सातौं पटक चुनावी मैदानमा उत्रिएका कांग्रेस नेता पौडेललाई स्वतन्त्र उम्मेदवारको चुनौती
भञ्ज्याङ समाचारदाता/तनहुँ

सातौं पटक चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशका लागि केही बाँकी रहेकाले उम्मेद्वारी दिएको बताएका छन् । तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गर्न आएका पौडेलले पत्रकारलाई प्रतिक्रिया दिदैँ लोकतन्त्रका लागि केही बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।
‘नेपालको लोकतन्त्र, राजनीतिक अवस्थालाई फेरी पनि अस्थिर बनाउने षडयन्त्र भइरहेका छन् । मुलुकलाई पछाडीतिर धकेल्ने कोशिषहरु भइरहेका छन् । प्रतिगमन मुन्टो उठाउन खोज्दैछ’, नेता पौडेलले भने, ‘प्रतिगमानबाट देशलाई जोगाउन जरुरत रहेको छ । जनताको उत्थानका लागि परिवर्तनलाई जोगाउनुपर्ने र शुसासन कायम गर्दै गाउँ गाउँमा रोजगारी सिर्जना गर्ने मेरो लक्ष्य छ ।’
तनहुँको बुल्दीखोलाबाट गठबन्धनको सुरुवात भएको बताउँदै नेता पौडेलले गठबन्धन नै जित्ने आधार भएको बताए । उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमतसंग्रह पनि हो ।’
पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशा संचार दिन चाहेको बताए । पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।
‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टाचार, विकृति हो । म त्यो भ्रष्टाचारको उन्मूलन गरेर जनतामा आशा जगाउने छु । मैले यही प्रण गरेको छु’, पौडेलले भने, ‘गाउँमा सबै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न सकेको छैन ।’
‘२०४८ सालमा यही विचारी चौतारामा उभिएर बोलेको थिएँ । विकासलाई गाउँ गाउँमा पुर्याएर गाउँमा नै बसौं बसौं बनाउन चाहन्छौं भनेको थिएँ’, उनले भने, ‘विकासले मात्र गाउँमा मन फर्काउन नसकिने रहेछ । गाउँ बसौं बसौं बनाउनका लागि आम्दानी र रोजगारी गाउँमै पुर्याउन आवश्यक रहेछ ।’
पौडेलको यो चुनावी यात्रा सातौँ हो । उनी २०४८ सालदेखी लगातार चुनाव लडिरहेका छन् । २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल विजयी भए । २०५१ सालमा उनले निर्वाचन क्षेत्र फेर्दै क्षेत्र नम्बर २ बाट विजयी भए । २०५६, २०६४, २०७० मा उनी क्षेत्र नम्बर २ बाट नै विजयी भएका हुन् ।
संघीय पुनःसंरचना अनुसार २०७४ को चुनावमा तनहुँमा दुइ वटा मात्रै क्षेत्र कायम भयो । छैठौँ पटकको चुनावी मैदान उनी क्षेत्र नम्बर १ बाट उत्रिए । तर उनको विजयी यात्रामा भने ब्रेक लाग्यो । पौडेल तत्कालिन वाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका तत्कालिन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ -किसान) सँग पराजित भएका थिए ।
पौडेललाई श्रेष्ठले ६ हजार ८०२ मतान्तरले पराजित गरेका हुन् । किसानले ३४ हजार ४९२ र पौडेलले २७ हजार ६९० मत पाएका थिए । हाल श्रेष्ठ एमालेबाट विभाजन भएर स्थापति नेकपा एकिकृत समाजवादी पार्टीमा छन् । उनले तनहुँ छाडेर बारा ४ बाट लड्दैछन् ।
सातौं चुनावी यात्रा पनि पौडेललाई त्यति सहज देखिदैन् । नेपाली कांग्रेसबाट निष्कासित पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि पौडेलकै क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराइसकेका छन् । जोशीले अघिल्लो पटक पनि उम्मेद्वारी दर्ता गराएका थिए । तर उनको उम्मेद्वारी निर्वाचन आयोगले अयोग्य ठहर गर्दै रद्ध गरेको थियो ।
गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको हुँ : जोशी
तनहुँ क्षेत्र नम्बर १ मा गोविन्दराज जोशीले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा पुगेर उनले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा रामदेव पन्त र कृष्णप्रसाद सोती समर्थक रहेका छन् ।
उम्मेदवारी दर्ता पश्चात नेता जोशीले गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको बताए । उनले भने, ‘नेपाली राजनीति अहिले विघटनको बाटोतिर गाको छ । यो गठबन्धनको राजनीति पुर्णतया अप्रजान्त्रिक र व्यक्तिको अधिकारलाई हनन गर्नेतर्फ अगाडी बढेको हुनाले यो गठबन्धनको राजनीतिलाई अन्त्य गरेर प्रत्येक नागरिकले आफुले इच्छाएको व्यक्तिलाई मतदान गर्न पाउने आफ्नो अधिकार अथवा पार्टीको उम्मेद्वारलाई मतदान गर्न पाउने प्रणालीलाई कायम गर्नुपर्छ । अहिलेको गठबन्धन केबल सिमित व्यक्तिहरुको स्वार्थ पुरा गर्नका लागि अगाडी बढेको हुनाले यसलाई समाप्त पार्नुपर्छ र प्रजातन्त्रलाई पुनःस्थापित गर्नुपछ भनेर उम्मेद्वारी दिएको हो ।’

तनहुँमा आफु सत्तामा हुँदा सुरु गरेका काम पुरा गर्नलाई पनि उम्मेद्वारी दिएको उनको भनाइ छ । उनी जनताले दिएको माया ममता आफुले निर्वाचन जित्ने आधार भएको बताए । उलने जहाँ गएपनि मलाई भोट हाल्दिन भन्ने मान्छे भेटिन्न, सबै पार्टीको साझा उम्मेद्वार आफु भएको दाबी गरे ।
१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो । पूर्व गृहमन्त्री समेत रहेका जोशीले अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रमा उम्मेद्वारी दिएका थिए । तर, अयोग्य ठहर गर्दै निर्वाचन आयोगले उनको उम्मेद्वारी रद्ध गरेको थियो ।
यस्तै, तनहुँ १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका एकबहादुर रानाले उम्मेद्वारी दिएका छन् । जोशीको उम्मेद्वारी रद्ध नभएको खण्डमा एमालेले पनि जोशीलाई र्समर्थन गर्न सक्ने चर्चा तनहुँको राजनीति वृत्तमा चलेको छ । गत स्थानीय तहको निर्वाचनमा जोशी समुहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।
नेता पौडेल विरुद्ध नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोलाले स्वतन्त्र उमेदवारी दिएका छन् । पौडेल निकट मानिने बास्तोलाले उम्मेद्वारी दिएपछि उनलाई धेरथोरै असर गर्ने देखिन्छ । यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइले स्वतन्त्र उमेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा पछि हटेका छन् ।
गठबन्धनको सहमति विपरित नेकपा समाजवादी
मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति बमोजिम नेकपा (एकीकृत समाजवादी) ले तनहुँमा कुनै क्षेत्र नपाएपछि नेकपा (एकीकृत समाजवादी) ले चार वटा प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रदेशसभा १ मा विद्या ढकाल, प्रदेशसभा २ मा कलिला खानले उम्मेदवारी दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा दुर्गाकुमार श्रेष्ठ र प्रदेश २ मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्कीले गठबन्धनका सुत्रधार रामचन्द्र पौडेलबाट धोका भएकाले उम्मेदवारी दर्ता गर्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।










