देउवा, ओली र प्रचण्डलाई अब कति पटक प्रधानमन्त्री बनायो भने देशको विकास हुन्छ ? राप्रपा अध्यक्ष लिङ्देन
भञ्ज्याङ न्यूज

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई अब कति पटक प्रधानमन्त्री बनायो भने देश बन्छ भन्दै प्रश्न गरेका छन् ।
राप्रपा तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको आमसभलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा अहिले सरकार छ कि छैन थाहा नभएको चर्चा गर्दै सरकरका तीनवटै अंगले काम नगरेको आरोप समेत लगाएका छन् । उनले भने, ‘न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकाले आफ्नो काम गर्न नसकेको र देशको अवस्था अहिले सामान्य अवस्थामा छैन।’
जनसभामा राप्रपाका अध्यक्ष लिङ्देनले अहिलेका ठूला दलबाट विकासको अपेक्षा गर्नु गोरुको टाङमुनि बाल्टी थाप्नु सरह भएको समेत आरोप लगाएका छन् ।

‘गोरुले दूध दिन्न भन्ने सबैलाई थाहा छ, बाल्टी थापेर दूध आउँछ र ?’ उनले भने, ‘अहिलेका दलबाट विकास हुन्छ भन्नु पनि उही हो ।’
कांग्रेस, एमाले र माओवादीको नाम मात्रै फरक भएको बताउँदै उनले भने, ‘ती पार्टी एकै पाटाका दुइ सिक्का हुन, यीबाट केही परिवर्तन र विकास हुँदैन ।’
अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रियस्तरमा देशको विश्वासनियता गुमेको मात्र नभई शक्ति राष्ट्रहरुले नेपाललाई रणनीतिक प्रतिस्पर्धास्थल बनाएर हामीलाई कुनै न कुनै प्रकारले अवलम्बन गरिराखेको आरोप लगाएका छन् । उनले भने, ‘यो अवस्थाले कुनै पनि बेला हामीले युक्रेनको जस्तो नियति झेल्नुपर्ने खतरा हाम्रो सामु देखिएको छ । सरकार र ठूला राजनीतिक दलको यो व्यवहारले हुने क्षति ती ठूला पार्टी र नेताले मात्र नभई त्यसको क्षति सिंगो देश र जनताले व्यहोर्नुपर्छ।’

‘स्थानीय तहको निर्वाचन संघारमै आएको र एक वर्षभित्र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समेत हुन्छ’, अध्यक्ष लिङ्देनले भने, ‘यी निर्वाचनमा हामीले ठिक ढंगले आफ्नो मतको सदपुयोग गरेनौ भने हामीले ठूला पार्टी र तिनका नेतासंग गुनासो गरेरमात्रै हामीले छुट पाउँदैनौं ।’
‘जनताले परिवर्तन चाहेको र अहिलेको यथास्थितिमा कसैलाई पनि चित्त बुझेको छैन । यसको अन्त्य हुनैपर्ने र परिवर्तन हुनैपर्छ भन्ने कुरा सबैको एकमत छ, नेताहरुले काम गर्न सकेनन्, पार्टीहरुले काम गर्न सकेनन् भन्ने सबैको एउटै मत रहेको छ’, उनले भने, ‘तर, मत हाल्ने बेलामा फेरि आफ्नो बाउँको, बाजेको पार्टी, विद्यार्थीहुँददेखि आफु त्यसैमा लागेको पार्टी अब नेता त चोरै हुन्, फटाहाँ हुन के गर्ने अर्को तिर हात लाग्दैन, अर्को चिन्हमा हात जाँदैन भन्दै तिनिहरुलाई भोटहाल्दै हामीले गल्ति गर्यौ, अब पनि त्यो गल्ति दोर्याउन हुँदैन र जबसम्म आफ्नो पार्टीको पर्यो भन्दै तिनैलाई भोट हालिन्छ तबसम्म देशमा परिवर्तन र विकास प्राप्त गर्न सकिदैन ।’

तनहुँका १० वटै पालिकाबाट राप्रपाका नेता तथा कार्यकर्ताहरु सहभागितामा दमौलीमा बाजागाँजा सहित जनप्रदर्शन गरिएको थियो । जनप्रदर्शन पश्चात आयोजित सभामा राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही, जिल्ला अध्यक्ष विनोद र्घर्ती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।










