व्यक्तिको जग्गा भाडामा लिएर दमौली बजारको फोहोर व्यवस्थापन गर्दै व्यास नगरपालिका
व्यास नगरपालिका-१ का रामदेव पन्त र सन्तबहादुर दरैले साढे पाँच रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि सोही स्थानमा फोहोर व्यवस्थापन गर्ने तयारी भएको नगरपालिकाका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले बताए ।
तनहुँको व्यास नगरपालिकाले दमौली बजारको फोहोरमैला व्यक्ति जग्गा भाडामा लिएर व्यवस्थापन गर्ने भएको छ । भतेरी स्थित मादी नदी किनारमा फोहोर विर्सजन गर्दै आएकामा बाढीले उक्त क्षेत्र कटान गरिदिदा करिब एक हप्तादेखि दमौली बजारको फोहोर उठ्न सकेको छैन ।

व्यास नगरपालिका-१ का रामदेव पन्त र सन्तबहादुर दरैले साढे पाँच रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि सोही स्थानमा फोहोर व्यवस्थापन गर्ने तयारी भएको नगरपालिकाका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुंगानाले बताए ।
व्यास नगरपालिका र जग्गाधनी बीच मंगलबार पाँच वर्षा लागि फोहोरमैला व्यवस्थापन गर्ने गरी जग्गा सम्झौता भएपछि फोहोर व्यवस्थापनमा सहज हुने ढुंगानाले विश्वास व्यक्त गरे । उनले भने, ‘फोहोर व्यवस्थापन गरिने क्षेत्रमा विकास निर्माणका योजनालाई प्राथामिकता दिने सहमतिसमेत नगरपालिकाले गरेको र अहिले स्थानीय रतौली, कुन्छाली, खकौली, मोहोरियाटार टोल विकास संस्थाका अध्यक्षहरुसंग व्यवस्थित रुपमा फोहोरमैला व्यवस्थापन गर्ने विषयमा समेत सहमति भइसकेको छ ।’
नगरपालिकाले मादी नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको दुइ स्थानमा नदीमा आएको बाढीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा कठिनाइ भएको थियो । नगरपालिकाले वडा नं. १, २, ३, ४ र ५ का केही क्षेत्रको फोहोर संकलन गरी दैनिक एघार टन फोहोर व्यवस्थापन गर्दै आएको ढुंगानाले जानकारी गराए ।
‘नगरपालिकाको बजार क्षेत्रबाट दैनिक नकुहिने आठ र कुहिने तीन टन गरी ११ टन फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको छ’, सरसफाई उपशाखाका प्रमुख ढुंगानाले भने, ‘फोहोर विर्सजन स्थल नहुँदा अहिले बजार क्षेत्रका फोहोर उठाइएको छैन । मंगलबार मात्रै सम्झौता भएको क्षेत्रमा केही दिन डोजर लगाएर काम गर्नुपर्ने अवस्था देखिएकाले कम्तीमा तीन दिन भित्र फोहोर संकलन गरी व्यवस्थापन गर्ने तयारीमा छौं ।’
यस्तै, व्यास नगरपालिका-१० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर विसर्जनस्थल निर्माण कार्य अघि बढाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको रिर्पोट आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिए पनि नदी कटानले समस्या भएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं व्यास-४ का वडाध्यक्ष विश्व न्यौपानेले बताए । उक्त क्षेत्रमा करिब ७ रोपनी जग्गा पर्याप्त मात्रामा रहेकाले फोहोर विर्सजनको सम्भावना बढीरहेकाले प्रक्रिया अघि बढीरहेको संयोजक न्यौपानेले बताए ।
यस्तै, तत्कालको समस्यालाई मध्यनजर गर्दै पाँच वर्षा लागि व्यक्तिको जग्गा सम्झौता गरी फोहोर व्यवस्थापन गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । उनले भने, ‘नगरपालिकाले अघि बढाएको दीर्घकालीन फोहोर व्यवस्थापन कार्य पनि यो अबधिमा सम्पन्न गरी सक्ने योजना नगरपालिकाको रहेको छ ।’










