सिँचाइ तथा नदी नियन्त्रणका आठ आयोजना सम्पन्न

दमौली : सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले सिँचाइ तथा नदी नियन्त्रणका आठ आयोजना सम्पन्न गरेको छ । तनहुँसहित लमजुङ, मनाङ र गोरखा कार्यक्षेत्र रहेको आयोजनाले तनहुँका विभिन्न ठाउँमा सिँचाइ तथा नदी नियन्त्रणका आठ वटा आयोजना सम्पन्न गरेको हो ।
आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार सिँचाइतर्फ रु एक करोड ८० लाख र नदी नियन्त्रणतर्फ रु दुई करोड ९० लाखका आयोजना सम्पन्न भएका हुन् । उहाँले आँबुखैरेनी गाउँपालिका–१ स्थित टास्वाँरा समस्तीपुर सिँचाइ आयोजना रु ६० लाखमा सम्पन्न भएको जनाउँदै बन्दीपुर गाउँपालिकास्थित शेराफाँट सिँचाइ आयोजनामा रु ७० लाख, बन्दीपुर–३ स्थित सुखौरा लिफ्ट सिँचाइ आयोजनामा रु ३० लाख, भानु नगरपालिका–४ स्थित अन्वेषण ट्युवेल निर्माणमा रु २० लाख खर्च भएको उल्लेख गर्नुभयो ।
नदी नियन्त्रणतर्फ म्याग्दे गाउँपालिका–२ स्थित म्याग्दे पयरखोला तटबन्धन तथा बाँधकुलो निर्माणमा रु २० लाख, आँबुखैरेनी–३ स्थित आँबुखैरेनी मन्दिर परिसरमा तटबन्ध निर्माणमा रु ९० लाख, व्यास नगरपालिका–५ स्थित मृगे पहराबाट चिन्तुटार खेलमैदानसम्म मादी नदी नियन्त्रणमा रु एक करोड र शुक्लागण्डकी नगरपालिका–१२ स्थित अर्साङ्दी खोला नियन्त्रणमा रु ८० लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा पालुङटार र कुण्डुटार सिँचाइ आयोजना कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५/७६ मा पालुङटार कुण्डुटार सिँचाइ आयोजना स्थापना भएको थियो । आव २०८१/८२ देखि तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहने गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा नामाकरण गरिएको थियो ।
चालु आवमा उक्त कार्यालय तनहुँको भानु नगरपालिकामा स्थानान्तरण भएको आयोजना प्रमुख खत्रीले बताउनुभयो । कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइसम्बन्धी संरचना निर्माण, दरौदी, दोर्दी तथा मस्र्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्धन निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइका लागि आवश्यक अध्ययन, अनुसन्धानलगायत कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।










