गुमेको लमजुङको विरासत जोगाउन लडिएको असफल “मकैडाँडा युद्ध”
देव बस्न्यात

१) विषय प्रवेश
सिञ्जाअधिराज्य गठन हुनुपूर्व नेपालमा लिच्छिवीहरुको शासन र सम्प्रुभता कायम रहेको थियो । लिच्छिवी शासनकालमा नेपाललाई तेह्रवटा प्रशासनिक इकाइहरुमा विभाजन गरिएको थियो । तेह्रवटा प्रशासनिक इकाई (विषय अर्थात जिल्ला) मध्ये लमजुङ एउटा विषय (हालको लमजुङ, मनाङ र गोरखा जिल्लाको क्षेत्र) समेटिएका थिए भने मुख्तियार भीमसेन थापाको समयमा ३३ र श्री ३ वीरशमशेर ज.व.रा.को समयमा ३५ जिल्ला कायम हुन आएको पाउँदछौं । राजा महेन्द्रले वि.सं २०१९ सालमा नेपाललाई ७५ जिल्ला कायम गर्दा लमजुङ एक जिल्लाको रुपमा चिनिन पुगेको पाउँछौं ।
वि.सं. १५५० असार महिनाको १५ गतेका दिन राजा यशोब्रहृमा शाहले लमजुङ राज्यको जग बसालेका हुन् । त्यहाँका घिमिरे एवं दुराहरुले यशोब्रहृमशाहलाई राजा स्थापना गर्दा सिन्दुर जात्रा गरेका थिए । सिन्दुर जात्रा गरिएको सिन्दुरे ढुङ्गा अद्यापि लमजुङको तुर्लुङकोटमा रहेको छ । यसै समयदेखि लमजुङमा रहेका भुरेटाकुरे राज्य व्यवस्थाको अन्त्य हुन पुगेको थियो । उनकै कान्छा छोरा द्रव्यशाहले वि.सं. १६१६ मा गोरखा राज्यको स्थापना गरेका हुन् । दाजु नरहरि शाह र भाइ द्रव्य शाह बीच गोरखा र लमजुङको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । एक आपसमा एकले अर्काको अस्तित्व नामेट गर्नमा नै व्यस्त रहे । छिमेकी राज्यका शासक भएर पनि दाजु भाई बीचकोे वैमन्स्यता पुस्ता पुस्तासम्म जीवन्त रही रहृयो ।
वि.सं. १८१२ मा पर्वतका राजा शाहबम मल्ल र लमजुङका राजा रिपुमर्दन शाहले गोरखाको स्रि्रानचोकमा आक्रमण गरे । वि.सं. १८२२ मा पर्वत र लमजुङ राज्यका संयुक्त सेनाले गोरखाको लकाङमा र वि.सं १८३६ मा तेश्रोपटक आक्रमण गरेका थिए । हरेक आक्रमणमा लमजुङ राज्य सफल हुन सकेन । विसं. १८३९ मा गोरखा विरुद्ध लमजुङलाई सैनिक सहयोग गर्दागर्दै पनि पर्वतले आफ्नो सच्चा तथा शक्तिशाली मित्र लमजुङलाई गुमाउनु परेको थियो । यस युद्धले चौविसी राज्यहरुमा गहिरो चोट पुगेको थियो । अन्ततः वि. सं. १८३९ कार्तिक १८ गतेका दिन तार्कुघाटमा गोरखासंग भएको युद्धमा पराजित भएपछि लमजुङका राज वीरमर्दन शाह मनाङको थोरङ पास गरी मुक्तिनाथ हुँदै पर्वतको बेनी पुगेर शरणार्थी बनेर बसेका थिए । (श्रोतः पर्वत राज्यको ऐतिहासिक रुपरेखा-टेकबहादुर श्रेष्ठ)
२) राजा वीरमर्दन शाह र पर्वतको सम्वन्ध
यस भन्दा पहिलादेखि नै पर्वत र लमजुङ राज्य बीच सुमधुर सम्बध रहेको थियो । त्यही सम्बन्धका कारण राजा वीरमर्दन शाहले पर्वतमा शरण पाएका थिए । आफ्ना अनन्य मित्रराज्य लमजुङमा आइपरेको विपत्ती पर्वतका राजा कीर्तिबम मल्लले आफ्नै दुःख सम्झिए । बाइसी राज्यहरुबाट सहयोग नमिल्ने भएकाले पर्वत र पाल्पा राज्यको संयुक्त प्रयासमा कम्पनी सरकारसंग सहयोग माग्न आ-आफ्ना वकिलहरुलाई कलकत्ता पठाएका थिए तर उनीहरुको प्रयास सफल हुन सकेन । गोरखादेखि चौविसी राज्यहरु अझ ससङ्कित बन्दै गए । वीरमर्दन शाहको गुमेको राज्य फिर्ता गराउन कास्कीका राजा सद्धिनारायण शाहसंग सम्बन्ध बढाए । कास्कीलाई आफ्नो बनाउनमा पर्वत र गोरखा दुबै तल्लिन देखिए । अन्तत गोरखाले वि.सं. १८४० मा कास्कीसंग सम्झौता गरी छोड्यो । कास्कीले पर्वतसंग मिलि स्याङजाका सतहुँ गरहुँ, भीरकोट र नुवाकोट एवं लमजुङ राज्यको पुनः स्वतन्त्रताको लागि सहयोग नगर्ने बाक्याँशहरु परेका थिए। यसरी गोरखाको अनन्य मित्र कास्की राज्यलाई आफ्नो बनाउन पर्वतलाई कष्ट भइरहेको थियो । अन्ततः कास्कीलाई आफ्नो नबनाई गोरखासंगको लडाइ सार्थक नहुने महसुस गरेका राजा क्रितीबम मल्लले अन्ततः कास्कीलाई आफ्नो बनाइछाडे । (श्रोतः पर्वत राज्यको ऐतिहासिक रुपरेखा- टेकबहादुर श्रेष्ठ)
३) काजी अभिमानसिंह बस्न्यात र मकैडाँडा युद्ध
काजी अभिमानसिंह बस्न्यात बडावीर शिवराम सिंह बस्न्यात र शुरप्रभा बस्न्यातका साहिला छोरा हुन । उनी वि.सं. १७४४ मा गोरखाको बस्न्यात थोकमा जन्मेका थिए । उनी नाहरसिंह बस्न्यात र बख्सी केहरसिंह बस्न्यातका भाई थिए भने धोकलसिंह बस्न्यातका दाजु थिए । तत्कालीन समयमा नयाँ राज्यहरुलाई एकीकरण गर्ने र गोरखाको शत्रुराज्य लमजुङसंग सिमाना जोडिएका गोरखा अधिनस्थ राज्यहरुको सुरक्षा प्रवन्ध गर्ने जिम्मेवारी समेत उनको हातमा आएको थियो । १२ वर्षको उमेरदेखि सैनिक सेवा प्रवेश गरेका बस्न्यात नेपाल एकीकरणको सिलसिलामा पूर्वको किराँतक्षेत्रलाई वृहत नेपालमा समावेश गरेपछि पाँचवटा सैनिक कम्पनीहरुलाई आफ्ना साथमा लिएर पश्चिम नेपालको विजय अभियानमा तनहुँको चितवनका उपदाङगढी, चिसापानीगढी, सोमेश्वरगढी र नवलपुरखण्ड विजय गर्दे गरेका थिए ।
पर्वतको लामो समयको बसाइमा लमजुङका राजा वीरमर्दन शाहीले पर्वत र कास्की राज्यको सहयोग पाएर आफ्नो गुमेको लमजुङ राज्य पुन प्राप्तिको लागि गोरखासंग लर्डाई गर्ने निश्चित गरेका थिए । पर्वत र कास्कीलाई गलकोट, मुसीकोट र इस्मा राज्यको पनि समर्थन रहेको थियो । पर्वत र चौविसेको सेना इन्सिरकोटबाट अगाडि बढ्न थाल्यो । पर्वत र कास्कीको सेना पोखरा हुँदै लमजुङको सरहदमा घुस्न गयो । (श्रोतः चौविसी राज्यको इतिहास- गोपिनाथ शर्मा) । वि.सं. १८४१ साल जेठ महिनामा लमजुङ पुग्दा नेपालको स्वामित्वमा गइसकेको लमजुङमा पर्वत सहितको चौबिसी सेनाले कब्जा गरी रहेको देखियो । यस निर्णायक युद्धमा चौविसीको विजय निश्चत देखेका कास्कीका राजा शिद्धिनारायण शाहले गोरखासंग गरेको धर्मपत्र, ताम्रपत्र हाल बेसीसहर नगरपालिका वडा नं. ६ मकैडाँडा भन्ने स्थानमा नेपाली सेनाको बीचमा हुर्याइ दिएका थिए । गोरखाली सेना चौविसेहरुको घेरामा पर्न सक्ने देखिएकोले गोरखाबाट काजी स्वरुपसिंह कार्कीको नेतृत्वमा थप सैनिक पठाइएको थियो । (श्रोतः चौविसी राज्यको इतिहास- गोपिनाथ शर्मा)
हुन त यस युद्धका दुबै पक्षमा रहेका पर्वतको सेना लरतरो थिएन भने गोरखाली सेना पनि केही कुरामा कम थिएन । वि.सं १८४१ मा पर्वत र कास्की राज्यका संयुक्त सेनाको सहयोगमा लमजुङका राजा वीरमर्दन शाहीले लमजुङ फर्काउनका लागि मकैडाँडामा गोर्खाली फौजका साथ घुँडा धसेरै लडे तर उनी विजयी हुन सकेनन् (श्रोतः लोक संस्कृतिको घरामा लमजुङ- धर्मराज थापा)। पर्वत र कास्कीको संयुक्त फौजले गोरखा विरुद्ध गरेको निर्णायक युद्धमा पर्वतका सर्दार गणेश मल्ल समेत पक्रिए । चौविसीका अरु सेनाको भागाभाग भयो । गोरखाको लागि मकैडाँडा युद्ध फलदायी सावित भयो । कहिले गोरखा र कहिले चौविसेसंग मिल्ने कास्कीको ढुलमुले नीतिले कास्कीको साखमा ह्रास आयो भने पर्वतको लजास्पद हार भयो ।
मकैडाँडाको युद्धपछि लगतै गोरखाली सेनाले कृस्ती दखल गरे । नुवाकोटसंग युद्ध भयो । अभिमान सिंह बस्न्यात कृस्तिबाटै पाल्पाको तानसेन दखल गर्न पुगे । पाल्पाका राजा महादत्तसेन भागेर बुटवल पुगेर आश्रय लिएका थिए । पाल्पा समेत दखल गरेपछि पर्वत अझ ससङ्कित भयो । पर्वत लगायतका चौविसी राज्यहरुले नेपालको सेना घेर्ने रणनीति बनाए । तत्कालका लागि पाल्पा दखल भएपछि काजी अभिमानसिंह बस्न्यात विजित क्षेत्रको सुरक्षार्थ गोरखाली सेनालाई लमजुङ फिर्ता भएर लमजुङको मकैडाँडामा आएर ठाना हालेर बसेका थिए। अभिमान सिंह बस्न्यातको सैनिक डफ्फाको सहयोगार्थ, चौतरिया दलजित शाह, मूलकाजी स्वरुपसिंह कार्की मकैडाँडामा पुगेका थिए ।
पर्वत र कास्कीका सेनाले लमजुङको मकैडाँडामा रहेका सेनामाथि वि.सं. १८४१ जेष्ठ ३० गतेका दिन पुनः आक्रमण गरे । उनीहरुको केही सिप लागेन । पर्वतका प्रभावशाली सेनापति सरदार गणेश मल्ललाई पक्रियो । यही युद्धका कारण चौविसी राज्यहरुमा प्रभावशाली मानिएको पर्वतको प्रतिष्ठा कम हुँदै गयो । गोरखासंग कास्कीले निहुँ खोजेका कारण १८४२ जेठ ३० गते रुपाकोट र १८४२ असार १ गते कास्कीको सराङकोट माथि आक्रमण गरेर कास्की र वि.संं १८४३ असोज १५ गतेका दिन पर्वतलाई नेपाल राज्यमा विलय गराइयो । (श्रोतः पर्वत राज्यको ऐतिहासिक रुपरेखा टेकबहादुर श्रेष्ठ)
मकैडाँडामा पक्रिएका पर्वतका सेनापति गणेश मल्ललाई सैनिक हिरासतमै काठमाडौंमा लगियो । मकैडाँडाको युद्ध समाप्ति हुनासाथ अभिमानसिंह बस्न्यातले तनहुँ रिसिङ, घिरिङ, सतहुँ गह्रौं, नुवाकोट माथि विजय प्राप्त गरेका थिए । वि.सं. १८४३ जेठदेखि कार्तिक भित्रमा गुल्मी, अर्घाखाँची, गल्कोट, पर्वत र प्यूठान नेपालमा मिलाए पछि सम्झौता अनुसार बहादुर शाहका ससुरा पाल्पाका राजा महादत्त सेनलाई गुल्मी अघाँ र खाँची सुम्पेर त्यसक्षेत्रका अधिनस्थ राजाहरुलाई आफुसंगै काठमाडौं लगेका थिए । नेपाल तिब्बत युद्ध समाप्तिको लगतै काजी अभिमानसिंह बस्न्यातको स्थानमा भतिज किर्तीमानसिंह बस्न्यातलाई मूलकाजी बनाइएपछि अभिमानसिंह बस्न्यातलाई पर्सामा राखि मोरङसम्मको कालाबञ्जरमा बस्ती व्यवस्थापन गर्न पठाइएको थियो । वि.सं. १८३३ मा काठमाडौंको इन्द्रचोकमा मानभवन (तिलङ्गाघर) बनाउने काजी अभिमानसिंह बस्न्यातको सोही कालाबञ्जर क्षेत्रमा ५७ वर्षको उमेरमा वि.सं. १८५७ मा मृत्यु भएको थियो ।
४) मकै डाँडामा अवस्थित ऐतिहासिक पदचिन्हहरु
मकैडाँडाको सिरानमै पोखरी भएको हुनाले पहिले पहिले यस स्थानलाई पोखरीडाँडा भनेर चिनिने गरिन्थ्यो । अहिले मकैडाँडा वरीपरी सिमेण्टले पोतिएको पोखरी, पोखरीको बीचमा भगवान शिवको मूर्ति र पोखरीको उत्तरतर्फ पिखरी देवीको मन्दिर, मकैडाँडाको शिखरमा श्री हरिश्चन्द्र सत्यदेव मन्दिर (हरे मन्दिर) बेसीसहर नगरपालिकाको होडिङवोर्ड, कृषक समुहको भवनहरु, होर्डिङ बोर्डबाट केही तल कालिका मन्दिर, डाँडापारी कालिका मन्दिर, अकला थान र गढीचौतारा, ठानाहालेका डाँडा र देवीका मन्दिरहरुमा देवीका मूर्तिहरु देख्न पाइन्छन् । हरिश्चन्द्र सत्यदेव मन्दिरसंगै रहेको पुरातात्विक महत्वको शिखरगढी स्थानीय जनताहरुले डोजर लगाई समथर मैदान बनाएको कुरा मकैडाँडा व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्रधानाध्यापक यमबहादुर रिमालले बताए । पुरातात्विक सम्पदा भत्काइएको स्थलमा वेसीसहर नगरपालिकाले आफ्नो होर्डिङबोर्ड राखेर पुरातात्विक बस्तुको नष्ट गर्नमा सहयोग पुर्याउन साक्षी बसेको देखिन्छ । अब त्यहाँ पुरातात्विक महत्वका कुनै पूर्वाधारहरु भेटिदैन ।
हरेलो पर्व र हरिश्चन्द्र सत्यदेव पूजाप्रसंग
नेपाल पर्वै पर्वहरुको खानी भएको देश हो । नेपाल कृषि प्रधान देश भएकाले पनि यहाँ प्रशस्त कृषिसंग सम्बन्धित पर्वहरु हरेक महिना आउने गर्दछन् । यहाँ उधौंली-उभौंली, १५ असार, साउने संक्रान्ति, नागपञ्चमी, क्वाँटी पूर्णीमा, हरेलो, दशैं, तिहार, न्वागी, माघे सक्रान्ति, १५ पुष, दशमाघ, श्रीपञ्चमी, विषु संक्रान्ति आदि आदि पर्वहरु मनाइने गरिन्छ । साउन विशेषत बढी मेघ र बादलहरु वर्षे महिना हो । साँच्चै भन्ने हो भने साउन वर्षाको समाप्तिका साथै हिउँदे मौसमको सुरुआती पनि हो । धान रोपाइ सकिए लगतै आबस्यकता अनुसार पानी परोस, खेतबारीमा प्रशस्त सिंचाइ सुविधा गर्न सकियोस, खेतबारीमा काम गर्ने कुनै पनि किसानहरुलाई कुनै पनि प्रकारका घाउ खटिरा लुतो लगायतका अन्य विध्नबाधा नपरोस, अन्नपातले घरका भकारी भरिएर सहकाल लागोस भन्ने कामनाका साथ भूमिका तथा कृषिकर्मका अधिष्ठाता भगवान शिव (पुरुष र पार्वती प्रकृति) को पूजाआरधना गरेर हरेलो गर्ने परम्परा रहेको छ । हरेलो भनेकै हरियाली हो ।
हरेलो गर्दा भलायो, नासपाती, मेल, अम्बा लगायतका कुनै एउटाको फल सहितको हाँगाको लिङ्गहरुलाई कुशे औंसी भन्दा अगाडिको मंगलवारका दिन खेतबारीको माझमा साँझको समयमा लगेर हरेलो रोप्ने तथा लिङ्गो गाड्ने गरिन्छ । सोही लिङ्गमा माटोले बनाएको हाँडी वा बाँसले बनाइएको टोकरीमा भुस राखेर भूसलाई जलाएर धुवाँ उडाउने परम्परा रहेको छ । यसो गर्दा धान मकै लगायतका अन्नबालीमा लाग्ने किराहरुबाट अन्नबाली बचाउन सकिन्छ भन्ने जनविश्वास रही आएको छ । अर्को तर्फ माटोको हाँडीमा बारीबाट ल्याइएको नयाँमाटो राखेर सो माथि धान, मकै, गहुँ, सर्स्यु, मास, भट्टमास र गहत लगायतका सप्तबीज रोप्ने र ७/८ दिनसम्म पानी छर्केपछि उम्रने हरेलो (जमरा) चारदेखि छ इन्च लम्बाइ भएपछि परिवारका सबै सदस्यहरुले हरेलोलाई पूजा गरेर शिरमा धारण गर्ने गर्दछन् । यसैले यहाँका कृषकहरु सुखसम्बृद्धि प्रतिकको रुपमा हरेलाको पूजा गर्दै आएका छन् जुन हाम्रो पुरानोे परम्परा हो र अद्यापि गरिंदै आएका पनि छौं । हरेलो पूजाको शुभअवसरमा वृक्षारोपण गरेर पर्यावरण जोगाउने हाम्रो अर्को अदृष्य अभियान पनि हो ।
लमजुङका संस्थापक राज यशोब्रहृमा शाहले आफु राज्य रोहण गरेको दिन असार १५ लाई राजा धान रोपाइको विशेष पर्व मनाउन सुरु गरे । एक पटक राजा यसोब्रहृमा शाहको आफ्नै गैह्री खेतमा असार १५ गतेका दिन ठूलो रोपाईको आयोजना हुने गर्दथ्यो । वरपरका सबै प्रजाहरु रोपाइमा झारा जाने गर्दथे। यशोब्रहृम शाहकी रानी बसन्तावती पनि रोपारेहरुको हारमा रोपारे बनेर खेत रोपिरहेकी थिइन । दरवारमा हरे नाम गरेको राजाको हलि थियो । खेत साउँदा साउँदै हरे नामको हलिलाई सूर्ति खान मन लाग्यो । हरेले रानी सित सूर्ति माग्यो । खेत रोप्दा रानीको हात हिलाम्मै भएको हुनाले रानीले हरेलाई सूर्ति झिकेर खान भनिन । रानीको आदेश पाएर हरेले रानीको चोलीबाट सूर्ति झिकेर फाँक मार्यो । हरेसंग रिसइवी भएको अर्को व्यक्तिले रानीको निजी अङ्गमा हात लगाएको कुरा राजालाई सुनायो । राजाले तुरुन्तै उक्त हरेलाई झिंगे खोलामा लगेर मारी दिनु भनि आदेश गरे ।
मार्ने आदेश थाहा हुनसाथ हरे हली हलगोरुसंगै मर्स्याङदीमा हेलियो। हरे मर्स्याङदीमा नै अस्तायो । हरेको मृत्युको खबरले रानीको हृदय करुणाले भरियो । हरेको मृत्यु बारे राजारानी साँझ अबेरसम्म कुराकानी गरे । दिनभरीको थकाइले रातमा राजा भसक्क निदाए । राजा निदाउना साथ हरे सपनामा आइपुग्यो । हरेले राजा समक्ष आफ्ना सबै कुराको बिन्ती बिसायो । हरेले कुनै गल्ती नगरेको थाहा हुन आयो । राजालाई न्याउरीमारी पछुतो भयो । अगती परी मृत्यु भएकाले हरे हलिले र्स्वर्ग जान बाटो र धरतीमा बसेर खानेकुरा केही पनि पाएन । सपनामा नै राजाले हरेलाई कृषकहरुको बालीमा बेरुवा मरुवा लगाउन खेतवारी र कुलोमा भ्वाङपारी सताउन आदेश गरे ।
हरेले हरेक किसानहरुलाई सताउँदै गयो । गाउँले सबैले हेर्ना जोखना गर्दा राजाको हलि हरे देखा पर्यो । सबै कृषकहरु राजाको दरवारमा गएर हरेको बारेमा उजुरी गर्न थाले । हरेको उपद्रव र बौलाहा चालबाट मुक्ति मिलोस, लमजुङको इतिहासमा हरेको इतिहास चिरस्थायी बनोस र हरेले जुगैभरी मुजुरी वापत हरेलो पूजाको खान्की पाओस भन्ने ध्येयले राजाले हरेलो गर्ने आदेश जारी गरे । अब किसानको खेतबारीमा रोगव्याध र बाढी पहिरो नजाओस हे हरे देवता भनेर कुशे औंशीको अघिल्लो मंगलवार उही हरेको पूजाआजा गर्ने परम्पराको थालनी गरियो ।
पहिला यहाँ अयोध्याका सत्यवादी राजा हरिश्चन्द्र राजाको दरवार तथा मन्दिर थियो रे भन्ने पूर्वजहरुको भनाइ छ । अहिले यहाँको उत्खनन् गर्दा यहाँ इट्टाको गारो, चौतारो र शिलाहरु भेटिनुले हो की भन्ने सहयोग पुगेको छ तर हो भन्ने यथेष्ट प्रमाणहरु भेटिदैनन् । अयोध्याका राजा हश्चिन्द्रको कथा सुन्ने गरेता पनि नेपालमा देवताको स्वरुप मानेर पूजाआजा गरेको प्रचलन नभेटिएकोले लमजुङ दरवारमा काम गर्ने हली हरेको नामबाटै हरिश्चन्द्र सत्यदेवको मन्दिर स्थापना गरी पूजाआजा गरिएको हो कि भनेर अनुमान गर्न सकिन्छ ।
पोखरीदेवी
रिमाल वंशका एक जना बृद्धव्यक्ति मकैडाँडामा अबस्थित बञ्जर जग्गा आवाद गर्ने उद्धेश्यले घरबाट हली र हलगोरु समेत साथै लिएर पोखरी डाँडामा जानु भयो । पोखरीको आडैमा रहेको बाँजो बारी जोत्न लगाउँदा एउटा कालो शिला भेटियो । बाँजोबारी जोत्दा भेटिएको शिला अत्यन्तै राम्रो देखिएकाले उनै रिमालकाजीले आफ्नो घरको खोपामा लगेर सजाएर राख्नु भयो । शिलाको पूजाआजा नहुँदा घर परिवारमा दुःखपिर थपिंदै गए । गाइबस्तु बिरामी हुने, परिवारका सदस्यहरु बीच सामन्यतया सानोतिनो कुराहरुमा पनि विवाद थपिंदै जाँदा घरमा अमनचैन कायम भएन । अर्कोतर्फसुरक्षित साथ सजाएर राखिएको शिला पनि दिन प्रतिदिन बढेर ठूलो हुँदै गयो । शिला बढदै गएपछि खोपामा राख्न नमिल्ने भयो । शिला घरमा लैजाने रिमालकाजी साहेवको पनि सबै शरिर सुनिएर मोटाउँदै गयो ।
घरमा अस्वाभाविकता बढ्दै गएपछि सालडाँडाबाट झाँक्री बोलाएर घरमा देउ बसाइयो । देउ बसाउँदा देवीको मूर्ति घरमा ल्याएर राखेको कारण गाइबस्तु र मानिस बिरामी पर्न थालेको हो । उक्त शिला घरमा राख्दा अनिष्ट थपिंदै जाने भएकाले जहाँबाट ल्याइएको हो त्यही मन्दिर स्थापना गरेर पूजाआजको सुरुआत गर्नु भनि सालडाँडाको झाँक्रीले भनेको हुनाले गाउँका सबै भद्रभलादमी जम्मा भइ खड्गरुपी शिलादेवीलाई दूधको धारा दिइ स्थापना गरिएको र उक्त देवीलाई मकैडाँडाका हरेक घरधुरीका मानिसहरु मिलेर सबैजनाबाट सामुहिक रुपमा एउटा पाठीको भोगदिइ पूजाआजा गर्ने परम्परा रहेको छ । आजकल हरेकवर्षवर्षो दुइपटक पोखरीदेवी र माताभवानीको उधौंली उभौंली पूजाआजा गरिदै आइएको स्थानीय यमबहादुर रिमाल बताउँछन् ।
पोखरी र शिवको मूर्ति
मकैडाँडाको शिखर तल २०७२/०७३ सालमा एउटा पोखरी बनाएको पाइन्छ । त्यही पोखरीको बीचमा सिमेण्टले नै बनाइएको शिवको मूर्ति स्थापना गरेको पाइन्छ । व्यवसायिक पर्यटन अभिवृद्धि गर्ने ध्ययले सिमेण्टेड पर्खाल लगाएर यस ठाउँमा पानीपोखरी निर्माण गरिएको छ । पोखरीमा पानीको मूल नभएता पनि बाहिरबाटै पानीको आपूर्ति गर्ने तयारी गरिएको छ । तर यस्को स्थायी श्रोत कुन मूल हो भन्ने विषयमा थाहा हुन सकेन ।
पर्यटन सिमेण्टको संस्कृतिले होइन पर्या पर्यटनको आबस्यक हुन्छ भन्ने महसुस नगरी भोज भतेर गर्ने चौरको रुप दिइएको मकैडाँडाले लमजुङको राजा वीरमर्दन शाहको अथक प्रयास, अतिथिको सत्कार सहयोगमा सहयोग गरेर नथाक्ने पर्वत एउटा वगोत्रीय भाइलाई लात मारेर अर्को भाइलाई साथ दिने कास्कीको रणनीति जस्तोसुकै आपदमा पनि युद्ध मैदानमा लड्ने चौतरीया दलजित शाह, मूलकाजी अभिमान सिंह बस्न्यात, मूलकाजी स्वरुपसिंह कार्की स्मृति बोकेको मकैडाँडा मकैडाँडा नामले चिनियोस यही हाम्रो सदिक्षा रहेको छ ।










