आठौं छपेली कपको उपाधि शिद्ध गुफा र झापुटारले हातपारे
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-१, छापमा सञ्चालित आठौं छपेली कपको खुल्ला तर्फको उपाधि शिद्धगुफा युवा क्लबले र भेट्रान्स तर्फको उपाधि झापुटार युवा क्लबले विजयी भएका छन् । छपेली साँस्कृतिक युवा क्लबले स्व. सुक बहादुर कपालीको स्मृतिमा बन्दिपुर-१ छाप स्थित खेलमैदानमा आठौं छपेली कप खुल्ला सेभेन ए साइड नकआउट तथा भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
आइतबार भएको छपेली साँस्कृतिक युवा क्लब ‘सी’ र शिद्ध गुफा युवा क्लब बीच भएको खुल्ला तर्फको फाइनल खेलमा खेल अवधिभर १-१ गोल गरी बराबरी भएको थियो । ट्राइब्रेकरमा पुग्दा शिद्ध गुफा युवा क्लब विजयी बनेका हो भने छपेली साँस्कृतिक युवा क्लब सी उपविजेता बनेको छ ।

यस्तै, भेट्रान्स तर्फको फाइनल खेलमा झापुटार युवा क्लबले सामना युवा क्लबलाई ३-० को गोल अन्तरले हराउदै झापुटार युवा क्लब बिजेता र सामना युवा क्लब उपविजेता बनेको छ । प्रतियोगिताको खुल्ला तर्फको विजेता भएको शिद्ध गुफा युवा क्लबलाई पुरस्कार स्वरुप नगद १ लाख ११ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र र द्वितीय भएको छपेली साँस्कृतिक युवा क्लब सीलाई नगद ५५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष विजय रानाले बताए ।
यस्तै, भेट्रान्स तर्फ -३० वर्ष भन्दा माथि)को खेलमा विजेता भएको झापुटार युवा क्लबलाई पुरस्कार स्वरुप भेडा सहित मेडल र प्रमाणपत्र र उपविजेता भएको सामना युवा क्लबलाई पुरस्कार स्वरुप बोका सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवले जनाएको छ । दुबै खेल तर्फका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत क्लवले पुरस्कृत गरेको छ ।










