बाढीको पीडा : ज्यान जोखिममा पारेर पढ्न जान्छन् विद्यार्थी
सविन लामिछाने

एउटा हातमा जुत्ता बोकेर र अर्को हात आफनो बुबाको काँधमा समाएर व्यास-११ की रोजिना मगर खोला पार गर्न पर्ने बाध्यता छ। स्थानीय वसन्त आधारभूत विद्यालयको कक्षा ८ मा अध्यनरत रोजिना पानी परेका बेला अभिभावकको सहयोग बिना विद्यालय जानै सक्दिनन्। किनकी विद्यालय पुग्न बुल्दी खोला पार गर्नुपर्छ ।
अरु बेला सहजै पार गर्न सकिने बुल्दी खोला पानी पर्ने बित्तिकै उर्लिएर आउँछ। उर्लिएर आएको खोला ज्यानको बाजी लगाएर रोजिनाजस्ता विद्यार्थीहरु पढ्न जान्छन् ।
‘बर्खा लागेपछि सधैं बुबाले खोला तारिदिनुपर्छ, एक्लै त खोला तर्न नै सक्दिनँ,’ रोजिनाले भनिन्, ‘जुत्ता फुकालेर बुबाको सहायतामा खोला तर्नुपर्छ । खोला तार्ने कोही नभए विद्यालय जानै सकिँदैन ।’
रोजिना त जसोतसो अभिभावकको सहायताको खोला तर्ने गर्छिन् । तर स-साना विद्यार्थी खोला बढेपछि विद्यालय नै जाँदैनन् ।
‘छोराछोरीलाई विद्यालय पठाएर आमाबुबा मेलामा जानुहुन्छ। सधैंजसो हामीले नै तार्न आउनुपर्छ,’ विद्यालयकी शिक्षक शर्मिला ओझाले भनिन्, ‘ठूला कक्षाका विद्यार्थी त हाम्रो मद्दतमा जसोतसो तर्छन्, तल्लो कक्षाका विद्यार्थीहरु खोला तर्नुपर्छ भन्ने डरले विद्यालय नै आउँदैनन् ।’
वसन्त आधाभूत विद्यालयका आधा विद्यार्थीले यो खोला पार गर्नु पर्ने बाध्यता छ । पुल निर्माणका लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षा गर्दा पनि पुल निर्माण नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम मगरले बताए । उनले भने, ‘चुनाव जिताएर नेताहरुलाई फूलमाया लगाउँदै पठाउँदा अहिलेसम्म केही भएन,’ उनले भने, ‘यो समस्याको कुरा सुनाउँदा सुनाउँदा हिउँद लाग्छ, अनि समस्या हराउँछ । फेरि बर्खा लाग्छ अनि त्यही समस्या सुरु हुन्छ ।’
तातोपानी र सेरालाई जोड्न बीचमा कर्ल्भट हालिएको छ। बर्खायाममा खोला बढेपछि कर्ल्भट माथिबाट नै खोला बग्ने गर्दा समस्या आएको हो । समस्या समाधानमा चासो नदिएको भन्दै स्थानीयबासिन्दा राजनीतिक दलका नेताप्रति आक्रोशित छन् । सुशीला मगरले भनिन्, ‘ठूला ठूला गाडी चढेर हिंड्ने नेताहरुले हाम्रो समस्या कहिले देखेनन् । भोट माग्ने बेला मात्र अनुहार देखाउँछन्। त्यसपछि कता जान्छन् कता -‘
स्थानीय जनप्रतिनिधिले विद्यार्थीले ज्यानकै माया मारेर खोला तर्नु पर्ने ठाउँमा पक्की पुल बनाउन पहल भइरहेको बताएका छन् । प्रदेश सरकारको लागतमा पुल निर्माण गर्न लागिएको व्यास-११ का वडाअध्यक्ष दलबहादुर दुराले जानकारी दिए ।