राप्रपा तनहुँले दमौलीस्थित प्रशासनचोकको पार्कलाई व्यवस्थित गर्ने

दमौली : तनहुँको दमौलीस्थित प्रशासनचोकमा अवस्थित महेन्द्रको शालिक भएको पार्कलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले व्यवस्थित गर्ने भएको छ । पार्क व्यवस्थापनका लागि राप्रपाले सोमबार व्यास नगरपालिकासँग अनुमति मागेको छ ।
यसअघि उक्त पार्कमा नर्सरी रहेको थियो । सो नर्सरीलाई हटाएर नजिकै अर्को ठाउँमा सारिएको छ । सो पार्कलाई आगामी दिनमा व्यवस्थित तरिकाले संचालन गर्ने जिम्मा दिन माग गर्दै राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई प्रस्ताव सहितको ज्ञापनपत्र बुझाएका छन् ।
राप्रपाको प्रस्ताव अनुसार सो पार्कको नाम स्व. राजा महेन्द्र स्मृति उद्यान राख्ने तयारी गरिएको छ । यस उद्यानको संरक्षक व्यास नगरपालिका प्रस्ताव गरिएको छ। उद्यानलाई कलात्मक डिजाइनमा पुनर्निर्माण गरी अन्य प्राविधिक तथा नागरिक सुझवलाई पनि ध्यान दिइने घर्तीले जानकारी दिए ।
उनका अनुसार पुराना विरुवालाई छाँटकाँट गरी नयाँ विरुवाहरु थप गर्ने र टुटफुट भएका संरचनालाई मर्मत संभार गर्ने प्रस्ताव गरिएको छ ।
उद्यान व्यवस्थापनका लागि आवश्यक पर्ने आर्थिक श्रोत विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगबाट जुटाइने बताइएको छ । यस्तै अन्य आर्थिक प्राविधिक भौतिक सहयोग व्यास नगरपालिकाबाट पनि प्राप्त हुने अपेक्षा गरिएको छ ।










