ग्रीनवीचको अविस्मरणीय यात्रा : रेडिङदेखि प्राइम मेरिडियनको मुटुसम्म

देव बस्न्यात

विद्यालयको भूगोल पुस्तकमा हामीले कहिल्यै बिर्सन नसक्ने एउटा पंक्ति पढेका थियौँ– “ग्रीनवीचको प्राइम मेरिडियन रेखाबाट विश्वको प्रमाणिक समय सुरु हुन्छ ।” बेलायत पुगेपछि त्यो काल्पनिक तर वैज्ञानिक रूपमा अत्यन्त महत्त्वपूर्ण रेखा आफ्नै आँखाले देख्ने चाहना कसको हुँदैन र ?

डार्टफोर्डतर्फको यात्रा

लण्डन भ्रमणकै क्रममा टावर ब्रिजनजिकै तनहुँ–दमौलीका हरि हड्खलेसँग आकस्मिक भेट भयो। भेट्नेबित्तिकै उनले शनिबार डार्टफोर्ड आउन आग्रह गरे। भतिज नेत्र श्रेष्ठ पनि नजिकै क्रेफोर्टमा बस्ने रहेछन्। समय मिलाउन नेत्रको सुझावमा हामी जुलाई १ तारिख नै डार्टफोर्ड पुग्ने निर्णय गर्यौ । रेडिङबाट रेलमा डार्टफोर्ड, अनि स्टेशनबाट नेत्रको कारमा सीधा उनको घर । परिवारसँगको छोटो परिचय र जलपानपछि हाम्रो लक्ष्य स्पष्ट थियो–ग्रीनवीचको प्राइम मेरिडियन अवलोकन।

समय र मापनको इतिहास

ग्रीनवीच पुगेपछि थेम्स नदी किनारको खगोलिय वेधशाला नजिकै उभिँदा इतिहास आफ्नै आँखामै जिवन्त भयो। यही शून्य देशान्तर रेखाबाट पूर्व र पश्चिमका समय क्षेत्र तोकिन्छन्– हरेक १ डिग्री देशान्तरमा ४ मिनेटको फरक। ग्रीनवीचभन्दा पूर्व समय छिटो र पश्चिम समय ढिलो ।

पूर्वीय संस्कृतिमा घडी, पला, विपला जस्ता समय–एकाइहरू प्रचलित थिए, जहाँ ६० घडीलाई एक दिन मानिन्थ्यो। पाश्चात्य प्रणालीमा भने घण्टा, मिनेट र सेकेन्ड। आज हामी आधुनिक घडी हेरेर समय बुझ्छौँ, तर यसकै आधार यस्ता प्राचीन गणनाहरूमा छ ।

नेपालको प्रमाणिक समय

नेपालको प्रमाणिक समय बिन्दु भने ग्रीनवीचभन्दा ८६ डिग्री १५’’ पूर्वमा पर्ने दोलखाको गौरिशंकर हिमालमा तय गरिएको हो। त्यसैले हाम्रो समय ग्रीनवीचभन्दा ५ घण्टा ४५ मिनेट अगाडि हुन्छ– यो भौगोलिक तथ्य ग्रीनवीचमै पुगेर सम्झिँदा अझै रोचक लाग्यो ।

ग्रीनवीच पार्क र संग्रहालय

नेशनल मेरिटाइम म्युजियम, रोयल ग्रीनवीच पार्क हुँदै बजार क्षेत्रसम्म घुम्दा ऐतिहासिक भवन र आधुनिक संरचनाको संगम अनुभव भयो। थेम्स नदी किनारमा पुरानो जलयात्रा इतिहास सुनाउने खुला संग्रहालय र बोटहरू हेर्दै, हामी भूमिगत मार्ग हुँदै नदीपार पनि ग¥यौँ ।

उलवीचको युद्ध–स्मृति

फलामे युगदेखि भेडापालन र व्यापारको केन्द्र मानिने उलवीचमा गोरखा सैनिक क्याम्प, प्रथम र द्वितीय विश्वयुद्धमा वीरगति प्राप्त सिपाहीहरूको सालिक, पुराना तोपहरूको प्रदर्शनी– सबैले गहिरो राष्ट्रभक्तिको भाव जागृत गराए ।

डार्टफोर्डको बिहान

भोलिपल्ट नेत्र श्रेष्ठ र उनका अभिभावकसँग डार्टफोर्ड पार्क र बजार क्षेत्र घुम्दा दमौलीका रज्जन मल्लले सञ्चालन गरेको पुरानो होटलको स्थानसम्म पुगियो। त्यहाँ एउटा स्मृति–तस्वीर खिचियो। तर, कार पार्किङ ७ मिनेट बढी हुँदा जरिवाना भुक्तान गर्नु परेको घटना पनि यात्राको सम्झनामा थपियो ।

दाजुभाइको मिलन

हरि हडखलेको घरमा डा. बच्चु कैलाश कैनी, बलबहादुर पोखरेल, खगनिधि हडखले लगायत परिवारको भेटघाट, मिठा संवाद र खानपानमा बितेको समय अविस्मरणीय रह्यो। साँझ डा. कैनीले हामीलाई डार्टफोर्ड स्टेशनसम्म पु¥याए र राति १० बजे रेडिङ फर्किएपछि यो छोटो तर गहिरो अनुभवले मनभरि तृप्ति भरियो ।

ग्रीनवीचको प्राइम मेरिडियनमा उभिँदा मात्र थाहा हुन्छ– विश्वको समयलाई बाँध्ने यो काल्पनिक रेखा वास्तवमा मानव सभ्यताको साझा धरोहर हो। यस यात्राले भूगोलका पृष्ठहरूलाई जीवन्त बनाउँदै, समय, इतिहास र संस्कृतिको अद्भुत संगम अनुभव गरायो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker