आश्रममा रहेका बाबुका गुनासो !

सनद अधिकारी/नारायणगढ

भरतपुर महानगरपालिका-१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उहाँ निकै निराश हुनुभएको थियो । बाटो हेर्दै गर्नुभएका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै।

उहाँले भन्नुभयो, “छोराछोरीको कमाइको के आश गर्नु ।” तीन भाई छोरा र दुइ छोरी काभ्रेमा रहे पनि उहाँ श्रीमतीको निधन पछि आश्रममा बस्न थाल्नुभएको थियो । कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो । देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आउनुभएका उहाँलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश हुनुभयो । श्रेष्ठले भन्नुभयो, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ ।

देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आउनुभएका काठमाडौँका शंकरबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताउनुभयो । पहिलापहिला कुशेऔँसीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधन पछि उहाँ पनि एक्लो हुनुभयो । माया गर्ने माइली छोरीको समेत निधन भएपछि शंकरबहादुर काठमाडौंको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आउनुभएको हो । त्रीहत्तर वर्षीय उहाँका एउटा छोरा र चार छोरी छन् । छोरासँग सम्पर्क नभएको छ वर्ष भएको गुनासो गर्दै शंकर बहादुरले भन्नुभयो, “बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ ।” “छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागेपनि कसैले नसम्झँदा निरास बनायो”, उहाँले थप्नुभयो, “छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्भिmएको। कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैपर्‍यो ।”

आश्रममै रहनुभएका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ । आश्रममा आएको दुइ वर्ष भयो । जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिनुभएका उहाँले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गर्नुभयो । “छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो । सबै आ-आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ ।” अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ”, बिजयबहादुरले भन्नुभयो, “चाडपर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन् ‘बा’ भन्छन् “सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु ।”

लामो समय आश्रममा बिताउनुभएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुइ छोरीका बाबु हुनुहुन्छ । उहालाई जीवन भनेको नै संघर्ष हो भन्ने लाग्छ । छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताउनुभएका ९२ वर्षीय बविलालले भन्नुभयो, “सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ । अहिले आनन्द छ ।”

औंसीमध्ये कुशेऔँसी एक विशेष र महत्वपूर्ण तिथि हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । कुशेऔँसी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ । यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन् । बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरी यथासक्य सिदालगायत अन्य दान गर्छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker