प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट तनहुँका राससकर्मी न्यौपाने पुरस्कृत

प्रेस चौतारी नेपाल तनहुँ शाखाका उपाध्यक्ष समेत रहेका राससकर्मी कृष्ण न्यौपानेलाई प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।
नेकपा -एमाले) तनहुँको शुक्रबार दमौलीमा आयोजित दशौं जिल्ला अधिवेशनका अवसरमा प्रेस चौतारी नेपाल तनहुँले न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
पार्टीका महासचिव शङ्कर पोख्रेलले न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ नगद रहेको छ । न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक पनि हुन् ।
कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल लगायतको सहभागिता रहेको थियो ।
चौतारी तनहुँ शाखाले गत माघ २३ गते उक्त पुरस्कार न्यौपानेलाई अर्पण गर्ने निर्णय गरेको थियो । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ ।
उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराइ, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।










