किन बढ्यो कोरोना संक्रमितको संख्या ?

भञ्ज्याङ समाचारदाता/काठमाडौं

बुधबार थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार ३३० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला महिनाहरुमा शून्यदेखि १० भन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो एक साता उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ९ चैतमा १७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः २, ३, १६, ६९, २४ र ३४ (बुधबार) जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अधिकांश संक्रमित भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेका वा उनीहरुको सम्पर्कमा रहेकाहरु छन् । भारतमा अहिले ओमिक्रोनको दुइ भेरिएन्ट मिलेर बनेको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ (XBB.1.16) का कारण संक्रमण बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का डा. अभियान गौतम भन्छन्, ‘भारतबाट आउने आगन्तुक, जो नेपालीहरु नै हुन् । लामो समय भारतमा बसेर घर फर्किने क्रममा स्थल नाकहरुमा परीक्षण गर्दा भेटिएका हुन् ।’ यद्यपि नेपालमा भेटिएको कोरोना भाइरस कुन भेरिएन्ट हो भन्ने यकिन भइसकेको छैन ।

एक्सबीबी.१ भेरियन्ट भने पहिल्यै भेटिएको थियो । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा भने बीए.५.२ भेरियन्ट भेटिएको थियो । सीमा नाकामा परीक्षण गर्दा संक्रमण भेटिएकाहरुको स्वाब जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ, केही दिनमा रिपोर्ट आउनेछ ।

डा. गौतमका अनुसार अहिले भारतमा फैलिएको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ संक्रामक बढी हो, तर भ्याक्सिन नलगाएका तथा रोग प्रतिरोधतात्मक क्षमता कम भएकाहरुका लागि यो भेरियन्ट घातक पनि हुनसक्छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्राकम रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो समय नेपालमा संक्रमण बढ्नुका तीन कारण हुन सक्ने बताउँछन् । पहिलो कारण छिमेकी मुलुक भारतमा भेटिएको नयाँ भेरिएन्ट एक्सबीबी.१.१६ हुनसक्छ । दोस्रो कारण नेपालमै घुमिरहेका भेरियन्टहरुबाट नयाँ भेरियन्ट विकसित भएका पनि हुन सक्छ भने तेस्रो कारण अन्य मुलुकबाट आउने मानिसहरुबाट पनि संक्रमण बढेको हुन सक्छ ।

परीक्षण गर्नुस्, बुस्टर लगाउनुस्

चिकित्सकहरुका अनुसार अहिले समुदायमा कोरोनासँगै इन्फ्लुइन्जा पनि सँगसँगै आएको छ । कतिपय चाहिँ मौसम परिर्वतनसँगै रुघाखोकी भनेर घरमै बस्ने गरेका छन् भने कतिपयले परीक्षण गर्ने गरेका छन् । ‘परीक्षण नगर्दा आफूलाई जोखिममा राख्ने मात्र होइन, अरुलाई पनि सार्ने सम्भावना हुन्छ’, डा. गौतम भन्छन्, ‘रुघाखोकी र ज्वरो पनि छ भने परीक्षण गर्नु उपयुक्त हुन्छ ।’

साथै खोप लगाउन समेत उनले आग्रह गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० देखि १५ प्रतिशत नागरिकले अझै एक डोज पनि खोप नलगाएको अनुमान छ । बुस्टर लगाउनु पर्नेको संख्या पनि उल्लेख्य छ । डा. गौतमका अनुसार प्राइमरी खोपको दोस्रो डोज लगाएको ३ महिनाभित्र पहिलो बुस्टर डोज लगाउनुपर्छ भने पहिलो बुस्टर डोज लगाएको ६ महिनापछि दोस्रो बुस्टर लगाउनु उपयुक्त हुन्छ ।

प्राइमरी खोपमा पहिलो र दोस्रो दुवै डोज एउटै भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ । नेपालमा अहिले पहिलो र दोस्रो डोजका रुपमा भेरोसेल भ्याक्सिन लगाउने गरिएको छ । बुस्टर डोजका लागि फाइजरको भ्याक्सिन छ । ‘पहिलो र दोस्रो डोजका रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका वा जुनसुकै भ्याक्सिन लगाएको भए पनि बुस्टरका रुपमा फाइजरको भ्याक्सिन लगाउन सकिन्छर्’र् इडीसीडीका डा. गौतम भन्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker