तनहुँमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो, ९६ जना निको भए, २३ जनाको मृत्यु
भञ्ज्याङ न्यूज

नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना भाइरसबाट तनहुँमा संक्रमित हुनेको संख्या ८ सय नाघेको छ । जिल्लामा बुधबारमात्र ५६ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना भाइरस संक्रमितको संख्या ८५१ पुगेको छ । मंगलबार आएको रिपोर्टमा जिल्लाका ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो जिल्लामा एकैदिन संक्रमित हुनेको ठूलो संख्या हो ।
कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका तथा कन्ट्याक ट्रेसिङ्गमा परेका व्यक्तिहरुको स्वाब नमुना संकलन पश्चात गरिएको पीसीआर परीक्षणमा अधिकांशको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
‘बैशाख यता भएका विवाह, व्रतबन्ध, पुजाआजा तथा भोजभतेर एंव भिडभाडजन्य गतिविधिका कारण जिल्लामा संक्रमण फैलिएको देखिएको छ’, उनले भने, ‘यसरी विवाह भोजभतेरमा सहभागी नागरिकले आफ्नो गाउँठाउँमा संक्रमण फैलाएको हाम्रो प्रारम्भिक अनुमान छ। जिल्लाका शहरबजारदेखि ग्रामीण बस्तिका समुदायमा समेत संक्रमण देखिन थालेको छ ।’
बैशाखयता जिल्लाका ९७३ जनाको नमुना संकलन गरी पिसिआर तथा एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा ८५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमितमध्ये ९६ जना निको भएका छन् । संक्रमणकै कारण २३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितमध्ये २३ जना दमौली अस्पतालस्थित कोभिड उपचार केन्द्रमा, ८ जना जिपी कोइराला राष्ट्रिय उपचार केन्द्र दुलेगौडाको कोभिड अस्पतालमा र एक जना बन्दिपुर अस्तालको कोभिड अस्पतालमा उपचारत रहेको स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तत्थांकमा उल्लेख गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर ७०१ जना होम आइसोलेशनमा रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।
यस्तै, लक्ष्यण देखिएका पनि परीक्षणको दायरामा नआउँदा समस्य भएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘लक्ष्यण देखिएकामा कोरोना पुष्टि भए समाजले थाहा पाउँछ भन्ने सोच हाँवी भएका कारण परीक्षण गर्नै मान्दैनन्’, उनले भने, ‘यसरी लुकेर घरमा बस्दा अन्य स्वस्थ व्यक्तिमा पनि कोरोना संक्रमण सहजै हुने खतरा बढेकोले यदि स्वास्थ्यमा केही समस्य देखिए तत्काल परीक्षणको दायरामा आउन आग्रह गरिएको छ । परीक्षणका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्दै आएको छ ।’
जिल्लामा कोरोना नियन्त्रण तथा संक्रमितको उपचार्रार्थ धेरै प्रयासहरु भैरहेका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा समुदायमा कोरोना संक्रमण फैलिन रोक्नका लागि जेठ १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यस्तै, जिल्लामा १८७ वेड क्षमताको १२ वटा कोभिड अस्पताल, ३ जटा आईसीयु कक्ष, ४ वटा भेन्टिलेटर, २४३ वटा अक्सिजन सिलिन्डर र २९ वटा एम्बुलेन्सको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, संक्रमितहरुको मृत्यु भएमा शव व्यवस्थापनका लागि सूर्य नेपाल कम्पनीले दमौली अस्पताल अन्तर्गत रहने गरी जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र दुलेगौडालाई शव वाहन हस्तान्तरण गरेको छ ।










