तनहुँको दुलेगौंडा स्थित पञ्चमुनिदेव माविले अनलाइन कक्षा सञ्चालन गर्ने

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण त्रासका कारण करिब छ महिनादेखि विद्यालय पूर्ण रुपमा बन्द हुँदा बालबालिकाको सिकाईमा प्रभाव परेको भन्दै विद्यालयले अनलाइन कक्षा सञ्चालन ल्याउने तयारी गरेको हो ।
विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले विहीबार एक सूचना जारी गरी विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी बाबुनानीहरूको अध्ययन कार्य लामो समयदेखि रोकिएको अबगत गराउदै यस्तो कठिन अवस्थामा विद्यार्थीहरू र शिक्षकहरूको भौतिक उपस्थितिमा कक्षा संचालन हुन नसक्ने बताएका छन् ।
कोरोना संक्रमण तत्काल रोकिने अवस्था पनि देखिएको र यो अवस्था कति समय लम्बिने हो त्यो पनि निश्चित नभएको हुँदा राज्यले वैकल्पिक शिक्षाका माध्यमबाट विद्यार्थीहरूको शैक्षिकसत्र खेर जान नदिन शिक्षणका विभिन्न विकल्पहरू प्रस्तुत गरेकाले सोही विकल्पहरुको प्रयोग गरी सिकाईलाई निरन्तरता दिने तयारी गरेको प्रधानाध्यापक मल्लले बताएका छन् ।
विद्यालयले असोज १ गतेदेखि कक्षा नर्सरीबाट कक्षा १२ सम्म अनलाइन कक्षा सन्चालन गर्ने तयारी गरेको विद्यालयका शिक्षक एवं सूचना अधिकारी लक्षुमण पुरीले बताए । अनलाइन कक्षासँग जोडिन अर्समर्थ विद्यार्थीहरूको लागि विभिन्न टिभी च्यानल, रेडियो (एफएम) हेरेर वा सुनेर र विद्यालयले वितरण गरेको सिकाइ अभ्यास पुस्तकको सहायताले अध्ययन गर्न गराउन अनुरोध गरिएको पुरीले बताए ।
टिभी, रेडियो र सिकाइ अभ्यास पुस्तकको अध्ययन के कति र कसरी भएको छ त्यसको अनुगमनका लागि साप्ताहिक रूपमा विद्यालयले शिक्षकहरुलाई गाउँ, टोलमा परिचालित गर्ने विद्यालयले जनाएको छ । यही वैकल्पिक पठनपाठनका माध्यमबाट उपयुुक्त समयमा उपयुक्त विधि अपनाइ परीक्षासमेत सन्चालन हुने र नतिजासमेत त्यसैको आधारमा निर्धारण गरिने भएकोले अभिभावकहरूले विषेश रेखदेख गर्नु, गराउनु हुन विद्यालयले अनुरोध गरेको छ ।










