तनहुँ–१ का नेकपा उम्मेदवार विद्यानाथ ढकालद्वारा मतदाताप्रति धन्यवाद ज्ञापन

दमौली : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा तनहुँ क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्यानाथ ढकालले मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।

ढकालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अमूल्य मत दिने सम्पूर्ण मतदाता आमाबाबु, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका हुन्।

विज्ञप्तिमा उनले निर्वाचनको क्रममा दिलोज्यानले खटिएका पार्टीका नेता तथा कार्यकर्ताहरूप्रति सम्मान व्यक्त गर्दै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सूचना सम्प्रेषणमा सहयोग गर्ने पत्रकारहरूलाई पनि आभार प्रकट गरेका छन्। साथै आर्थिक तथा अन्य विभिन्न हिसाबले सहयोग गर्ने सबै सहयोगीप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

ढकालले विगत करिब पाँच दशकदेखि आफू राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै जनतासँग सुख–दुःखको साथीका रूपमा काम गर्दै आएको उल्लेख गरेका छन्। आगामी दिनमा पनि जनताकै साथमा रहेर जन्मभूमि र जनताको हितलाई सर्वोपरि राखी सुशासन, रोजगारी सिर्जना, सुसंस्कृत तथा सभ्य समाज निर्माण, स्थानीय विकास र समृद्धिका एजेन्डामा प्रतिबद्ध भएर लागिरहने उनले बताएका छन्।

मतगणना अन्तिम चरणतिर पुगेको उल्लेख गर्दै उनले प्राप्त हुने परिणामलाई जनताको अभिमतका रूपमा सहर्ष स्वीकार गर्ने बताएका छन्। साथै परिणामको कारणबारे सम्बन्धित पार्टी फोरममा गम्भीर समीक्षा गरिने पनि उनले जनाएका छन्।

विज्ञप्तिको अन्त्यमा ढकालले निर्वाचनका क्रममा सद्भाव, सहयोग र समर्थन गर्ने सम्पूर्ण सहयोगीप्रति भित्री मनदेखि पुनः कोटीकोटी नमन व्यक्त गरेका छन्।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker