बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सरकारी स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको विस्तारित निःशुल्क ओपीडी सेवा प्रभावकारी बनेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि वर्षको ३६५ दिन बिहान ७ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएकोमा एक आर्थिक वर्ष पूरा हुँदा अतिरिक्त समयमा सेवा लिने सेवाग्राहीको संख्या झण्डै आधा पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनिल गिरीले बताए ।
उनका अनुसार विस्तारित सेवा अवधिमा बिहान, बेलुकी तथा सार्वजनिक बिदाका दिन सेवा लिने सेवाग्राहीको संख्या ११ हजार ८०९ अर्थात ४९.२५ प्रतिशत पुगेको छ । यो संख्या कुल ओपीडी सेवाग्राहीको करिब आधा रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
यस्तै, नियमित समयमा सेवा लिनेको संख्या १२ हजार १७१ अर्थात ५०.७५ प्रतिशत रहेको छ । यस्तै, अस्पतालको विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार यस अवधिमा २४ हजार ५२६ जनाले सेवा लिएको देखाइएको छ । यसले कार्यालय समयका कारण सरकारी अस्पताल पुग्न कठिनाइ हुने नागरिकका लागि विस्तारित सेवा अत्यन्त उपयोगी बनेको पुष्टि गरेको अस्पतालको निष्कर्ष छ ।
सरकारी अस्पतालमा परम्परागत रूपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मात्रै सेवा उपलब्ध हुने व्यवस्थाका कारण विद्यार्थी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, दैनिक ज्यालादारी मजदुर, व्यापार–व्यवसायमा संलग्न व्यक्ति, सुत्केरी महिला तथा गृहिणीहरूलाई उपचारका लागि समय मिलाउन कठिन हुने गरेको थियो । यही समस्यालाई मध्यनजर गर्दै बन्दीपुर अस्पतालले नियमित समयभन्दा बाहिर पनि निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अस्पतालले सुरु गरेको यो सेवाबाट बिरामीले आफ्नो अनुकूल समयमा उपचार पाउने अवसर प्राप्त गरेका छन् । विशेषगरी बिहान कार्यालय वा विद्यालय जानुअघि तथा साँझ काम सकिएपछि अस्पताल पुग्न सक्ने सुविधा उपलब्ध भएकाले सेवाप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गिरीका अनुसार विस्तारित सेवाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुका साथै सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वाससमेत सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको छ ।
डा. गिरीले एक वर्षसम्म सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुर्याउने अस्पताल परिवार, बन्दीपुर गाउँपालिका, सम्बन्धित सरकारी निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिप्रति आभार व्यक्त गरेका छन् । उनले नागरिकको सुविधालाई केन्द्रमा राखेर सरकारी सेवालाई अझ सेवाग्राहीमुखी, सहज र गुणस्तरीय बनाउने प्रयास आगामी दिनमा पनि निरन्तर रहने बताए ।
उनका अनुसार स्वास्थ्य सेवा विस्तारको उद्देश्य केवल सेवा समय बढाउनु मात्र नभई उपचारमा पहुँच नपुगेका समुदायलाई समेत सरकारी स्वास्थ्य सेवाको दायरामा ल्याउनु हो । विस्तारित ओपीडी सेवाले यस अभियानलाई सफल बनाउन उल्लेखनीय भूमिका खेलेको उनले बताए ।
अस्पतालले सेवा अझ प्रभावकारी बनाउन स्थानीय नागरिक, सरोकारवाला निकाय तथा सेवाग्राहीबाट रचनात्मक सुझावसमेत अपेक्षा गरेको छ । प्राप्त सुझावका आधारमा सेवा व्यवस्थापन, गुणस्तर सुधार तथा थप सेवाग्राहीमैत्री कार्यक्रम सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा नागरिकको आवश्यकता र जीवनशैलीअनुसार सेवा विस्तारको अभ्यास बढिरहेका बेला बन्दीपुर अस्पतालको यो पहल अन्य सरकारी अस्पतालका लागि पनि उदाहरणीय बन्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ । कार्यालय समयभन्दा बाहिर पनि सहज रूपमा उपचार सेवा उपलब्ध गराउने व्यवस्थाले सरकारी स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने विश्वास गरिएको छ ।










