सेतीमादी उपत्यका र नदी तटमा रहेका प्रमुख तीर्थस्थलहरु
देव बस्न्यात

सेती र मादी नदी सेतीमा समाहित हुनु पूर्व मादीनदीलाई यमुना उच्चारण गरिन्छ । सेतीमा समाहित भएर त्रिशुलीमा मिल्नु अगाडि सेतीमादी नदीका जलाधार क्षेत्रमा पनि प्रशस्तै तीर्थ स्थालहरु रहेका छन्। भटिएका अभिलेखलाइ यहाँ लिपिबद्ध गर्ने प्रयास गरिएको छ । कतिपय जानअन्जानमा छुट भएका हुन सक्दछन्। छुट भएका तीर्थस्थलहरुलाई लिपिबद्ध गर्ने हाम्रो प्रयासमा यहाँहरुको अमूल्य सुझाव र सहयोगको अपेक्षा गरेका छौं ।
शङ्कर तीर्थ -व्यास प्रयाग)
दमौली बजारको मूख्य चोकबाट १० मिनेटको पैदल दुरी शङ्करतीर्थ रहेको कुरा स्कन्दपुराणको गण्डकी महात्म्यम खण्डमा उल्लेख गरिएको छ । गण्डकी महात्म्यम्ले दमौली ऋषि पराशरको तपोभूमि र २८ वैवश्वत मन्वतरको ऋन्त्यमा माता सत्यवतीको गर्भबाट महर्षि वेदव्यासका जन्मभएकोले वेदव्यास जन्मभूमि वर्णित गरेको पाउँदछौं। योगी नरहरि नाथले उल्लेख गर्नु भएको व्यास नदी र सेतीमादी नदीको सङ्गम नजिक गुफामा महर्षि वेद व्यासको जन्म भएको हो । वेदव्यास जन्मनासाथ उत्तर तर्फको गुफामा गइ तपश्या गरेको पवित्र गुफा नै आजको व्यासगुफा सेती मादी नदी संगमको उत्तरतर्फको इशानकोणमा रहेको छ। ध्यान गुफा, ज्ञान गुफा र सभा गुफा समेत तीन भागमा विभाजित व्यास गुफा शङ्कर तीथमा रहेको छ। गण्डकी महात्म्यम अनुसार पारकोटेऽन्यतीर्थञ्च पुण्ड्यदायकम् माद्रिकाशुक्लागण्डक्यो : संगमे शकराभिधम्।
मादीसेती गण्डकी नदीको संगममा शङ्कर तीर्थ रहेको छ जुन पारकोट देशको पूण्यभूमि मानिन्छ ।
तपश्चकार तत्रैव पराशर महामुनिः पराशरगुहातत्र तपशिद्धि प्रदायिनी ।।
-काली र त्रिशुली नदीको बीचमा पारकोट देश रहेको छ, जुन संसार भरी प्रख्यात रहेको छ ।
जज्ञे मत्स्योदरी पुत्रस्तत्र द्वीपे पराशरात पुराण संहिताकर्ता वेदशास्त्रत्र प्रवर्तकः।
बयरघारी टापुमा पराशर ऋषि र मत्स्यगन्धाको शारिरिक मिलनबाट वेदशास्त्रका प्रवर्तक वेदव्यासको जन्म भयो । यस पूण्डय भूमिको मादी र सेत नदीले बनाएको टापुमा परारशर ऋषिले तपश्या गरेको गुफा, परशारशिला, राजा उपरीचरको वीर्य आकाश मार्गबाट लैजाने बाज, जलारी बोटे दाशराज माझी, माछारुप धारण गरेकी अद्रिका अप्सराको जुम्ल्याहा बच्चा सहितको शिला, मत्स्यकन्या गर्भवती बनेको शिला, पराशरेश्वर र शुक्लेश्वर महादेव मन्दिर गुरुकुलम, उत्तमगुहा योगि नरनाथको कुटि, समाधिस्थल साक्षीका रुपमा प्रस्तुत छन् भने वारी तर्फ तीन तहको व्यासगुफा, सत्यवतीकुण्ड, जयशिला, माछा मार्न बनाइएको साँखर (जुन प्रविधिील माझेले अद्रिका अप्सरा नामकी माछालाई बोटेले थापेको साँखर (खुँगामा) पारेका थियो) अष्टबक्रशिला, शिव पाञ्चायन मन्दिर, १०८ फिट अग्लो व्यास मूर्ति निर्माण स्थल, व्यासेश्वर महादेव शैलगुफा, देउराली, नहर्कीठाँटी, बुल्दी (व्यासनदी), छाब्दी (सत्यवती) नदी, उर्गेन धारगेलिङ गुम्वा, शंखवती शिला (हाल हर्कमान श्रेष्ठको घरमा सुरक्षित), भीमसेन मन्दिर साक्षीका रुपमा मौेजुदा रहेका छन्। व्यासको जन्मभूमि हुनले हाल यसलाई व्यास प्रयाग भन्ने गरिएता पनि पुरााणले शङ्कर तीर्थ नै रहेको प्रमाणित गरेको हालको दमौली नामकरण गरिएका शङ्करतीर्थ क्षेत्र अपभ्रंश भइ साँखर नामले सावोधन भइ आएको सत्यता सबैका सामु छर्लङ्ग नै छ । व्यास जन्मभूमिकै नामले स्थापित व्यास नगरपालिकाले व्यासका जन्म सन्दर्भबारे परिचित गराइ आध्यात्मिक पर्यटन अभिबृद्धि गराउन जरुरी छ ।
बेनीकोट शिध्दथान र सूर्यकुण्ड
व्यास नगरपालिका वडा नं. १३ को बेनीकोटको ९७५ मिटरको उचाइमा शिध्दथान र बेनीकोटको बेसी बेलवासको खिरखाँदी खोला, ताराखोला र सेती नदीको त्रिबेनीमा सूर्यकुण्ड रहेको छ । यहाँका शिद्ध हरेक दिन बिहान गुफाको भित्री मार्गबाट सेती नदीमा रहेको सूर्यकुण्डमा पुगेर स्नान गर्दछन् भन्ने जन विश्वास रहेको पाइन्छ । यहाँका स्थानीय निवासीहरु शिद्धलाई भगवान शिवको अवतार, झाँक्रीलाई शिवका प्रमुख गण वीरभद्र र वाराहीलाइ पार्वतीको स्वरुप मानेर पूजाआजा हुँदै आएको पाइन्छ । यहाँका शिद्धभगवानलाई १२ वर्ष भन्दा कम उमेरका अविवाहित किशोरहरुबाट हरेक श्रावण महिनाको पूर्णिमा तिथि बाहेक अन्य पूर्णिमाका तिथिहरुमा कोरी पूजा र बैसाख र मार्ग महिनाको पूर्णिमा तिथिमा बलि सहितको पूजाआजा हुँदै आइरहेको पाउँदछौं। उक्त शिलालाई यहाँका नागरिकहरुले हरेक वर्ष जनै फेरी दिने प्रचलन रहेको पाइन्छ। वेनीकोटको शिद्धथानमा भेटिएको शिला करिव ५ फिट उचाइ रहेको र हरेक वर्ष शिलामा जनै फेरी दिन परम्परा रहेको पाईदा कतै महर्षि वेदव्यास उनै त होइनन् भन्दा अतिसयोक्ति नहोला ।
हात्तीसुंढेमा जलवाराही मन्दिर
व्यास–१३ हात्तीसुडे नजिकै जलवाराही मन्दिर रहेको छ । यस मन्दिर परिशरमा छाब्दी वाराही मन्दिरको जस्तै जलकुण्ड, जलकुण्डमा पौडी रहेका माछाहरुको अनुपम दृष्यहरु देख्न पाइन्छ । आफुले मागेको वरदान प्राप्त हुने जन विश्वास रहेकाले यहाँका भक्तजनहरु जलवाराही मन्दिरमा हाँस, कुखुरा र बोका बलि चढाउने परम्परा रहेको छ । जलवाराही मन्दिरबाट सिधै बेनीकोट जान परेमा शिद्धभगवालाई बलि सहितको पूजा गरेर गएमा कुनै अनिष्ट नहुने थप जनविश्वास पनि रहेको पाइन्छ । जल वाराही मन्दिर जाने बाटो अप्ठ्यारो भएकोले पनि यहाँ अनपेक्षित दूर्घटना हुन सक्ने भएकाले प्रायः कुनै पनि व्यक्तिहरु वनको बाटो जाने हिम्मत नगर्ने स्थानीय पूर्व शिक्षक मानबहादुर आलेले बताए ।
राजा दशरथको पुत्रेष्टि यज्ञस्थल सराङ्घाट
अयोध्या नरेश दशरथको राज उत्तराधिकारी केही नभएकाले कुलगुरु वशिष्ठको सल्लाह अनुसार पुत्र प्राप्ति हेतु पुत्रेष्टि यज्ञ गर्ने विचार गरे। वशिष्ठकै सल्लाह अनुसार आफ्नै ज्वाई -छोरी शान्ताका श्रीमान) ऋषि श्रीङ्गीबाट गराउने निधो भयो । राजा दशरथ स्वयं ऋषि श्रीङ्गीलाई भेटेर अयोध्या पुगेर पुत्रेटि–यज्ञ सम्पन्न गराइदिन हार्दिक अनुरोध गरे । पुत्रेष्टि यज्ञ गराउँदा आफ्नो बर्षाैंको तपश्या स्वाहा हुने भयले ऋषि श्रीङ्गीले आफ्नो इलाका भित्र पुत्रेष्टि यज्ञ गरेमा यज्ञकाहेता भइ काम गरी दिने तर अन्यत्र कुनै हालतमा नजाने प्रतिज्ञा राजा दशरथ समक्ष बिन्ती गरे । ज्वाईको कुरालाई राजा दशरथले सहर्ष स्वीकारी ऋषि श्रीङ्गीको आश्रम नजिकको सराङघाटमै पुत्रेष्टि यज्ञ सम्पन्न गराइ दिन अनुरोध गरे। पुत्रेष्टि यज्ञको फलस्वरुप राजा दशरथको प्रथम पुत्र राम र क्रमशः भरत र लक्ष्मण सत्रुध्न जन्मिए । कालन्तरमा जेष्ठ पुत्र रामको नामबाट यस स्थानको नाम रामघाट रहन गयो। हाम्रो बाह्र मगरातका मगरहरुले म अक्षरलाई उनीहरुको आफ्नो भाषामा ङ उच्चारण गर्ने भएकाले बिस्तारै राम नामको सट्टा राङ उच्चारण हुन पुग्यो । सोही राङ शब्दको अगाडि नेपाली वर्णमालाको सुबन्त अक्षर स ब्युत्तपति भइ सराङ बन्न पुुगेकोमा दुइमत नहोला । त्यही सराङशब्द र नदी माथि डुङ्गा वारपार गर्ने स्थानको घाट शब्दसंग संयोजन हुन गई सराङघाट हुन पुगेको अनुमान गर्न सकिन्छ । हाल देवघाट गाउँ पालिकाको वडा नं. ३ नाल्दुङमा श्रीङ्गेश्वर महादेव मन्दिर, मनकामना मन्दिर दूधेवाराही मन्दिरहरु रहेका छन् । यसैगरी पाल्पाली नरेश मणिमुकुन्द सेनले उनै श्रृङ्गेश्वर महादेवको शिला स्थापना गरी सराङघाटमा पनि तपश्या गरेको हुनाले सो स्थानको नजिकै अर्को स्थान जोगीडाँडा पनि रहेको छ ।
सुमेरु पर्वत र नन्दिनी गुफा
कामधेनु गाईको पति कश्यप र छोरीको नाम नन्दिनी हो । कुनै एक दिन कामधेनु गाई आफ्नो पुत्री नन्दिनीलाई छिम्कालेखका सुमेरुपर्वत श्रृंखलामा अवस्थित गुफामा राखेर आफु छिम्केश्वरी र बूढीभगवती माइको दर्शन गर्न र बूढीभगवतीको शिलामा दूधधारा चढाउन छिम्केश्वरी पर्वतको चुचुरोमा जानु भयो । त्यही बेला हिमालमा आएको हिमपातका र हिमपहिरोको कारण गण्डकी प्रस्रवण क्षेत्रका सेती, मादी, मस्र्याङ्दी, दोर्दी, चेपे, बूढीगण्डकी र त्रिशुली समेतका सानाठूला नदीहरुमा ठूलो जलप्रवाह बढ्दै गयो। अन्ततः सबै गण्डकीहरुमा घुमौरी पर्दै भयंकर बाढी आइ रहेको हुनाले जलप्रलयको डर भयो ।
अन्ततः नदीमा पर्न गएको घुमौरीले सुमेरु पर्वत नै बगाउने लक्षण देखियो । सेती र त्रिशुलीको पानी तल तल नबगी सुुमेरु पर्वतलाइ नै घुमी घुमी बगेकाले यस स्थानलाई घुमाउनेघाट र कामधेनु गाइको बाच्छी बसेको गुफालाइ नन्दिनी गुफाको नामले संवोधन गर्न थालियो । गण्डकीमा भुमरी पर्दै सुमेरुपर्वत नै बगाउन लाग्दा गुफामा बसेकी कामधेनु गाईको छोरी नन्दिनीले आफुलाइ पर्न गएको महाविपत छिम्केश्वरी पर्वतको शिखरमा पुगेकी आफ्नी आमाले पनि आफ्नो आवाज सुनुन भनी ठूलो स्वरमा आमा -हाम्बाँ) भनेर पुकारिन । कामधेनु गाइको छोरी नन्दिनी सुमेरु पर्वतमा बसेकी रहिछिन भनेर गण्डकीहरुले महसुस गरेर गोसंरक्षण गर्नकै लागि त्रिशुली नदीले पूर्वतर्फ र सेतीमादी नदीले पश्चिमतर्फ आफ्नो मार्ग परिवर्तन गरी देवघाट तर्फ आफ्नो मार्ग अबलम्वन गरेको हुनाले यस स्थानलाई गाइघाट पनि भन्ने गरिएको किंवदन्ती सुन्नमा पाइन्छ । योगि नरहरिनाथले आफ्नो देवभूमि भारत एवं आध्यात्मिक नेपालको पहिलो भागको पुस्तकको गोघट्ट (गाइघाट) शिर्षकमा यस्तो कुरा प्रकाश पार्नु भएको छ ।
सुमेरु पर्वत र समुन्द्रमन्थन
पौराणिक ग्रन्थहरु अनुसार अहिलेको घुमाउनेघाट संगै रहेको पर्वतलाई सुमेरु पर्वतको नामले संवोधन गरिन्थ्यो । सेती त्रिशुली नदीहरुको पावन तीर्थस्थलमा कुनैसमयमा यहाँ क्षिर (दुग्ध) सागर रहेको थियो । अन्ततः देवता र दानवहरुको संयुक्त पहलमा त्यही क्षीरसागरमा सुमेरु पर्वतको मदनी र वासुकी नागको नेती बनाएर समुन्द्र मन्थनको सुरुआत गरे । समुन्द्र मन्थनको पहिलो सौगातको रुपमा हलाहल विष प्राप्त भएको थियो । हलाहल विषको उत्पतिले पृथ्वी र पृथ्वीमा उपलब्ध सबै रत्नहरु पनि दग्ध हुने छाँट देखियो। समुन्द्र मन्थनका समयममा निस्किएको हलाहल विषलाई भगवान शिव शङ्करले पिइदिंदा तत्काल अनिष्टता दुर भएर गयो। संभावित दूर्घटना दुर हुने भए पछि देवता दानव सबैमा खुसीको खुसीको उन्माद र रौनकता थपियो। उनीहरु प्रशन्न भइ पुनः नयाँ उत्साहका साथ समुन्द्र मन्थनमा तल्लिन रहे। समुन्द्र मन्थनको उपहारमा कामधेनु गाइ पश्चात क्रमशः उच्चैश्रवा घोडा, ऐरावत हात्ति, कौस्तुभमणि, कल्पवृक्ष, रम्भा अप्सरा, देवी लक्ष्मी, वारुणी (मदिरा) चन्द्रमा, पारिजात वृक्ष, पाञ्चजन्य शङ्ख, धन्वन्तरी र अमृत लगायतका अनेकौं सामुन्द्रिक रत्नहरु प्राप्त भएको पाउँदछौं ।
पञ्चकन्या मन्दिर तथा घुमाउनेघाट
हाम्रो पूर्वीय वेद तथा पुराणहरुले अहिल्या, तारा, द्रौदी, कुन्ति र मन्दोदरीलाई पञ्चकन्या मानेको छ । उनै पञ्चकन्याहरुले यस पूण्यभूमिमा आइ श्रृङ्गेश्वर महादेवको तपश्या गरेर बसेको हुनाले यहाँ पञ्चकन्या मन्दिर स्थापन गरी पूजाआजा चलाइएको पाइन्छ। सेती र त्रिशुली नदीको मिलन पछि त्रिशुली र सेतीनदीको संयुक्तधारलाई भागिरथी र काली गण्डकीसंगको मिलन पछि सोही नदीलाई नारायणी भनेर चिनाउने गरेको पाइन्छ । गाइघाट नजिकै सेती त्रिशुलीको वेनीमा पञ्चकन्या मन्दिर रहेको छ । पौराणिक कथा अनुसार यहाँ सुनन्दा, सुरभी, सुमना, सुशिला र नन्दा समेत पाँचरपाँचवटा कामधेनु गाइहरुको चरीचरन क्षेत्र रहेको धार्मिक विश्वास पाइन्छ । यिनै पाँचवटा कामधेनु गाइहरुलाई पञ्चकन्या अवतार मानी यहाँका लोकले पूजाआजा गर्दै आएको अर्को जनकथन सुन्नमा पाइन्छ ।
हरेकनदीहरुको संगममा माघे सक्रान्ति तथा एका दशी पर्वहरुमा स्तान गर्ने र मेला भर्नेहरुको खब भिड लाग्ने गर्दछ। सेती र त्रिशुली नदीको संगममा पनि हरेक महान पर्वहरु यहाँका वूढीभगवती, छिम्केश्वरी, गोरखाकालिका, मनकामना, इच्छाकामना, अन्नापूर्ण र अकलादेवीहरु नदी संगममा स्नान गरी सबै जना मिलेर रातभर नाचगानमा रम्ने गर्दथे । छिम्केश्वरी सात दिदी बहिनी मध्ये टाढाका गोरखाकालिका, मनकामना, इच्छाकामना अकला र अन्नापूर्ण देवीहरु बिहानको शुभमूहुर्तमा गण्डकी स्नान गरी अलप भएर आ–आफ्ना थानमा जान्थे भने बूढीभगवती र छिम्केश्वरी सबै भक्तहरुलाई आर्शिवाद दिएर छिम्म्काको लेखमा बिस्तारै उकालो लाग्दथे। अलप हुनै तीने पाँचदेवीहरुको संझनामा यहाँका स्थानीवासीहरुले शिला थपना गरी पूजाआजा गर्दै आएको किंवदन्ती पनि सुन्न पाइन्छ ।
कामधेनु गाइ र गाइघाट
पौराणिक कथा अनुसार स्वर्गमा बस्ने र इच्छानुसारको फल दिने गाईलाई कामधेनु गाई भनिन्छ जस्लाई सुरभी नामले पनि पुकारिन्छ । कामधेनु शब्द संस्कृत भाषका काम र धेनु दुइ शब्दको संयोजनबाट बन्न पुगेको हो । यहाँ काम शब्दले इच्छा र धेनु शब्दले गाइ भन्ने बुझाउँछ । हाम्रा धार्मिक ग्रन्थ तथा पुराण अनुसार कामधेनुु गाईको उत्पति समुन्द्र मन्थनबाट भएको मानिन्छ। समुन्द्र मन्थनको समयमा हलाहल विष पछि दोश्रो सौगातको रुपमा कामधेनु गाइ मिलेको थियो । कामधेनुगाईको उत्पत्ति हुँदाको अवस्थामा कामधेनु गाईका पछाडिको अंग पुच्छर मयुरको प्वाँख र मध्यभागको शरीर निक्खर सेतो रङ्गमा पशुजन्य गाईको शरिर र अग्रभागको अंग भने महिलाको आकृतिमा मानव शिर देखिएको थियो । क्षीरसागरबाट कामधेनुगाई धर्तीमा आउँदा विविध रत्नमालाहरुले सुसज्जित र जडित मुकुटमाला लगाइएको कथा प्रसङ्ग पुराणहरुमा वर्णित गरेको पाइन्छ। कामधेनु जो जससंग रहन्छ उस्ले आफ्नो सबै मनोङ्काँक्षाहरु पुरा गर्न सकेको कथाहरु पुराणहरुमा प्रशस्त भेटिन्छन् । मानिस, राक्षस तथा देवताहरुको हर मनोकामना पूर्ती गर्ने कामधेनु गाईका शरीरमा तेत्तिसकोटी देवीदेवताहरुको बासस्थान रहने विश्वास रहेको छ ।
पीते परे वृषाङ्केण प्रीतास्तेऽमदानवा।
मन्मथुस्तरसा सिंधुहवि धोनी ततोऽभवत ।।८।८।१।।
उक्त कामधेनु गाई देवघाटको वशिष्ठ गुफामा तपश्यारत बशिष्ठ ऋषिलाई उपहार स्वरुप चढाइयो। उनै कामधेनु गाई उत्पति भएको स्थल हुनाले सिञ्च्याङगढीको फेदीको यस स्थललाई त्यही बेला देखि गाइघाट नामले पुकार्ने गरिएको छ । समग्रमा कामधेनुगाईको पूजाआजा गर्नाले मानव जातिको मनमा पलाएका नकरात्मक दोषहरु नष्ट भई आर्थिक सुख–समृद्धि, आत्मिक पवित्रता र आमाहरुको पालन पोषण गर्ने कला र व्यक्त प्रेमाभावलाई जनाउँने गर्दछ । तीनै गौमाताको प्रत्यक्ष दर्शन मिल्ने भएकाले यस स्थानलाई गाइघाट भन्ने गरिएको हो ।










