इच्छाकामना, पर्यटन र चेपाङबस्ती
के.बि. मसाल

आजभोली तीर्थाटन एवं घुमफिरको लागि धेरै पर्यटकहरु गोरखाको मनकामना पुग्ने गर्दछन । मनकामना पुगेपछि केबुल स्टेशनको पार्कबाट दक्षिण र पश्चिम तिरका अग्ला महाभारत पर्वत सबै पर्यटकहरुले देखेका हुन्छन । कतिपयले आफ्नो क्यामेरामा ती पहाडको दृष्य समेत कैद गरेका हुन्छ । तर धेरै पर्यटकलाई ती पहाडको महत्व थाहा नहुन सक्छ । मनकामना माईको सात दिदी बहिनी थिए । जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिम पट्टी देखिने छिम्केश्वरी महाभारत पर्वत तनहुँ जिल्लामा पर्दछ । साहिली बहिनी गोरखाकालिका माई हुन भने काहिली बहिनी मनकामना माई हुन । केबुल स्टेशनको पार्कबाट दक्षिण पट्टी चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी अर्थात इच्छाकामना माईको मन्दिर पर्दछ । त्यपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माईलाई भन्ने गरिन्छ ।
भुरे टाकुरे राजाहरुको पालामा गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला पर्दथियो । इच्छाकामनाको स्थापना पनि मकवानपुरका सेन राजाले उत्तरी किल्लाका रुपमा पहाडको टुप्पामा गराएका थिए । पछि इच्छाकामना बि.स. १९६५ साल अर्थात आजभन्दा ११५ बर्ष अगाडी स्थानीय मनिराज दर्लामी गोठाला जाँदा माईको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरुले दुर्गाको मन्दिर निर्माण गरी पुजा-आजाको सुरुवात गरेका हुन । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ती पनि स्थापना भएको छ । मोटरबाटो खुलेपछि आजभोली मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने गर्दछन । इच्छाकामना गाउँपालिका-५ चितवन जिल्लाको महाभारत पर्वत श्रृंखलामा पर्दछ । इच्छाकामना माईको मन्दिर पृथ्वी राजमार्गको फिस्लिङ बजार भन्दा दक्षिण महाभारत पर्वतमा पर्दछ । इच्छाकामना र मनकामना मन्दिर दुइ विपरित अर्थात आमुन्ने सामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पुरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।
इच्छाकामना जादा पर्यटकहरुसंग प्याकेजको कार्यक्रम भयो भने घुमफिरको सार्थकता हुन्छ । इच्छाकामना माईको मन्दिरको मात्र तीर्थाटन गर्ने की ? ऐतिहासीक कोट र चेपाङ जातीको बस्ती र संस्कृतिको बारेमा अध्यन अवलोकन गर्ने ? अर्थात पहाडी भूगोलमा हाइकिङ गर्दै रमाउने ? यी सबै कुराको निक्यौल गरी यात्राको तय भयो भने घुमफिर उपलब्धी मुलक हुनेछ । इच्छाकामना जादा समूहमा जादा राम्रो हुन्छ । फिस्लिङबाट १७ किलो मिटरको सडकमा मोटरको यात्रा अथवा मुग्लिनबाट ७ कि.मी. कच्ची मोटर मार्गको यात्रामा तामीङ गाउँसम्म पुगेर पैदल यात्रामा पनि इच्छाकामना पुग्न सकिन्छ । चितवनको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दिखोला हुँदै पनि इच्छाकामना मन्दिर सवारी साधन मार्फत पुग्न सकिन्छ ।
इच्छाकामना सामुन्द्रिक सतहदेखि १८ सय मिटरको उचाइमा रहेको छ । कतिपय शहरी क्षेत्रबाट इच्छाकामना पुग्ने पर्यटकहरु हाइकिङ गर्न पनि रुचाउछन । पैदल यात्रालाई आजभोली शहर बजारमा बस्ने युवा पुस्ताहरुले हाइकिङ पनि भन्ने गर्दछन । शहर बजारमा बस्ने युवापुस्ताहरुले आजभोली बोलिचालीमा एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । हाईकिङ शब्द पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ ।
इच्छाकामनाको मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशी पछि पञ्चमी तिथिमा ठूलो मेला लाग्ने गर्दछ । पर्यटकहरु यो समयमा इच्छाकामनामा पुग्ने हो भने त्यस क्षेत्रको साँस्कृतिक प्रचलन समेत अध्यन गर्न सक्दछन । इच्छाकामना मन्दिरको चारैतिर रहेका डाँडामा गुरुङ, घर्ती र चेपाङ समुदायको बाक्लो गाउँ पर्दछ । मन्दिर नजिकको बँदेलटारमा गुरुङ समुदायको बाहुल्यता रहेको छ । इच्छाकामना पुग्ने पर्यटकहरुलाई वरिपरिको प्राकृतिक वातावरणले आकर्षण गर्दछ । इच्छाकामनाको वरपर जंगलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्दछ । वनपाखा लालीगुराँस फूलले ढकमक्क हुन्छन् । त्यो बेला पर्यटकहरुको सख्या बढछ । चण्डीभञ्ज्याङको असीमुरे, पामडाडाँ, चिसापानी, सिस्नेरी र चौतारा गाउँहरुको गुरुङ समुदायको बस्तीहरुले पर्यटकलाई ग्रामीण जनजीवनको बारेमा थप अध्यनको विषय बन्दछ । इच्छाकामनाबाट सफा मौसमा सम्भवत सबैभन्दा लामो हिमाली श्रृंखला गणेश हिमालदेखि माछापुच्छे सम्मको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, हेटौडा र टाँडीसम्मको स्थान पनि अबलोकन गर्न सकिन्छ ।
मन्दिरको परिसरबाट उत्तर तिर रहेको गोरखा जिल्लाको धैवुङ, नाम्जुङको डाडा, मकैसिंङ, भुम्लीचोक, बाग्लिङ गाउँ, ताङलीचोक, तिनमाने भज्याङ र मनकामना मन्दिर नजिकै देख्न सकिन्छ । तर यो सबै हेर्नका लागि मौसम भने सफा रहनु पर्दछ । इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोडने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन भएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्ग को चुमखोला र गोरखाको बुट्टार जोडने त्रिशूली नदीमाथि जीपलाइनमा पर्यटकहरु रमाउन सक्दछन । जीपलाइन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
पृर्थ्र्वी राजमार्गमा पर्ने फिस्लिङबाट इच्छाकामनासम्म अहिले साना सवारी साधन जिप, मोटरसाइकल चल्ने गरेका छन । पर्यटकले यात्रामा इन्टरनेट सुविधा उपभोग गर्न पनि सक्दछन । पर्यटकहरुको लागि खान बस्न होटल खुल्ने क्रम पनि बढदै गएको छ । इच्छाकामनामा गुरुङ र चेपाङ समुदायको बसोवास भएका बसतीहरमा तरकारी उत्पादनको पकेट क्षेत्र पर्दछ । इच्छाकामनामा पुग्ने पर्यटकहरुले ग्रामीण क्षेत्रका ब्यावसायिक तरकारी खेती समेत अवलोकन गर्न पाउछन । इच्छाकामनामा पुग्ने पर्यटकहरुको अर्को आकर्षण भनेको सुन्तला खेती पनि हो । इच्छाकामना गाउँका बासिन्दाको नगदे खेती पनि सुन्तला हो । कार्तिक, मङसिर महिनामा पुग्ने पर्यटकहरुले गाउँ भरीनै सुन्तालाले पहेँलपुर भएको देख्न पाउछन । हाँगामा लटरम्म फलेका सुन्तलाको दृश्य साँच्चिकै हेरिरहूँझैं लाग्छ । सुन्तलाको बोटमा बसेर फोटो खिच्ने पर्यटकहरुको सख्या पनि कमि हुदैन । बगैचामा बसेर सुन्तलाको स्वाद लिन पाउँदा पर्यटकहरु आनन्द मान्दछन । सुन्तला इच्छाकामनाको प्राय सबै गाउँमा पाइन्छ । सुन्तलाको स्वाद र धेरै उत्पादन हुने स्थान मनकामनाको नाम आउने गरे पनि इच्छाकामना सुन्तलाको लागी पकेट एरिया पर्दछ ।
इच्छाकामना-३ तोकडाङ गाउँमा पर्यटकहरुलाई सुविधा दिन होमस्टे पनि सञ्चालन भएको छ । तोकडाङ गाउँमा ३५ घर गुरुङ समुदायका छन । गाउँमा पुग्ने पाहुनाहरुलाई खानपिन, सेबा सत्कार र आवासको कुनै असुबिधा हुँदैन । तोकडाङ गाउँमा स्थानीय उत्पादनबाट बनेका परिकार, गुरुङ समुदायको संस्कृतिको अनुभव पर्यटकले पाउँछन । पर्यटक पाहुनालाई लोकल खाना इच्छा अनुसार ढिँडो, साग, कुखुरा, लोकल रक्सी समेतको स्वाद लिन पाउँछन । समूहमा जाने पर्यटकहरुलाई प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, एक रात बास ब्रेकफास्ट र लन्चको सुविधा पनि पाइन्छ । साँझ गुरुङ समुदायको सांस्कृतिक कार्यक्रम देखाइन्छ । इच्छाकामना पुगेपछि धेरै तीर्थाटनका पर्यटकहरु गाउँघरको अध्ययन अवलोकन गर्न रुचाउछन । यसको लागि इच्छाकामना गाउँपालिकाको भूगोल महत्वपुर्ण स्थल मानिन्छ । इच्छाकामना गाउँपालिका २, ३, ५ र ६ वाडमा छरियर रहेका चेपाङबस्ती पनि पर्यटकहरुको लागि अध्ययनको विषय बन्दछ । इच्छाकामनाको धुस्रा, ओरेक, नेतेडाँडा, सातमारा र बोर्लेङ गाउँहरुमा चेपाङ जातीको बस्ती रहेको छ । बस्तीमा चेपाङहरुले परम्परागत आफैले तयार गरी प्रयोगमा ल्याएका सामग्री समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन । चेपाङहरुले प्रयोग गर्ने सामाग्रीहरुमा चमेरो मार्न प्रयोग गर्ने जाल, ठेकी, माछा मार्ने ढडिया, माछा राख्ने गिठा, भ्याकुर, च्युरी, डोका, डालो, नाम्लो, मुखौरो लगायतका सामाग्री चेपाङ जातीको झुपडी घरमा झुण्डाएर राखेको देख्न सकिन्छ ।
चितवनको इच्छाकामना, धादिङ, मकवानपुर र गोरखा जिल्लाका विकट महाभारत पर्वतका गाउँहरुमा चेपाङ जातीको बसोबास छ । चेपाङ जातीको करिब ३० हजार जनसंख्या रहेको छ । चेपाङलाई प्रजा जाति पनि भनिन्छ । चेपाङ अर्थात प्रजा जाती आर्थिक, सामाजिक, शैक्षिक हरेक क्षेत्रमा पछाडि परेका छन । जगंलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु चेपाङहरुको दिनचर्या हो । खोरिया फाडेर गरेको खेतीले वर्षको तीन महिना पनि खान पुग्दैन । अर्को तर्फ चेपाङ जातीहरुमा सानै उमेरमा बिहे गर्ने, धेरै सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर भएको पाइन्छ । चेपाङ जातीमा गरीबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत हुँदैन । चेपाङ जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति हुँदैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरै आम्दानीले चेपाङ जातीको गुजारा चलेको छ । जग्गा नापी हुँदा सरकारी तीरो लाग्ने डरले धेरै चेपाङहरुले जग्गा दर्ता समेत नगरेको भेटिन्छ । जुन कारण अहिले पनि धेरै चेपाङ जातीसँग जग्गाधनी प्रमाणपूर्जा छैन ।
चेपाङहरु तुलनात्मक रुपमा सोझा, सरल र इमानदार हुन्छन् । मगोलियन मुखाकृतिका यिनीहरु गहुँगोरो, थेप्चेनाक, ठुलो अनुहार, मझौला कद र फुर्तिलो शारीरीक बनावटका हुन्छन् । चेपाङहरु मुख्य गरी दुइथरी कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरु आफुलाई सुन प्रजा भन्न मन पराउँछन । चेपाङ नाम कै विषयमा चर्चा गर्दा ‘च’ को अर्थ कुकुर र ‘पाङ’को अर्थ धनुकाँड हुने र चेपाङहरुले घरघरमा कुकुर पाल्ने र धनुकाँडको सहायताले सिकार खेल्ने हुनाले चेपाङ हुन गयो भनिन्छ । यिनीहरु मृग, बँदेल, घोरलको शिकार गर्दछन् । प्रजा जाति भनेर चिनिने चेपाङ जातिले बोल्ने भाषा खाम्ची भनिन्छ । चेपाङहरुमा मामाचेली फुपुचेलाका बीचमा विवाह गर्ने चलन छ । यिनीहरुमा मागी विवाहलाई मान्यता दिने गर्दछन । चेपाङ जातीको बिवाहमा दुलाहा र दुलहीले ३ पटक टाउको ठोक्यायर बिबाह गर्ने र चिउरीको बोट दाईजो दिने चलन रहेको छ । चेपाङहरु प्रकृति पुजक हुन्छन् । यिनीहरु मध्ये कतिपयले हिन्दुहरुले जस्तै चाडपर्व मनाउने गर्दछन । चेपाङहरु झाँक्रीलाई पाँडे भन्दछन् । यिनीहरु आफनो समुदायमा कोही बिरामी परेमा उपचारका लागि झाँक्री बोलाउँछन् र रातभरी ढयाङग्रो ठोकेर देवीदेउताको नाम उच्चारण गर्दछ र उप|mन्छन् । बोक्सी, पिचास वा देवी देवता रिसाएमा मात्र बिरामी परिन्छ भन्ने विश्वास गर्दछन् । यिनीहरु देवीदेवतालाई बाख्रा, सुगुर र कुखुराको बलि दिन्छन् ।
प्रकृतिका काखमा खेल्न रमाउने चेपाङ जातिको उदगम एवं बसोबास क्षेत्र चितवन जिल्लाको उत्तरी जंगलदेखि महाभारत श्रृंखलाका काखमा अवस्थित भू-भागहरु खास गरी धादिङ जिल्लाको दक्षिणी क्षेत्र र मकवानपुरको पश्चिमी भाग नै हो । चेपाङहरु आफ्नो राज्य रहेको, जहाँ चारजना चेपाङ राजाहरुले राज्य गरेका र पछि पाटनका मल्ल राजाले आक्रमण गरी चेपाङ राज्य समाप्त गरेका कुरामा विश्वास गर्दछन् । चेपाङ जातिमा आफ्नो उत्पत्तिका बारेमा पनि निकै रोचक र अनुसन्धान गर्न लायक किम्वदन्ती पाइन्छ । चेपाङ जाति आफूहरुलाई सीताका सन्तान मान्दछन् । चेपाङ जातीले भदौरे पुर्णिमाका दिन मनाउने चोनाम अर्थात न्वाँगी पर्व मुख्य पर्व मान्दछन । यो समयमा पुग्ने पर्यटकहरुले चोनाम पर्व, चेपाङ जातीको जीवन शैली र संस्कृतिसँग जोडिएका धेरै कुरा पनि अध्यन गर्न सक्दछन । सोनाम पर्वमा झाँक्री अर्थात पाडेलाई घरमा बोलाएर ढ्याङग्रो ठोकेर पर्व मनाउने गर्दछन् । पर्यटकहरुका लागि यो दृष्य नौलो हुन्छ । चेपाङहरु एक आपसमा आफनै चेपाङ भाषा बोल्दछन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् ।
पर्यटनको लागि इच्छाकामना प्राकृतिक सुन्दर्ताले श्रृंगार दिएको गाउँपालिका हो । लामो झरना जलविरे, सिराइचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी समेतमा पुग्न सके राम्रो हुन्छ । ऐतिहासिक उपरदाङगढी आजभन्दा २५५ बर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहले निर्माण गरेका हुन । उपरदाङ्गढी चितवन जिल्लाको पुरानो सदरमुकाम पनि हो । यो गढीमा पुग्न इच्छाकामनाबाट भन्दा दासढुङा नजिक पर्ने कपिलास-भोर्ले सडक अथवा चितवनको शक्तिखोरबाट जाँदा सजिलो हुन्छ । शक्तिखोरमा चेपाङ संग्राहालय पनि छ । पर्यटकहरुले संग्रहालयमा चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्ने सामग्रीहरु अवलोकन गर्न सक्दछन । संग्राहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, भाँडा वर्तन, सिकार खेल्दा प्रयोग गर्ने हतियार, उपचारमा प्रयोग गर्ने सामान, कन्दमुल, गिठ्ठा भ्याकुर लगायतका सामग्रीहरु संग्रहित गरिएको छ ।










