व्यासको सार्वजनिक सुनुवाई : नगरबासीको गुनासैगुनासाका चाङ्ग

तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार कार्यालय प्राङ्गणमा गरेको छ। नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा गरिएको सार्वजनिक सुनुवाइमा नगरबासीहरुले नेतृत्वप्रति गुनासैगुनासा पोखेको छन् । सहभागि ४३ जनाले प्रत्यक्ष गुनासो तथा प्रश्न राख्नुका साथै ५० भन्दा बढीले लिखित रुपमा नगरपालिकालाई गुनासो र प्रश्न गरेका थिए । अधिकांश सहभागिहरुले नगरपालिकाले फोहर मैला व्यवस्थापन र निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनका विषयमा प्रश्न र गुनासा पोखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रे तनहुँका उपसभापति देवकुमार श्रेष्ठले नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम राखेर नागरिकका मनभित्र गुम्सिएका गुनासा र प्रश्नका जिज्ञासा मेटाउने कार्य गरेको बताए । नेकपा एमाले नेता तुलसीराम पाण्डेले व्यास नगरपालिकाकै अधिकाँश सटरहरु बन्द रहेको अवस्थामा बहुउद्देश्यीय भवन निर्माण गर्न नहुनेमा जोड दिए ।

यस्तै, पृथ्वीराजमार्ग सडक विस्तार कार्य दमौली बजार क्षेत्रमा २३ मिटरमा भइरहेको हुँदा यो कार्य सडकको सीमा २५ मिटरनै कायम गर्न नगरपालिकाले पहल गर्नुपर्नेमा पनि सहभागिहरुले जोड दिएका थिए । नगरपालिकाले योजना तर्जुमा गर्दा तल्लो तहलाई लक्षित गरी बनाउनुपर्ने बताउँदै सहभागिहरुले स्वास्थ्य, शिक्षा र खेलकूद क्षेत्रमा नगरपालिकाले ध्यान पुर्याउन नसकेको आरोप लगाइएको थियो ।
नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाले राजनीतिक दलले नगर विकास कोषमा तत्काल निर्माण कार्य अघि नबढाउन आग्रह गरे अनुरुप व्यासमा बन्न लागेको बहुउद्देश्यीय भवनको निर्माण कार्य प्रभावित भएको बताए । उनले कृषकहरुलाई लक्षित गरी कृषि एम्बुलेन्सको व्यवस्थाका लागि नगरपालिकाले चासो नदिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर अध्यक्ष चूडामणि दाहालले पृथ्वीराजमार्ग सडक बिस्तारका लागि सडक सीमामा एकरुपता कायम गर्न नगरपालिकाले पहल गर्नुपर्ने सुझाएका थिए । उनले नगर विकास कोषबाट धेरै शीर्षकमा ऋण लिएर काम गरिरहेको अवस्थामा पुनः अर्को भवन निर्माण गरेर ऋणभारमा थप्न नहुने र बहुउद्देश्यीय भवन निर्माण कार्यको कुनै औचित्य नरहेको बताए ।
तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले आर्थिक मन्दीका कारण बजार खाली हुँदै गएको अवस्थामा बहुउद्देश्यीय भवन निर्माण कार्य नबढादिन आग्रह गरेका थिए ।
व्यवसायी जुननाराण श्रेष्ठले व्यास नगरपालिकाले दुइ महिना बढी समयदेखि सफा सडकका व्यापारिक सटर बन्द गरेर राख्नाले सामान मुसाले सखाप बनाएको हुँदा यसको जिम्मा कसले लिने हो भनि प्रश्न गरे । व्यास नगरपालिकाले नगरबासीलाई सुशासन र सुविधा दिने होकि दुःख दिने हो – यसको तुरुन्त निकास हुनुपर्नेमा जोड दिए ।
व्यास-२ की हरिमाया बिकले सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने तर्फ नगरपालिकाले प्राथामिकता दिनुपर्ने, व्यास-१ का श्रीकृष्ण पन्थले वडा नं. १ ठुलो र बढी राजश्व संकलन गर्ने वडा भएकाले बजेट विनियोजनमा सबै वडालाई एरुपता गर्न नहुने बताए ।
नगरबासीको प्रश्न र गुनासोलाई नगरप्रमुख व्यासका बैकुण्ठ न्यौपानेले समयमा फोहरमैला व्यवस्थापनको सवाल, भुक्तानी, भवन निर्माण ऋण नबोकाइदिन, नाला, पानी सडक, विद्युत लगायतका विषय सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका विषयमा जानकारी गराएका थिए ।










