बन्दिपुरको नाहालामा भुत्याई बराहको मन्दिर निर्माण
भञ्ज्याङ न्यूज

बन्दीपुर गाउँपालिका- १ नाहाला (नयावस्ती) स्थित पर्यटकीय स्थल भूत्याई बराह क्षेत्रमा भुत्याई बराहको मन्दिर निर्माण गरी समितिलाई हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच उक्त मन्दिर हस्तान्तरण गरिएको हो । मन्त्री चुमानले प्राकृतिक रुपमा अत्यान्तै सुन्दर र मनमोहक रहेको यस क्षेत्रलाई पर्यटनमैत्री बनाउन सकिएमा धार्मिक पर्यटकीय स्थलको राम्रो सम्भावना रहेको र आफूले यसको निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीय समाजसेवी सचित कुमार थापा तथा उनका परिवारले उक्त मन्दिर आफ्नै करिब १२ लाख बराबरको लगानीमा निर्माण गरेको हो । थापाले आफ्नो स्वर्गीय धर्मपत्नी शारदा थापाको सम्झनामा मन्दिर निर्माण गरेका हुन् ।

यस अघि भूत्याई बराह भवानी स्थापना समितिका संस्थापक अध्यक्ष रेशमलाल श्रेष्ठको अगुवाइ तथा समितिका पदाधिकारी गाउँका स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा महाशिवरात्रिको अवसर पारेर आत्मेश्वर महादेवको शिला स्थापना गरिएको थियो । उक्त महादेवको मन्दिर समाजसेवी विवेक श्रेष्ठले निर्माण गरिदिएका छन् । यसै गरी समाजसेवी परशुराम अधिकारीले उक्त क्षेत्रमा सिडीबाटो र गेट सहित, गणेश, कुमार, शिव लगाएतको मूर्ति स्थापना गरेका छन् ।
प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा उक्त क्षेत्रमा ठुलो धार्मिक मेला तथा पूजाआजा हुने गरेको छ । पूजाको अवसरमा बोकाको बलि दिने,उखुको ढाक पड्काएर हर्ष उल्लासका साथ पूजा आजा गरी नाच गान र भजन कीर्तन गरीएको थियो । अब देखि नियमित रूपमा पुजाअर्चना हुने पुजारी केशर बहादुर कुबरले जानकारी दिए ।

पृथ्वी राजमार्गको नाहाला (नयाबस्ती) बाट उक्त स्थानमा ५ मिनेट मै पुग्न सकिने भएको हुँदा स्थानीय स्तरमा एउटा धार्मिक पर्यटनको राम्रो सम्भावना भएर पनि प्रचार प्रसार र बजेटको खाँचो रहेको हुँदा हाल सम्म पनि ओझेलमा परेको समितिका अध्यक्ष विष्ण बहादुर क्षेत्रीले बताए ।










