स्थानीय तहको निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तहको निर्वाचनका लागि तनहुँमा १३६ मतदानस्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका दश पालिकाको ८५ वटा वडामा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दशवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताएका छन् । ‘एक हजार मतदाता बराबर एक केन्द्र राख्ने योजना बनाएका छौं’, उनले भने, ‘फागुन १९ गतेदेखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइनेछ ।’
निर्वाचन कार्यालयले माघ २४ गतेसम्म १ लाख २८ हजार ५४२ महिला र १ लाख १९ हजार ९५१ पुरुष गरी कूल २ लाख ४८ हजार ४९३ को विवरण निर्वाचन आयोगमा पठाइएको बताइउको छ। फागुन २५ गतेसम्म परेका निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने योजनामा निर्वाचन कार्यालय रहेको छ ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदाता शिक्षा तथा परामर्शका कार्यक्रमलाई तीव्रता दिइएको छ। उनले भने, ‘मताधिकारबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर पारदर्शी किसिमले काम गरिएको छ ।’
यस्तै छैठौ निर्वाचन दिवस-२०७८ को अवसरमा जिल्ला निर्वाचन कार्यालय तनहुँले शुक्रबार ‘आवधिक निर्वाचन लोकतन्त्रको आधार, निर्वाचनमा : सबै, सधैं, संगैं’ भन्ने नाराका साथ निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।










