तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् ।

दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उहाँका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ ।

त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार ८३८ र मासु चार हजार ७४३ मेट्रिक टन उत्पादन भएको छ । अण्डा दुइ करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार ७८२ र मासुको चार हजार ५८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।

दूध नौ हजार ५६ र मासु एक सय ६२ मेटि्रक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिक टन उत्पादन भएको थियो भने अण्डा दुइ करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लामा पशुपक्षीको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार गाईको संख्या ५२ हजार ८०३, भैँसीको संख्या ५७ हजार ५४४, भेडाको संख्या सात सय २६, बाख्राको संख्या ३९ हजार ४३४, कुखुराको संख्या एक लाख ९५, हाँसको संख्या १२ हजार ४९४, बङ्गुरको संख्या ४८ हजार ३११ थियो ।

केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुइ सय १९ गाई, ८६ भैँसी, ३४१ बाख्रा, ११३ बङ्गुर, २५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी संकलन केन्द्रसमेत खोलिएका छन् ।

सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।

“दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध संकलन गर्दै आएको छ । दूध संकलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भन्नुभयो, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुइ हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन ।

दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार ८८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख ८६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार ९५२ लिटर दुग्ध बिक्री गरेका छन् ।

पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकषिर्त भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल १५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फार्ममा ३० वटा गाई छन् ।

“फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भन्नुभयो, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker