स्व पूर्णका स्मृतिमा अक्षयकोष स्थापना
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठको गत जेठ १२ गते हृदयाघातका कारण ४८ वर्षका उमेरमा निधन भएको थियो ।
उनको १३औं दिनका पुण्यतिथिमा आइतबार तीन लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै तीन विधामा क्रियाशील व्यक्तिलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए । सो रकमबाट प्राप्त ब्याजले आगामी २०७९ असोज ४ गते रेडियो स्थापना भएको दिनको अवसर पारेर नगदसहित सम्मान गरिने भएको छ ।
यसअघि रेडियोको शुक्रबार वरिष्ठ उपाध्यक्ष ज्योति श्रेष्ठका अध्यक्षतामा बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । पत्रकारिता, साहित्य र समाज सेवाका क्षेत्रमा क्रियाशील व्यक्तिलाई सम्मान गरिने बताइएको छ ।
तनहुँ जिल्लाभित्र क्रियाशील मध्ये पत्रकारिता क्षेत्रमा लागेका एक, साहित्यिक क्षेत्रमा सक्रिय र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरी तीन विधामा सम्मान गरिने छ । श्रेष्ठ रेडियोका संस्थापक उपाध्यक्ष थिए ।










