सेवाग्राहीमैत्री बन्दै शुक्लागण्डकी : “अब फाइल बोक्ने कर्मचारी, सेवाग्राहीलाई आराम”

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीको लागि एकीकृत सेवा प्रदान गर्ने योजना बनाएको छ । नगरपालिकाले बिहीबार सेवा प्रवाह सञ्चालन केन्द्रको सुरु गर्दै सेवाग्राहीहरुको लागि भुइतल्लाबाटै सेवा दिने व्यवस्था सुरु गरेको छ ।

‘शुक्लागण्डकी नगरपालिकामा सेवा लिन आउँदा अब फाइल बोकेर कोठाकोठा, झयाल झयाल धाउनु पर्दैन’, नगरपालिकाका उपप्रमुख खुमबहादुर बिकले भने ‘नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन हामीले एकीकृत सेवा सुरु गरेका हौं ।’

सेवाग्राहीले नगरपालिकाको भुइँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा आएर आफ्नो फाइल बुझाएपछि सबै फाँटमा जानुपर्ने काम कर्मचारीले नै गर्ने व्यवस्था मिलाएको छ । ‘सेवाग्राही आएर कर्मचारीलाई फाइल दिएपछि आरामले सोफामा बस्छन्, यो फाँट त्यो फाँट केही भन्नुपर्दैन सबै कर्मचारीले नै गर्छन’, उपप्रमुख बिकले भने, ‘केही समस्या भए सम्बन्धित कर्मचारीले सर्म्पर्क गर्नेछन् । नत्र काम सकाएर फाइल आउँछ सेवाग्राहीले हाकिम, कर्मचारी भेट्नै पर्दैन ।’

यसरी सेवा प्रवाह गर्दा सेवाग्राहीलाई कर्मचारीलाई दिने दुख, भ्रष्टचारको कुरा सुन्न नपर्ने उपप्रमुख विकको विश्वास छ । यसका लागि नगरपालिका मै रहेका कर्मचारीहरुबाट नै सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

नगरपालिकामा सेवा लिन पुग्ने नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याएको नगरप्रमुख कृष्णराज पण्डितले बताए । उनले भने, ‘नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन सम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेका छै ।’

सेवा प्रवाह केन्द्र शुभारम्भ गर्दै नगरप्रमुख पण्डितले सेवा प्रवाह सञ्चालन केन्द्रले सहजकर्ताको भुमिका निर्वाह गर्ने बताए । ग्रामीण क्षेत्र तथा बजार क्षेत्रमै बसोवास गर्ने नागरिकले नगरपालिका आएपछि कुन कामको लागि कस्लाई भेट्ने थाहा नहुने हुँदा सेवा लिन असहज भएकाले नागरिकलाई सहज र छिटोछरितो रुपमा सेवा दिनका लागि यो केन्द्रमा सञ्चालनमा ल्याइएका उनलेब ताए ।

‘यस कार्यले संघीयताको मुल मर्म अनुरुप डोर टु डोर सर्भिसलाई केही हदसम्म पुरा गर्नेछ । कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण हुनेछ भने सेवाग्राहीलाई सहज रुपमा काम सम्पन्न गर्न सहयोग पुग्छ’, नगरप्रमुख पण्डितले भने, ‘हामी नगरबासिलाई सहज रुपमा छिटोछरितो सेवा प्रवाह गर्नेछौं ।’

नगरको शाखामा, उप-शाखाहरुमा रहेका कर्मचारीलाई जनताले खोज्दै जाने होईन कि, यो केन्द्रमा आएपछि जनतालाई समस्या परेको खण्डमा जनता खोज्दै कर्मचारी केन्द्रसम्म आउने वातावरण सिर्जना गर्ने नगरपालिकाले लक्ष्य लिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपानेले नगरको सेवालाई जनमैत्री बनाउन सेवा प्रवाह केन्द्र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । सार्वजनिक क्षेत्रमा सेवा प्रवाह केन्द्रको प्रयोग कमै हुने गरेको बताउँदै उनले सम्भवत सेवा प्रवाह केन्द्र नेपालमै प्रथम पटक शुभारम्भ भएको दाबी गरे । नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गर्न लागेको र असार मसान्तसम्म परिक्षणकालका रुपमा सञ्चालन गर्ने र त्यसपछि थप परिमार्जित गरी सेवालाई थप सहज बनाउने बताए ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले सेवा केन्द्रको परिचय, उद्देश्य र सञ्चालन विधिबारे जानकारी गराएकी थिइन् । यस्तै, कार्यालयमा आउने आम सर्वसाधारण नागरिक फाईल लिएर वा नलिई कुनै पनि शाखामा प्रवेश गर्न नपाउने तर नगर प्रमुख र उपप्रमुखसंग भेट्न भने कुनै बाधा नपर्ने उनले बताइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker