी बनाउन सम्बन्धित शाखालाई सुझाव दिएको छ।
योजना कार्यान्वयनमा अर्थ मन्त्रालयको निर्देशन
आर्थिक वर्ष २०८२/०८३ का लागि नगरसभाबाट स्वीकृत योजनाहरू अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेका निर्देशनका आधारमा कार्यान्वयन गरिने निर्णय बैठकले गरेको छ। योजनाहरू समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित शाखाहरूलाई जिम्मेवारी तोकिएको छ ।
खर्च कटौती तथा दरबन्दी व्यवस्थापनका लागि समिति गठन
संघीय सरकारको निर्देशन अनुसार नगरपालिकाको खर्च कटौती र कर्मचारी दरबन्दी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको प्रतिवेदन सुशासन समितिमार्फत आगामी नियमित बैठकमा पेश गरिनेछ ।
जेन्जी आन्दोलनबाट व्यापक क्षति
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा नगरपालिकाका विभिन्न सम्पत्ति र सवारीसाधनमा ठूलो क्षति पुगेको बैठकमा प्रस्तुत गरिएको छ। आन्दोलनका क्रममा चार वटा सरकारी गाडी, तीन मोटरसाइकल र एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त, एक निजी स्कुटर पूर्ण नष्ट र एक निजी मोटरसाइकल आंशिक क्षति भएको विवरण पेश गरिएको छ ।
त्यस्तै, एक जेसीबी लोडर, टाटा सुमो र दमकलमा आंशिक क्षति, मूल कार्यालय र दमौली सभाहलमा सिसा फुटाइने, १३ नं. वडा कार्यालयका दुई पुराना भवन पूर्ण ध्वस्त र नयाँ भवन आंशिक क्षति, साथै नगर प्रमुख आवास गृहमा तोडफोड र चोरीका घटना घटेका थिए ।
राजस्व संकलनमा सुधार
आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक आयतर्फ २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा असोज २१ गतेसम्म रु. २ करोड ३८ लाख राजस्व संकलन भएको जानकारी बैठकमा प्रस्तुत गरिएको छ। नगरपालिकाले आन्तरिक आय वृद्धिका लागि नयाँ स्रोत पहिचान र कर प्रणाली सुधारका उपाय अपनाउने निर्णय गरेको छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरणमा प्रगति
व्यास नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल ७,९०८ मध्ये ७,८१५ जनाको नवीकरण सम्पन्न भएको र ९३ जनाको विवरण बाँकी रहेको बैठकमा जानकारी दिइएको छ। बाँकी लाभग्राहीको विवरण शीघ्र अद्यावधिक गर्न वडाहरूलाई निर्देशन दिइएको छ ।
बैठकका अन्त्यमा नगर प्रमुख न्यौपानेले सुशासन, पारदर्शिता र आर्थिक अनुशासनलाई प्राथमिकता दिँदै नगरका योजनाहरूलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।