तनहुँ-१ उपचुनाव : रास्वपाको वृहत चुनावी सभा
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्य भएको बताएका छन् । तनहुँको दमौली आइतबार आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीको मुख्य प्राथमिकता सुशासन र समृद्धि रहेको बताए ।
‘देश बनाउने संकल्प बोकेर अगाडि बढेका छौं, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ’, उनले भने, ‘योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाउने हाम्रो लक्ष्य हो र सोही लक्ष्य पुरा गर्न तनहुँबाट हाम्रा उम्मेदवारलाई निर्वाचित गराउन आवश्यक छ ।’
‘देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको छ’, उनले भने, ‘मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छौं ।’
चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति आफ्नो कुनै निर्देशन नभएको बताए । उनले भने, ‘अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे ।
हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो । केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’
उनले रास्वपालाई माया गर्नेहरुलाई कसैलाई गालीगलोज नगर्ने आग्रह गरे । उनले भने, ‘कुनै पनि समर्थकले देश विदेशबाट गरिएको रहेछ भने त्यो हाम्रो निर्देशनले होइन । रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुहोला। त्यसको दोष हाम्रो टाउकोमा पर्न आउँछ । जसले गरेका छन् मैलले हात जोडेर माफी मागे । क्षमा गरिदिनुहोला । हाम्रो तर्फबाट भएको होइन ।’
चुनावी सभालाई सम्बोधन गर्दै तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँको विकास र देशको अर्थतन्त्र उकास्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए । उनले वैशाख १० को उपनिर्वाचन केवल एक थान सांसद निर्वाचित गरेर प्रतिनिधिसभा पठाउने कर्मकाण्डी संसदीय क्यालेण्डरमात्रै नभएको बताए ।
‘यो परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ पनि हो । यो रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामी परिवर्तनवादीहरुले जित्नुपर्छ’, उनले भने, ‘तनहुँको विकास गर्ने, राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मेरो प्रमुख कार्यसूची हो । यहाँ वर्षौदेखि एउटै समस्या समाधान हुन सकेको छैन ।’
यस्तै, उनले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुनसक्ने संका व्यक्त गरेका छन् । आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गर्दै उनले भने, ‘तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस् । तीनको हामीले संरक्षण गर्न सकौं । मतदान सकिएपछि मतदान गणनास्थलमा ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।’ कार्यक्रममा रास्वपाका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित पार्टीको उदय भएको बताए । काठमाडौं-८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए ।
काठमाडौं-६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताए । काठमाडौं-२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको चर्चा गरिन । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताउँदै भारिमतले विजयी गराउन आग्रह गरे ।