ऋषिङको प्राथमिकता : स्थानीयस्तरमै रोजगारी सृजना गर्न युवा लक्षित कार्यक्रम

गाउँपालिका अध्यक्ष : राजेन्द्र कृष्ण श्रेष्ठ

तनहुँको साविकका गा.वि.स.हरु काँहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलाई समायोजन गरी ऋषिङ गाउँपालिका कायम गरिएको छ । भिमाद बजार हुँदै र दमौलीदेखि काहुँशिवपुरबाट पनि ऋषिङ पुग्न सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेकाले यस क्षेत्र ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेको र सोही अनुसार गाउँपालिकाको नामाकरण गरिएको हो । नेवार र मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर र नेवार समुदायको संस्कृति देख्न पाइन्छ । यस्तै मगर समुदायको कौरा गीत यहीबाट उत्पति भएको बताइन्छ । गाउँपालिकामा अहिले आफ्ना नीति तथा कार्यक्रम सञ्चालनका लागि युवा जनशक्तिको अभाव मुख्य चुनौतीका रुपमा देखा परेको छ । रोजगारीको खोजी होस् वा अन्य सेवासुविधाको खोजीमा गाउँबाट बेसी/शहर हुँदै विदेशममा युवाहरु पुग्न थालेपछि गाउँबस्ति युवा बिहिन हुने र उर्वर भूमि बाँझिदै जाने जोखिम बढेको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ बताउँछन् ।

स्वस्फर्त रुपमा स्वरोजगारको व्यवस्थापन गर्न गाउँपालिकाले गाउँसभाबाटै आवश्यकता अनुसार बजेटको व्यवस्था गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए । गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम मार्फत विभिन्न सीप मुलक तथा आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ । कृषिसंगै ग्रामीण पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी आर्थिक उपार्जनको माध्यम बनाउने योजना बनाइएको उनले बताए । गाउँपालिका भित्रका कृषकहरुलाई व्यवसायिक रुपमा कुखुरापालन, बाख्रा पालन, बंगुर, सुगुर पालन, एक घर एक दुहुने भैसी पालन गरी आर्थिक उपार्जन गर्ने गरी उत्प्रेरित गर्न उत्पादनमा आधारित रहि अनुदानका कार्यक्रमले युवाहरु यस तर्फ आकर्षित बन्दै गएका छन् । पछिल्लो समय युवाहरु आफ्नै थातथलोमा व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्ने क्रम बढ्दै गएको अध्यक्ष श्रेष्ठले बताए ।

‘कतिपय वडामा युवा जनशक्तिको अभाव हुँदा गाउँपालिकाले विनियोजन गरेको बजेट तथा कार्यक्रम समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न समस्या आउने गरेको छ’, उनले भने, ‘युवाहरु गाउँबाट बजार जाने र बजारबाट विदेश जाने प्रचलन रोक्न नसक्दा गाउँपालिकाले ल्याएका कार्यक्रमहरु समेत कार्यन्वयनमा आउन सकेका छैनन् ।’ युवाहरुलाई गाउँमै रोक्नका लागि रोजगारी र आम्दानीसंग जोड्ने गरी विभिन्न कार्यक्रम अगाडि ल्याएको छ । बाँझिदै गएका खेतीबारीलाई उपयोग गर्ने, उत्पादानमा आधारित रहेर अनुदानको व्यवस्था, युवालक्षित स्वरोजगार मुलक कार्यक्रम, आधुनिक तथा प्रविधियुक्त कृषि पेशा तर्फ युवालाई आकर्षित गर्न अनुदानमा कृषि औजार, मल, विऊविजन उपलब्ध गराउने नीति गाउँपालिकाले बनाएको छ ।

‘एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरी अहिले धेरै जसो वडाहरुमा यो कार्यक्रममा जोडिदै गएका छन् । यस कार्यक्रम अन्तर्गत अहिले कृषकहरु व्यवसायिक रुपमा आलु खेती तर्फ आकर्षित छन्’, उनले भने, ‘तरकारी उत्पादन, फलफूल खेतीमा अनुदान, सुन्तलाको विरुवा रोपण गरी सुन्तला खेती प्रवर्द्धनका कार्यक्रम प्राथमिकतामा राखेका छौ ।’ गाउँपालिकाको मुख्य योजना भनेकै युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने, विदेशबाट फर्किर्एका युवाहरुको सीप, दक्षता, ज्ञानको यथोचित उपयोग गरी उजाडिदै गएका गाउँबस्तिलाई पुनः हरभर बनाउँदै समृद्धिको यात्रा तय गर्ने रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘एउटा घरको युवा विदेशमा छ भने अर्को घरको युवाले अब म यहाँ काम गरेर बस्नु हुँदैन र अब म पनि विदेश नै जाने हो भन्ने सोचलाई जबसम्म चिर्न सकिदैन तबसम्म युवालाई गाउँमा रोक्न सक्ने अवस्था छैन’, अध्यक्ष श्रेष्ठले भने, ‘विदेशबाट जति पनि पैसा कमाएर आएका हुन्छन्, हिजोका दिनमा पैसा पनि नभएका कारण गाउँमा बस्न सकेनन्, आज विदेशबाट पैसा कमाएर आएपछि उनिहरुले आर्जन गरेको सीप, दक्षताको उपयोग गर्ने योजनामा गाउँपालिका छ ।’

गाउँपालिकाले युवाहरुको लगानिलाई सुरक्षित गरी उद्योग, कलकारखाना सञ्चालनका प्रक्रिया अगाडि बढाउन सकेमा गाउँमै रोजगारीको वातावरण सृजना भई आर्थिक उपार्जन समेत हुने हुँदा यस तर्फ गाउँपालिका अगाडि बढेको छ । ‘अब गाउँमै केही गर्छु भन्ने युवाहरुको सोचमा विकास हुन आवश्यक छ’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिका तथा अन्य निकायले युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेपनि यस तर्फ युवाहरु जोड्न सकिएन भने त्यसको उपलब्धी हाँसिल गर्न सकिदैन । युवालाई व्यवसायीक र स्वरोजगार बनाउन उनिहरुको सीप, दक्षताको विकास गरी लगानिको वातावरण बनाउन खाँचो छ । उत्पादित वस्तु र उपजको बजारीकरणको ग्यारेन्टी गरी आफ्नै थातथलोमा रोजगारीको वातावरण सृजना गर्नुको विकल्प छैन । यस तर्फ स्थानीय सरकार मात्र लागेर सम्भव छैन संघ र प्रदेश सरकारले पनि यस तर्फ ध्यान दिनुपर्छ ।’

विद्यालयतहदेखिनै श्रम र उत्पादनको महत्व बुझाउने गरी गाउँपालिकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई पनि अगाडि बढाएको छ । गाउँपालिकाको शिव सरस्वती माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सुरु गरिएको छ । उक्त विद्यालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गरेको छ । ससर्त कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुले कुखुरा, पाडा, भैसी, बाख्रा पालन गरी आम्दानी समेत लिन थालेका छन् । विद्यालयतहमै सीपयुक्त जनशक्ति उत्पादन गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

यस्तै, युवा लक्षित स्वरोजगारका कार्यक्रम सञ्चालन गरिएको हुँदा यसमा जोडिन आग्रह अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् । ‘युवालाई कसरी गाउँमै, आफ्नै थातथलोमा रोक्न सकिन्छ – फर्किएका युवाहरुलाई माछापालन, बाख्रा पालन, कुखुरा पालन जस्ता व्यवसायमा जोड्दै रोजगारीको वातावरण सृजना गर्न पालिकाले कार्यक्रमहरु बनाएको छ’, उनले भने, ‘पालिकाको स्रोत र साधानले भ्याएसम्म युवालाई स्वरोजगार बनाउने गरी पिपलटारमा उद्योग ग्राम निर्माणको चरणमा छौ । यस्तै, साना तथा मझौला उद्योगहरु सञ्चालन गर्ने, गाउँमै उत्पादन हुने रैथाने बालिलाई कम लागतमा राम्रो प्रतिफल लिन व्यवसायिक रुपमा उत्पादन गराउन प्रेरित गरी उत्पादित उपज सहज रुपमा बजारीकरणको व्यवस्था मिलाउने जस्ता कार्यक्रम प्राथमिकतामा रहेका छन् ।’

उपाध्यक्ष : गिनुमाया थापा

ऋषिङ गाउँपालिका सम्भाव नै सम्भावनाले भरिएको छ । कृषि, पशुपालन, पर्यटन, संस्कार, संस्कृति, ऐतिहासिक स्थल, धार्मिक स्थलले भरिपूर्ण छ । सम्भावनालाई जुन हिसावले परिस्कृति गर्नुपर्थ्यो त्यो भने भइसकेको छैन । गाउँपालिका ग्रामीण पर्यटनका लागि पनि अकार्षक गन्तव्यका रुपमा विकास हुन सक्छ । यहाँको कला संस्कृति, उच्च पहाडी चुचुरा, धार्मिक स्थल तथा स्थानीय उत्पादित उपजले पर्यटकलाई लोभ्याउन सक्ने अवस्था छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरबास -होमस्टे) विकासका कार्यक्रमलाई पनि प्रथामिकतामा राखेको उपाध्यक्ष गिनुमाया थापा बताउँछिन् । ‘उत्पादनको आधारमा कोदो, मकै खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गर्ने नीति लिइएपनि खेती गर्ने प्रवृत्ति कम हुँदै गएको छ । खेतियोग्य जमिन बाँझिदै गएका छन् । हाम्रा रैथाने बालिको महत्व बुझाउन सकिएको छैन’, उनले भनिन्, ‘हाम्रा पाखा खेतबारीमा उब्जिएका मकै, कोदो, साग, पिडालु, भट्टमास, अदुवालाई कसरी व्यवसायिक रुपमा उत्पादन गर्न सकिन्छ भन्ने विषयमा हामी योजना बनाइरहेका छौं तर, कृषकनै यस तर्फ जागरुक नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।’

त्यस्तै लघु उद्यमबाट प्रत्येक वडामा सिलाइबुनाइ तालिम सञ्चालन गरिएको छ । होमस्टे प्रवर्द्धनका कार्यक्रम भएका छन् । महिला स्वास्थ्यसंग सम्बन्धित रहेर माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई महिनावारी हुँदा सेनेटरी प्याडको व्यवस्था, स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन, प्रत्येक विद्यालयहरुमा सरसफाइका सामाग्रिहरु वितरण गरिएको छ । महिला दिदीबहिनीलाई आर्थिक रुपमा सवल बनाउनका लागि विभिन्न सीपमुलक तालिम जस्तैः मुढा बनाउने, पोते बनाउने, चप्पल, व्याग बनाउने तालिमहरु सञ्चालन गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत : चिन बहादुर रानाभाट

युवाहरु अवसरको खोजीमा विदेश जाने एउटा प्रचलन जस्तै भएको प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट बताउँछन् । ‘यस्तो हुनु मुलत विश्वव्यापिकरणको प्रभाव पनि हो । श्रम स्वतन्त्रताको, श्रम उदारिकणको प्रभाव पनि हो । अहिले थुप्रै मुलुकमा नेपाली युवाहरुलाई श्रमका लागि राज्यले पनि खुल्ला गरेका कारण युवाहरु विदेश जाने क्रम बढ्दै गएको देखिन्छ’, उनले भने, ‘नेपालमा युवाले चाहेको जस्तो, खोजेको जस्तो रोजगारीको अवसर सृजना नभएको, प्राप्त गर्न नसकेका कारण पनि युवाहरु दिनप्रतिदिन विदेशिने क्रम बढेको छ । मुलुकको दीर्घकालिन अर्थतन्त्रको हिसावले यो राम्रो त होइन । युवाको बाध्यता र चाहाना पनि हो । देखासिकि पनि हो ।’

युवाहरुमा अहिले सबै विदेश जान्छन्, म पनि विदेशनै जान्छु भन्ने सोचले जरा गाडेको उनि बताउँछन् । रानाभाट भन्छन्, ‘अल्पकालिन हिसावले हेर्दा वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको छ । घर परिवारको आर्थिक अवस्था राम्रो पनि भएको छ । जीवनस्तर माथि उठेको पनि छ । तर, दीर्घकालिन रुपमा यसले राम्रो नतिजा दिंदैन भन्ने विज्ञहरुले बताउने गरेका छन् । आर्थिक रुपमा दिगो नहुँने खत्र बढि छ । पछि फर्किएर यहाँ के गर्ने कसो गर्ने भन्ने खालका समस्या देखिने पो हो कि भन्ने चुनौतिहरु पनि छन् । संक्रमणबाट गुज्रनुपर्ने हो कि भन्ने चिन्ता र चासो पनि बढ्दै गएको छ ।’ हाम्रो समाजले पनि विदेश जाने कामलाई राम्रै मानेको छ । अर्थोपार्जन तथा आम्दानीका लागि विदेश जानु राम्रै पनि हो । नेपालमा रोजगारीनै पाएपनि त्यो किसिमको वातावरण बनेको छैन ।

‘नेपालमा अवसर शून्यनै भएको भन्ने भाष्य सृजना हुँदै गएको छ त्यो पनि जबरजस्त योजना बनाइएको हो भन्ने लाग्छ’, उनले भने, ‘नेपालमै धेरै युवाहरुले अहिले उदहारणीय काम गर्दै यही स्वरोजगार बन्दै रोजगारीका वातावरण पनि सृजना गर्नुभएको छ । रोलमोडल युवाहरु पनि हुनुहुन्छ । ‘युवालाई सम्मान गर्न नसक्नु पनि एउटा समस्या छ ।’ यस्तै, युवाहरुमा नकरात्मक भाष्य स्थापित भएको पनि देखिन्छ । नयाँ कुरा सिक्नका लागि विदेश जानुपर्छ तर, नेपालमै रोजगारी नपाएकै कारण विदेश जानुपरेको हो भन्नु चै अहिलेको अवस्थामा राम्रो होइन । अवसरको खोजीमा, ज्ञान, सीप सिक्नका लागि जानु आफैमा राम्रो पनि हो तर, सिकेको ज्ञान सीपलाई आफ्नै थातथलोमा उपयोग गर्न युवाहरुमा पनि सकरात्मक जाग्ररण आउनुपर्ने उनि बताउँछन् ।

गाउँपालिकाले युवाहरुलाई गाउँमै रोक्नका लागि रोजगारी सृजना गर्ने क्षेत्रमा, गरिवी निवारणको क्षेत्रमा कदमहरु चालेको छ तर, प्रयाप्त नहोलान । गाउँपालिकाले आफ्नो तर्फबाट युवाहरुलाई सीपमुलक तालिम सञ्चालन गर्दै स्वरोजगारको वातावरण सृजना गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रानाभाट बताउँछन् । ‘युवाहरुकै मागमा आधारित रहेर ड्राइभिङ, इलेक्टि्रसियन, प्लम्बिङ जस्ता सीप मुलक तालिमहरु पनि सञ्चालन गर्दै आइको छ । नेतृत्व विकास, सीप विकास तालिम, कृषि, पशुपालनसंग सम्बन्धित रहेर पशुपालन सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइएको छ’, उनले भने, आधुनिक प्रविधिको प्रयोग गरी अब कृषि कार्य गर्न तर्फ गाउँपालिकाले कृषकलाई प्रेरित गर्दै आएको छ । अनुदानका कार्यक्रम, कृषि, पशुपालनमा अनुदान, बाँझो जमिन व्यवस्थापनका कार्यक्रम, युथ स्टार्टपका कार्यक्रम, युवा लक्षित रहेर फलफूल खेती, सम्भावनालाई हेरेर कुखुरा, माछा पालन, खोर, गोठ सुधारका कार्यक्रमहरुमा अनुदानको व्यवस्था गरी युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने हिसाबले गाउँपालिका अगाडि बढेको छ ।’

गाउँपालिकाले व्यवसायिक हिसावले अगाडि बढ्ने युवालाई अनुदान, उच्च शिक्षा अध्ययनका लागि छात्रवृद्धि तथा यमविवियस अध्ययन गर्ने विद्यार्थीहरुलाई आर्थिक सहयोगका कार्यक्रम पनि ल्याएको छ । ऋषिङ भित्रै अध्ययन गरेर हरेक विषय, हरेक विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान कार्यक्रम सञ्चालन गरिएको छ । कृषिक, पशुपालक, शिक्षक, खेलाडी, उद्यमशिलता गर्ने उद्यमीलाई सम्मान गरिएको छ । होमस्टे सञ्चालक, उत्कृष्ट करदातालाई पनि प्रोत्साहन स्वरुपमा विभिन्न अवसरमा सम्मान गर्दै आएको छ ।

ऋषिङबाट बाहिर गएका युवाहरुलाई पुनः ऋषिङ फर्काउने अभियान सञ्चालन गरिएको छ । ‘गाउँ फर्किएसंगै उहाँहरुलाई व्यवसाय सञ्चालनका लागि बजेटको समेत व्यवस्था गरिएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी आव्हानै गरेपनि युवाहरु जोडिन आइपुग्नु भएको छैन’, उनले भने, ‘युवाको मागका आधारमा कार्यक्रम अगाडि बढाउने भनि युवा नेतृत्व विकास, क्षमता विकास कार्यक्रमहरु आयोजना गरिएको छ । ठाउँठाउँमा सचेतना मुलक कार्यक्रम गरिएको छ । लक्षित वर्गहरुलाई परम्परागत पेशा संरक्षणका लागि आवश्यक तालिम तथा सहयोग गर्दै आइएको छ । नवप्रवर्तनमुखी व्यवसाय तथा पेशामा आवद्ध हुनका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षकहरु ल्याएर प्रशिक्षण दिंदै पनि आइएको छ ।’ गाउँपालिकाले सँस्कृतिसंग युवालाई जोड्ने र त्यसलाई रोजगारीमा परिवर्तन गर्ने योजना बनाएको छ । आम्दानीसंग जोड्ने, पेशा व्यवासयमा जोड्ने गरी युवाहरुलाई आव्हान गरिएको छ । माग के छ, कसरी अगाडि बढेमा युवालाई गाउँमै राक्ने सकिन्छ – शिक्षामा लगानि गर्ने कि, स्वास्थ्यमा लगानि गर्ने कि, के गर्दा युवालाई गाउँमै रोक्न सकिन्छ भन्ने खालका कार्यक्रमहरु गाउँपालिकाको प्रथमिकतामा राखेको रानाभाटले बताए ।

यस्तै, शैक्षिमा सुधारका कार्यक्रम, कक्षा कोठा सुधार, गुणस्तरीय शिक्षा प्रदानका कार्यक्रम, खेलकुदसंग जोडेर युवा प्रतिभा उत्पादनका कार्यक्रम सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय अल्ट्रा हाफ म्यारथनका साथै अन्य लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले आगामि दिनमा युवा तथा विज्ञहरुको तर्फबाट प्राप्त पृष्ठपोषणका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

‘सरकारले ल्याएका युवा लक्षित नीतिहरु राम्रा छन् । त्यसको पूर्ण रुपमा कार्यान्वयन नभएको अवस्थाका कारणले पनि युवाहरु अहिले विदेशिने एउटा काराण बनेको छ । सरकारका नीतिहरुमा केही सुधार गर्नुपर्ने अवस्था पनि छन् । युवाकै परिभाषालाई पनि विचार गर्नुपर्ने देखिन्छ । पुरानो सोचाईले युवालाई सोच्ने गर्छौ, हाम्रो नीति निर्माण गर्ने तहमा रहने नेतृत्वहरु पुरानो सोचाईबाट चल्नुहुन्छ । त्यही बेलाको कन्स्यप्टले आजाको युवालाई व्याखा गर्न खोज्दा समस्या सृजना हुन्छ’, रानाभाटले भने, ‘अहिले एक्दम संक्रमणकालको अवस्थामा युवाहरु रहेका छन् । प्रविधिको प्रयोग बढ्दो छ । युवाहरु प्रविधियुक्त भइसकेका छन् । अहिलेको युवालाई सामयिक रुपमा बुझेर नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ । विश्वलाई नियालिरहेका युवालाई लक्षित गरी शिक्षा, स्वास्थ्य क्षेत्रमा, स्थानीय थातथलोलाई माया गर्ने गरी युवाहरुका क्षेत्रमा कार्यक्रम ल्याउन आवश्यक छ । विकसित राष्ट्रको विकास हेरेर नेपालको अवस्थालाई गालि गर्ने प्रवृत्तीको अत्य गरी अब कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा जागरण आउन आवश्यक छ ।’

‘सम्भावना भएसम्मको विकास कसरी गर्न सक्छौ भनि सकरात्मक सोच र चिन्तनको खाँचो छ । हामीमा तुरुन्ताको तुरुन्त विकास हुनुपर्छ यो आजै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ यसलाई चिर्नुपर्छ । म पहिला नागरिक हुँ, म जिम्मेवार नागरिक हुँ, मेरो अधिकार र कर्तव्य के हो बुझ्न आवश्यक छ’, उनले भने, ‘विस्तारै सबै प्रक्रिया पुरा गरी भएको परिवर्तन राम्रो हो, एक्कासी गर्न खोजिएको र गरिएको परिवर्तनले दीर्घकालिन रुपमा लाभ दिंदैन । विगत, वर्तमानलाई मिलाएर अगाडि बढ्नुपर्छ । सीप नै महत्वपूर्ण विषय हो । डिजिटल सीपको विकासले युवाहरुलाई प्रगति गर्न सहज भएकाले प्रविधियुक्त सीपको विकास गर्नु अहिलेको खाँचो र आवश्यकता हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker