कर सप्ताह सुरु : उत्कृष्ट करदाता सम्मानित

भञ्ज्याङ समाचारदाता/दमौली

दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय दमौलीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा डुम्रेस्थित सबैको लघुवित्त संस्थालाई सम्मान गरिएको हो । गत आर्थिक वर्षमा ३९ करोड नौ लाख रुपैयाँ कारोबार गरेको वित्तीय संस्थाको करयोग्य आयकर तीन करोड ९१ लाख रुपैयाँ रहेको थियो । उक्त संस्थाले त्यसअवधिमा एक करोड १७ लाख रुपैयाँ आयकर तिरेको थियो । विभिन्न मापदण्डका आधारमा उक्त संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको प्रमुख कर अधिकृत डा नारायण ढकालले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत ढकालले उक्त संस्थाका प्रतिनिधि केशव पौडेललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए । सोही अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नासु विनिता रानाभाटलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले करको दर भन्दा करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिए । तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायी र कर प्रशासनबीच नङ र मासुको सम्बन्ध रहेकाले व्यवसायीलाई निर्भिक रूपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व रहेको बताए । चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर सप्ताहको अवसरमा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना बनाइएको बताउँदै प्रमुख कर अधिकृत ढकालले करको परिपालना गर्नेको करको लागत घटाउने नीति लिइएको जानकारी दिए । आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्षमा आठ अर्ब ५० करोड २६ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले उक्त आर्थिक वर्षमा आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुइ जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker