शुक्लागण्डकी नगरपालिकाको सम्वृद्धिको आधार : ढुंगा, गिट्टी, वालुवा प्रभावकारी व्यवस्थापन
एकराज सिग्देल

पृष्ठभूमि
ढुंगा गिट्टी वालुवा शुक्लागण्डकी नगरपालिकाको राजश्वको एउटा प्रमुख आधारस्तम्भ हो । प्रभावकारी ब्यबस्थापन गरेको खण्डमा यो श्रोत शुक्लागण्डकी नगरपालिकाको संवृद्धिका लागि कोसेढुंगा साबित हुन सक्दछ । यसको लागि आबश्यक नीति तथा कानुनि प्राबधान तर्जुमा गरी समयमै कार्यान्वयन प्रक्रिया अगाडी बढाउनु अत्याबश्यक छ ।
नजिकै हुन गैरहेको नगरपालिकाको निर्बाचनमा घरदैलोमा आउने उम्मेदवार, खासगरी नगर प्रमुख, उप-प्रमुख र वडा अध्यक्षले ढुंगा गिट्टी वालुवाको दिगो व्यवस्थापन सम्बन्धी धारणा जनता समक्ष प्रस्ट पार्नु आबश्यक छ । मतदाताले पनि उम्मेदवार छान्ने एउटा बलियो आधार यसलाई मान्नु उपयुक्त हुन्छ ।
कानुनि प्राबधानहरु
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न तथा प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण जस्ता संविधानमा उल्लेखित बिषयलाई कार्यान्वयन गर्ने सर्न्दर्भमा नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ तर्जुमा गरेको छ ।
ढुङ्गा, गिट्टी, बालुवा स्थानीय तहहरुका लागि सन् २००० देखि एक महत्वपूर्ण राजस्वका स्रोत भएका छन् । यस्तो हुनमा स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को महत्वपूर्ण भूमिका छ, जसले यी स्रोतहरु माथिको पूरै ब्यवस्थापकीय अधिकार तथा स्वामित्व स्थानीय निकायलाई प्रदान गरेका छन् ।
नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ को तर्जुमा गरेसँगै वातावरण अध्ययन प्रतिवेदन तयारी एवं स्वीकृतिको अधिकार केन्द्रीय सरकारबाट विधिवत् रुपमा हाल स्थानीय तहमा हस्तान्तरण भएको छ । त्यसैगरी, दिगो वातावरण संरक्षणको सिद्धान्तलाई स्थानीयकरण गर्नको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण संबर्धनमा व्यवस्था गर्न बनेको नमुना विधेयक, २०७६ समेत जारी गरेको छ ।
यस विधेयकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेखित स्थानीय सरकारले गर्नुपर्ने ढुङ्गा, गिट्टी, वालुवा, माटोको उत्खनन, संकलन, उपयोग, विक्री तथा वितरण सम्बन्धी क्रियाकलापहरुलाई समेटिएको छ । यसरी ढुङ्गा, गिट्टी, वालुवाको ब्यबस्थापनको लागि विभिन्न समयमा विभिन्न नीति तथा कानुनहरु तर्जुमा भइ कार्यान्वयनमा आएका छन् ।
व्यवस्थापनका सवालहरु
ढुङ्गा, गिट्टी, बालुवाबाट आउने राजस्व स्थानीय निकायहरुको विकास निर्माणको एक प्रमुख श्रोत भएता पनि यसको हाल अभ्यासमा रहेको अवैज्ञानिक उत्खनन्, संकलन, प्रशोधन र ढुवानी गर्ने विधिले गर्दा धेरै अवाञ्छनीय वातावरणीय प्रभावहरु परेको पनि पाइन्छ एकातिर भने अर्को तर्फ स्थानीय सरकारको राजस्वमा भारि चुहावट हुने बिद्यमान अवस्था रहेको छ ।
आ.ब. २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम अनुसार शुक्लागण्डकी नगरपालिकाको बार्षिक अनुमानित कुल आन्तरिक आय रु. १८ करोड ८३ लाख ८५ हजार ८०६ रहेको छ । जस मध्य, ढुंगा गिट्टी वालुवा (श्रोत उपभोग कर)बाट अनुमानित आय रु. ४ करोड २० लाख आर्थात कुल अनुमानित रकमको करिब २२% ढुंगा गिट्टी वालुवाबाट मात्रै उठ्ने अपेक्षा गरिएको छ । आ.ब. २०७७/७८ का लागि सेती नदी, कुम्लेखोला, सुरौदी खोला, क्यङ्दी लगायत विभिन्न ७ वटा नदीबाट कुल १ लाख १७ हजार ५० घन मिटर अर्थात करिब ३९ हजार ट्रक ढुंगा वालुवा तथा गिट्टी बार्षिक उत्खनन गर्न सकिने गरी ठेक्काको बोलपत्र आहृवान भएको थियो ।
शुक्लागण्डकी नगरपालिकामा ढुंगा गिट्टीमा आधारित १२ वटा क्रसर उद्योगहरु सेती नदीको किनारमा संचालनमा रहेका छन् । प्रायः सबै क्रसर उद्योगहरुले उपलब्ध मापदण्डको पालना गरेका छैनन् । जसको कारण ति उद्योगहरुबाट निस्काशित दुषित पदार्थहरु सेती नदप्मा सिधै मिसिन गई नदीको धार्मिक महत्व दिन प्रतिदिन घट्ने क्रममा रहेको छ । नगरपालिका समक्ष्य स्थानीय पत्रपत्रिका एबं जनसमुदायहरुले विभिन्न समयमा अब्यबस्थित ढुंगा गिट्टी वालुवाको व्यवस्थापन तथा क्रसर उद्योगबाट वातावरण एबं स्वास्थ्यमा पर्न गएको नकारात्मक असर संबन्धि गुनासो राख्ने गरेता पनि नगरपालिकाले यथोचित सम्बोधन गरेको पाइदैन ।
ढुंगा गिट्टी वालुवा निकाल्दाका आयामहरू
सेती नदीबाट ढुंगा गिट्टी र वालुवा निकाल्ने सम्बन्धमा स्थानीयहरुको मुख्यत स्थान र प्रक्रियाको संबन्धमा दुइ फरक किसिमका बिचारहरु रहेका छन् । सेतिनदिको पुरानो पुलभन्दा माथिबाट ढुंगा गिट्टी वालुवा निकाल्न दिनु हुँदैन भन्ने मत एकथरिको पाइन्छ र यसका पछाडीको तर्क मनन योग्य छन् ।
यी मत राख्नेहरुका अनुसार पुरानो पुलभन्दा माथि सुरौदी र सेतीको दोभान नजिकैबाट ढुंगा गिट्टी वालुवा जथाभाबी रुपमा निकालेको खण्डमा पुलभन्दा तलको भाग थप गहिरिन गई तल्लो नदि तटीय क्षेत्र गुफामा परिणत हुन सक्दछ र अन्तत नदी किनारमा रहेका मानब बस्तीहरु बाढीको जोखिममा पर्नुका साथै तल रहेको पक्कि पुलमा समेत क्षति पुग्न सक्दछ । तर्सथ नदी किनारका बस्ति तथा झोलुंगे पुलभन्दा मुनिको नयाँ पक्कि पुलको सुदुर भविष्य शुनिस्चितता गर्नको लागि पनि ढुंगा गिट्टी बालुवा निकाल्न दिनु हुँदैन, भन्ने भनाई कतिपएको रहेको छ ।
यदी बिद्यमान अवस्थामा रहेको अवैज्ञानिक तवरबाट ढुंगा गिट्टी बालुवा संकलन तथा उत्खनन गर्ने परिपाटीलाई समयमै नियमन नगरे अंगारे चौतारा भन्दा उत्तर पूर्वमा अवस्थित सेती र सुरौदिनदीको बिचको भाग थप सांगुरिदै जाने र अन्तत सेतीनदी त्यहीबाट सुरौदिमा मिसिन सक्ने सम्भावना हुन्छ । यदी त्यस्तो भयो भने सुरौदी नदीले सम्पूर्ण तिबतियन सरणार्थी वस्तीलाई बगाउन सक्ने जोखिम रहेको छ ।
तसर्थ ढुङ्गा, गिट्टी, बालुवाबाट आउने राजस्व नगरपालिकाको प्रमुख आय स्रोत हुने भएता पनि यसको हाल प्रचलित उत्खनन्, संकलन, प्रशोधन र ढुवानी गर्ने विधिले गर्दा धेरै अवाञ्छित वातावरणीय प्रभावहरु पर्न सक्ने देखिन्छ । यसकारण पनि सेती नदीको ढुंगा गिट्टी बालुवा निकाल्न दिनु हुँदैन, भन्ने बिचार राख्ने समूह उल्लेखनीय संख्यामा रहेको छ।
ढुंगा, गिट्टी र वालुवा पूर्वाधार निर्माणको लागि अत्याबश्य छ, त्यस कारण यसको उत्खनन एबं संकलन गर्नुपर्दछ, भन्ने अर्को बिचार समूह रहेको छ जुन ब्यबहारिक र दिगो बिकासको पक्षमा छ । भू-क्षय कम हुने गरी वैज्ञानिक अध्ययनको आधारमा निश्चित ठाउँबाट व्यवस्थित तवरबाट ढुंगा गिट्टी वालुवा निकाल्दा यसबाट नदी तटीय क्षेत्रका खेतियोग्य जमिन बचाउन सकिन्छ एकातर्फ भने अर्कोतर्फ नदीको प्राकृतिक वहाव कायम हुन गइ जलचर एबं तिनीहरुको बासस्थान समेत सुरक्षित गर्न सकिन्छ ।
यी नदिजन्य बस्तुको उत्खनन तथा संकलन वातावरणीय अध्ययन प्रतिबेदनको आधारमा गर्ने हो भने यसबाट दीर्घकालिनरुपमा नगरपालिकाको राजश्व वृद्धिमा टेवा पुग्दछ । बगेर जाने गिट्टी बालुवालाई गह्रौं उपकरणको कम प्रयोग गरी कच्चा पदार्थ निकाल्दा धेरै स्थानीय युवाले रोजगार पाउने सम्भावना रहनुका साथै यसबाट वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई समेत न्यूनीकरण गर्न मद्दत पुग्दछ ।
वातावरण अध्ययनको स्थानीयकरण
वातावरण संरक्षण नियमावली, २०७७ ले दिएको गाउँपालिका तथा नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयसँग सम्बन्धित योजना, कार्यक्रम तथा आयोजना सम्बन्धी प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी अध्ययन, प्रतिवेदन तयारी, स्वीकृति, प्रस्ताव कार्यान्वयन तथा अनुगमन प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुर्याउने उद्देश्यले संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले मिति ०७७/०४/१९ को मन्त्री परिषद्को निर्णय अनुसार संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ (नमूना) स्वीकृत गरेको छ र सो कार्यविधिलाई स्थानीय तहहरुमा उपलब्ध समेत गराइएको छ ।
यस कार्यविधिको सफल कार्यान्वयन पश्चात स्थानीय सरकारहरुले कानुनमा उल्लेख भए बमोजिम बिकास योजनाको प्रकृति, नाप तथा स्थान बिशेषको आधारमा संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन बनाई कार्यान्वयन गर्नुपर्ने प्राबधान रहेको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नो स्थान बिशेषलाई ध्यानदिदै उपलब्ध नमुना कानुन, नियम तथा निर्देशिकालाई समयमै तयार गरी कार्यान्वयन गरेको भए जनगुनासो धेरै हदसम्म सम्बोधन हुने थियो एकातर्फ भने अर्कोतर्फ पारदर्शी तवरवाट राजस्वमा उलेख्य वृद्धि हुने अवसर बिध्यमान थियो । नगरपालिकाको नेतृत्वले न त जनगुनासोलाई यथोचित तवरबाट संबोधन गर्यो न त राजस्व वृद्धि हुनेतर्फप्रभावकारी रुपमा पहलकदमि नै लियो ।
उपसंहार
शुक्लागण्डकी नगरपालिकाले ढुंगा गिट्टी वालुवाको व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हालै जारि गरिएका नमुना कानुन तथा कार्यविधिको आधारमा तत्काल वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन तथा वातावरणीय अध्ययन कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्दछ । यी नदिजन्य बस्तुको उत्खनन तथा संकलन वातावरणीय अध्ययन प्रतिबेदनको आधारमा गर्ने हो भने यसबाट दीर्घकालिनरुपमा नगरपालिकाको राजश्व वृद्धिमा टेवा पुग्दछ यसबाट ढुंगा गिट्टी वालुवाको वैज्ञानिक ब्यबस्थापनमा सहयोग पुग्दछ र अन्तत दिगो विकास, वातावरण संरक्षण र नगरपालिकाको राजश्व वृद्धिमा सहयोग पुग्दछ ।
साथै क्रसर उद्योगको उचित व्यवस्थापनको सुनिस्चितताको लागी संघीय तथा प्रदेश सरकारबाट बिभिन्न मितिमा जारि गरिएका क्रषर ब्यबस्थापन सम्बन्धी निर्देशिकाको अधिनमा रही नगरपालिकाले छुट्टै निर्देशिका बनाउनु बान्छनीय हुन्छ । यी कानुनी प्राबधानको प्रभावकारी कार्यान्वयन सुनिश्चितताको लागि भने बिद्यमान मानब संसाधन अपुग हुन्छ जसको लागि नगरपालिकाले सम्बन्धित निकायसंग समन्वय र सहकार्यको लागि पहल गर्नु पर्ने हुन्छ । नगरपालिकाको लागि आगामी चुनाबमा उठ्ने उम्मेदवारहरुले ढुंगा गिट्टी वालुवाको दिगो व्यवस्थापनको खाका जनसमक्ष प्रस्तुत गर्नु पर्दछ र यो जनताले उम्मेदवारलाई यसलाई भोटहाल्ने एउटा आधार बनाउनु पर्दछ ।










