भानुको सत्रबिसे फाँटकुलोमा साना सिंचाइ योजना, करिब १२५ रोपनी क्षेत्रफलमा सिंचाई सुविधा

भानु : तनहुँको भानु नगरपालिका–८ स्थित बेलटारको सत्रबिसे फाँटकुलो निर्माण कार्य सम्पन्न गरिएको छ ।
यस कुलोका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाइ बरादीबाट साना सिँचाइ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ का लागि उपभोक्ताको ३० हजार रुपैयाँ लागत सहभागिता सहित विनियोजित रु १ लाख ९५ हजार ६० बजेटबाट सत्रबिसे फाँटकुलो जल उपभोक्ता समिति, भानु नगरपालिका–८ मा कुलो निर्माण कार्य सम्पन्न गरिएको समितिका अध्यक्ष विनोद खतिवडाले जानकारी गराए ।
अध्यक्ष खतिवडाका अनुसार प्राप्त बजेटबाट कुलो मर्मत तथा स्तरोन्नति गरिएको हो । उक्त योजनाबाट स्थानीय कृषकहरूलाई सिँचाइ सुविधा सहज भई कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
समितिले विगत केही वर्षदेखि विभिन्न निकायबाट चरणबद्ध रूपमा बजेट प्राप्त गर्दै सिँचाइ पूर्वाधार सुधार कार्य गर्दै आएको जनाएको छ । विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्रबाट रु ५ लाख ११ हजार ४६३, २०७८/०७९ मा बरादी कार्यान्वयन इकाइबाट रु २ लाख १९ हजार ४४७, २०७९/०८० मा कृषि ज्ञान केन्द्रबाट रु २ लाख २० हजार ८७३, २०८१/०८२ मा बरादीबाट रु २ लाख ३४ हजार ५४३ तथा चालु आव २०८२/०८३ मा रु १ लाख ९५ हजार ६० बजेट प्राप्त भएको अध्यक्ष खतिवडाले जानकारी गराए ।
प्राप्त बजेटमा लागत सहभागितासमेत समावेश रहेको समितिले जनाएको छ। निरन्तर सहयोग र प्रभावकारी कार्यसम्पादनका कारण योजना सफलतापूर्वक कार्यान्वयन गर्न सम्भव भएको समितिले जनाएको छ ।
बजेट उपलब्ध गराउने सम्बन्धित निकाय, कर्मचारी, जल उपभोक्ता समितिका अध्यक्ष तथा उपभोक्ताहरूलाई धन्यवाद व्यक्त गरेको छ । साथै संस्था दर्तादेखि प्रारम्भिक प्रक्रिया पूरा गर्न सहयोग गरी योजना माग गर्ने अवस्थासम्म पु¥याउन भूमिका निर्वाह गर्ने सीताराम बजगाईंप्रति पनि आभार प्रकट गरिएको छ ।
स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा साना सिँचाइ पूर्वाधार विकास हुँदा कृषकलाई प्रत्यक्ष लाभ पुग्ने समितिका अध्यक्ष खतिवडाले विश्वास व्यक्त गरेका छन् । उनका अनुसार करिब १२५ रोपनी क्षेत्रफल खेतको सिंचाईका लागि करिब तीन सय मिटर लम्बाइको कुलो निर्माण सम्पन्न गरिएको छ ।










