व्यासको नगर कार्यपालिका बैंठक : गरिब परिवार पहिचान कार्यक्रमको समीक्षा

दमौली : व्यास नगपालिकाले नगरपालिकामा सञ्चालन भइरहेको गरिब घरपरिवार पहिचान कार्यक्रमको प्रगतिबारे पनि समीक्षा गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत संकलित विवरणको विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
गरिब परिवारको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको विवरण संकलन कार्यलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको बताइएको छ । अध्ययनको निष्कर्षले नगरपालिकालाई सामाजिक सुरक्षा तथा विकास योजनाहरू लक्षित समूहसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
यस्तै, कार्यपालिकाको बैठकले सेवा प्रवाहको समीक्षा, बजेट कार्यान्वयनको अवस्था सार्वजनिक, नगर स्थापना दिवस मनाउने तयारीलगायत सात वटा महत्वपूर्ण निर्णय गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न नीतिगत निर्णयहरू गरेको छ ।
नगर प्रवक्ता सुरेश थापाका अनुसार माघ २७ गते नगर सभाकक्षमा सम्पन्न द्वितीय त्रैमासिक समीक्षा बैठकमा शाखा प्रमुख तथा वडा सचिवहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि पनि बैठकले विस्तृत छलफल गरेको छ । सेवा प्रवाहका क्रममा कर्मचारीहरूमा उत्तरदायित्व र जवाफदेहिता बढ्दै गएको भन्दै बैठकले धन्यवाद ज्ञापन गरेको छ। साथै देखिएका कमी–कमजोरीलाई आगामी दिनमा सुधार गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित शाखाहरूलाई निर्देशन दिने निर्णय गरिएको छ ।
यस्तै, बैठकले नगरपालिकाको ३४औं स्थापना दिवस आगामी चैत ३० गते विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । स्थापना दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न समिति गठन गरिएको छ ।
मूल समारोह समिति नगरप्रमुखको अध्यक्षतामा गठन गरिएको छ भने पुरस्कार तथा सम्मान सिफारिस समिति उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा गठन गरिएको छ । यसैगरी स्थापना दिवसको अवसरमा प्रकाशन गरिने “व्यासनगर दर्पण २०८२” पुस्तकका लागि नगर शिक्षा शाखा प्रमुखको संयोजकत्वमा प्रकाशन समिति गठन गरिएको छ ।
यस्तै, बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ को संशोधित आयव्यय बजेटको कार्यान्वयन अवस्थाबारे जानकारी प्रस्तुत गरिएको थियो। संशोधित बजेटअनुसार १ अर्ब ७२ करोड ५२ लाख ४ हजार ५०० रुपैयाँ बराबरको कार्यक्रम कार्यान्वयन भइरहेका छन् । हालसम्म कुल ४४.३६ प्रतिशत आय संकलन भएको तथा खर्चतर्फ चालु खर्च ४९.१९ प्रतिशत र पुँजीगत खर्च १८.३२ प्रतिशत गरी कुल ३५.३५ प्रतिशत खर्च भएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो। उक्त विवरण सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि २० करोड रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ७ करोड ७७ लाख ३८ हजार ३४३ रुपैयाँ ५७ पैसा राजस्व संकलन भएको जानकारी दिइएको छ ।
त्यसैगरी फोहोरमैला तथा सिसाजन्य वस्तुको बिक्रीबाट मात्रै १४ लाख ५० हजार ६११ रुपैयाँ राजस्व संकलन भएको विवरण पनि सार्वजनिक गरिएको छ ।
यस्तै, बैठकले उपप्रमुख इन्दिरा दरै र उनका छोरा हेमन्त दरै सडक दुर्घटनामा परी घाइते भई उपचाररत रहेको अवस्थामा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले नगरपालिकाको सेवा प्रवाहलाई नागरिकमुखी बनाउने, विकास कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तथा प्रशासनिक कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यपालिकाको बैठकबाट भएका निर्णयहरू कार्यान्वयनमा ल्याउँदै नगरपालिकाको समग्र सेवा प्रवाह सुधार गर्न पहल गरिने नगरपालिकाले जनाएको छ ।










