तनहुँको भानु नगरपालिकाको भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु

भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ मंगलबारबाट सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
महोत्सव शुभारम्भ गर्दै अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको साहित्यिक तीर्थस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय स्तरमा अर्गानिक वस्तुहरुको उत्पादन बढाउनुपर्ने भन्दै उत्पादन हुने बस्तुलाई निर्यात गर्ने वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन, प्रदेश सदस्य मंगल प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाली कांग्रेस भानु नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट लगायतले मेला महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुग्नुका साथै आर्थिक चलायमान गर्नका लागि मद्दत पुग्ने बताए ।
यस्तै, महोत्सव उद्घाटनका अवसरमा स्थानीयले भन्सार बजार क्षेत्रमा जातीय पहिचान झल्कने भेषभूषा तथा विभिन्न संघसंस्थाहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।
आगामी पौष १९ गतेसम्म सञ्चालन हुने महोत्सबमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको छ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ ।
महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिनुभयो । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठले बताए ।
भानु नगर उद्योग वाणिज्य संघका महासचिब कृष्ण कोईरालाले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १२० वटा स्टलहरु रहेको जानकारी दिए । उनका अनुसार एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको उनले बताए ।
महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।










