आगामि आवमा व्यास नगरपालिकाको बजेटको आकार घट्ने
भञ्ज्याङ समाचारदाता/दमौली

मुलुकका स्थानीय सरकार यतिबेला आगामि आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीमा व्यस्थत छन् । तनहुँको पुरानो व्यास नगरपालिका पनि आगामि आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको तयारीमा जुटेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार असार १० गते भित्र गरिने नगरसभाको लागि नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी पेश गर्ने तयारी गरेको छ । यस पटक व्यासमा बजेटको आकार अंकगणितीय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।
संघीय एवं प्रदेश सरकारले दिदै आएको सशर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुँदा बजेट आकार समेत सानो हुने अवस्था रहेको नगरप्रमुख न्यौपानले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरी नगरसभामा पेश गर्ने तयारी गरेको छ । नगरप्रमुख न्यौपानले भने, ‘संघ र प्रदेश सरकारले दिदै आएको अनुदानमा धेरै कटौती भएको छ । त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ ।’
उनले भने, ‘तर यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालु खर्चमा कटौति गरी धेरै भन्दा धेरै बजेट पुँजीगत खर्चमा विनियोजन गर्ने निर्धारण गरेका छौ ।’ व्यासलाई संघ सरकारबाट १५ करोड अनुदान आउने संकेत देखाएपनि ६ करोड ४२ लाख मात्र विनियोजन गरेको नगर प्रमुख न्यौपानेले बताए ।
यस्तै, बजेट निर्माणका लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड तोकेर पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको, वडामा चालु खर्च करिब २०% र पुँजीगत खर्च ८०% हुने गरी बजेट बनाउने मापदण्ड बनाइएको नगरप्रमुख न्यौपानले बताए ।
‘यस मापदण्डले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्नेछन’, नगरप्रमुख न्यौपाने भने, ‘भू-गोल, जनंसख्यालाई आधार मानी सामाजिक आधारभुत आवश्यकता पुर्ति गर्ने गरी योजना छनौट गरिने छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा परेका छन् ।’
व्यास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा २२ करोड ६० लाख राजश्व संकलन गरेको थियो भने यस चालु वर्षमा करिब १७ करोड राजश्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको थियो । जसमा चालूतर्फ १ अर्ब २ करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ ७५ करोड २ लाख रुपैयाँ विनियोजन भएको थियो ।










