विश्व रेबिज दिवसको अवसरमा ३९५ जनावरलाई रेबिज बिरुद्धको खोप
भञ्ज्याङ समाचारदाता/दमौली

विश्व रेबिज दिवसका अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ३९५ जनावरलाई रेबिज बिरुद्दको खोप लगाएको छ। नेपाल सरकारले सन् २०३० सम्ममा नेपालमा रेबिज उन्मुलन गर्ने लक्ष्य राखे अनुरुप घरपालुवा र छाडा सामुदायिक जनावरलाई समेत गरी उक्त संख्यामा रेबिज बिरुद्दको खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट छाडा सामुदायिक कुकुर ८८ र घरपालुवा ६०, बिरालो सात र बाँदर दुइ गरी १५७ जनावरलाई खोप लगाइएको कार्यालयका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । त्यसैगरी जिल्लाको बन्दिपुर गाउँपालिकामा १०३, शुक्लागण्डकी नगरपालिकामा ७० र आँबुखैरेनी गाउँपालिकामा ६५ जनावरलाई खोप लगाइएको उनले जानकारी गराए ।
रेबिज प्राणघातक रोग भएकोले यदि मानिसमा देखा परेमा बाँच्ने सम्भावना नहुने हुँदा यस रोगबाट बच्न भ्याक्सिन नै प्रभावकारी माध्यम भएको डा. श्रेष्ठले बताए । ९९ प्रतिशत रेबिज मानिसमा कुकुरबाट सर्ने र १ प्रतिशत न्याउरी मुसा, चमेरा लगायतबाट सर्ने भएकोले नेपालमा बर्षेनी दुइ सयको हाराहारीमा रेबिजका कारण मानिसहरुको मृत्यु हुने गरेको बताइन्छ ।
‘पहिलो चरणमा व्यास नगरपालिकालाई रेबिज उन्मुलन गर्ने गरी कार्य थालिएको छ’, डा. श्रेष्ठले भने, ‘कुकुरको संख्या नियन्त्रण गर्ने, बन्ध्याकरण गर्ने, नगरपालिका भित्र पालिने घरपालुवा जनावरको रेकर्ड राख्ने, दर्ता गरेर मात्रै पाल्न पाउने गरी व्यवस्था मिलाइनेछ ।’
मानिसहरुले कुकुर पाल्न मन लागुन्जेल पाल्ने र मन नलागेपछि सडकमा लगेर छाडिदिने गर्नाले सवारी दुर्घटना समेत बढ्दै जाने समस्या रहेकोले यसलाई व्यवस्थित गर्न लागिएको छ । कार्यालयले अहिले सप्ताहव्यापी रुपमा अभियान थालेपनि आवश्यक देखिए महिना दिनसम्म पनि सञ्चालन गरी घरपालुवा जनावरलाई भ्याक्सिन दिन सकिने सो कार्यालयले जनाएको छ ।










