गण्डकी प्रदेश, पर्यटन र होमस्टेको विकास
के.बि. मसाल

पर्यटन भनेकै नयाँ ठाउमा घुमफिर गर्ने, प्रकृतिमा भएका बिभिन्न सम्पदाको अवलोकन गर्ने र बिभिन्न जात जातीहरुको भाषा, सस्कृति र धार्मिक सम्पदा पर्दछन् । पर्यटनका लागि गण्डकी प्रदेश हिमालदेखि पहाड सम्मको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक भएको विशेषतायुक्त भूगोल पर्दछ । सुन्दर हिमश्रृंखला, पर्यटनमैत्री पूर्वाधार, अनुकूल हावापानी, स्थानीयवासीहरुले गर्ने होमस्टेमा अतिथि सत्कारको सेवासुविधाले पर्यटकहरु लोभिन्छ्न । गण्डकी प्रदेशमा पर्यटनका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग विश्वकै पर्यटकहरुको रोजाइमा पर्दछ । अन्नपूर्ण पदमार्गमा प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध सँस्कृतिले भरिपूर्ण र खाना बस्नका लागि ठाउँ-ठाउँमा होमस्टे भएकाले पर्यटकहरुलाई सुबिधा भएको छ ।
गण्डकी प्रदेश पर्यटनका लागि भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यताले पर्यटकहरुलाई लोभ्याउने खालको छ । हिमालदेखि तर्राईसम्म फैलिएको गण्डकी प्रदेशको ११ जिल्लामा हालसम्म ४२५ को हाराहारीमा होमस्टे दर्ता भएका छन । गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवा अर्थात होमस्टेलाई प्रभावकारी बनाउने उद्देश्यले अहिले होमस्टे मोवाइल एप सेवा पनि सुरु भएको छ । प्रदेश भित्रका होमस्टेलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न, पैसा तिर्न र सबै होमस्टेबारे बुझन मिल्ने गरी भिजिट गण्डकी नामक होमस्टे मोबाइल एप सञ्चालनमा आएको छ ।
प्रदेशमा रहेका प्रकृति, संस्कृति र साहसिक गतिविधिहरुको संरक्षण, विकास र पर््रवर्धनमा सबै जुटेका छन । प्रदेशमा सबै जिल्लामा पर्यटन बिकासका लागि १३९ वटा सामुदायिक भवन, १५ वटा स्वागतद्वार, ५ वटा साँस्कृतिक संग्राहालय, १०७ वटा दृश्यावलोकन भ्युटावर, आवस्यक सार्वजनिक शौचालय, इन्टरनेट, सोलार लगायतका पर्यटनका लागि पूर्वाधारको निर्माण भएको छ । अर्को तर्फ पर्यटकहरुलाई सहज रुपले यात्रा गर्न ८५ वटा पदमार्ग निर्माण भएका छन भने कतिपय ठाउमा निर्माणको चरणमा छन । गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा लुकेर रहेका धर्म, संस्कृति र मनोरम प्राकृतिक सम्पदासम्म पुग्न होमस्टेको भूमिका महत्वपूर्ण रहेको छ ।
नेपाल सरकारले जारी गरिएको होमस्टे अर्थात घरवास सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०६७ र प्रदेश सरकार तथा स्थानीय तहले तयार पारेका होमस्टे कार्यविधिहरुसमेतलाई आधार मानेर गण्डकी प्रदेशको स्थानीय तहमा होमस्टे सञ्चालन भएका छन । प्रदेशका होमस्टेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइसकेका छन भने केहीले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन । पर्यटनको क्षेत्रमा होमस्टेको महत्व बढ्दै जाँदा अहिले प्रदेश भित्रका दुर दराजका ग्रामीण क्षेत्रमा पनि आम्दानीको स्रोत र रोजगारी बढन थालेको छ । नेपालमा ग्रामीण पर्यटनको एउटा प्रोडक्ट हो होमस्टे अर्थात घरबास । होमस्टेमा पर्यटकहरु अर्गानिक खानपिन, स्थानीय रीतिरिवाज अनि संस्कृतिमा रमाउन सक्छन। पछिल्लो समय पर्यटनको बिकास गर्ने उद्देश्यले होमस्टे-होमस्टे बिच आपसमा सांस्कृतिक सम्बन्ध बिस्तार गरी पर्यटन गाउँहरु बीच मितेरी सम्बन्ध गाँस्ने अभियानको सुववात भएको छ । गण्डकी प्रदेश भित्रका विभिन्न भूगोलका गाउँघरमा विभिन्न किसिमका प्राकृतिक वातावरण पाइन्छन। गाउँमा पुग्दा पर्यटनका लागि अति रोमाञ्चक, आनन्ददायी, अनौठो र मनमोहक पर्यटकहरुले ठान्दछन । जुन कुराले सबैखाले पर्यटकहरु गाउँघरमा रमाउन सक्दछन ।
आजभन्दा २७ वर्षपहिला अर्थात २०५४ मा नेपालमा होमस्टे शुभारम्भ स्याङजाको सिरुवारीवाटै भएको हो । होमस्टेका सुरुवातकर्ता हुन सिरुबारीका स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ । ग्रामीण पर्यटनको इतिहासमा उनको नाम सुनौलो अक्षरले लेखिएको छ। स्याङजाको सिरुबारीमा जन्मेका क्याप्टेन रुद्रमान गुरुङ भारतीय सेनाबाट ०३५ सालमा रिडायर्ड भएका थिए। स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गाउँमा भित्राएर गुरुङ सभ्यता तथा सँस्कृति विश्वभर प्रचारप्रसार गर्नुको साथै गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने सोच क्याप्टेन स्व. रुद्रमान गुरुङको थियो । सेनामा बहाल हुँदाखेरीनै क्याप्टेन स्व. रुद्रमानले २०२५ सालमै सिरुबारीलाई पहिलो पर्यटन गाउँ बनाउने सपना बुनेका थिए ।
स्याङजाको सिरुवारीवाट सुरुवात भएको होमसटे अहिले गण्डकी प्रदेशको ११ जिल्लाका पर्यटकहरु पुग्ने गाउँमा सञ्चालनमा छन । गण्डकी प्रदेशको ११ जिल्लामा ९१ जातजातिका मानिसहरुको बसोबास रहेको छ । गाउँमा होमस्टे पनि प्राय सबै जातीहरुबाट सन्चालन भएको पाइन्छ । गण्डकी प्रदेशमा अहिले घरबास अर्थात होमस्टमा न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक आर्गानिक खानाले पर्यटकहरुलाई आकषिर्त गर्ने गरेको छ । तुलनात्मक रुपमा होमस्टेमा पर्यटकहरुले होटलको भन्दा कम पैसामा गाउँमा स्थानीय समुदायको न्यानो आतिथ्यता ग्रहण गर्दै अर्गानिक खानपानको मजा लिँदै उनीहरुको रहनसहन, सँस्कृति र जीवनशैलीको अध्यन अवलोकन गर्ने अवसर होमस्टेले दिएको छ ।
गण्डकी प्रदेशमा विकास र समृद्धिका लागि पर्यटनलाई मुख्य आधार मानिएको छ । हुन त होमस्टेको अवधारण नेपालमा मात्रै हैन अमेरिका, अस्ट्रेलिया र यूरोपलगायत शक्तिशाली देशमा पनि व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामीण पर्यटनका गतिविधि भएका छन । विकासोन्मुख मलेसिया र केन्याजस्ता देशमा व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि होमस्टे सञ्चालनमा छन । छिमेकी देश भारत र चीनमा पनि पर्यटनका क्षेत्रमा होमस्टे सञ्चालनमा छन । तर पनि गण्डकी प्रदेशका होमस्टेमा आत्मियताको गाउँले व्यवहार, स्थानीय उत्पादनको अर्गानिक परिकारको स्वाद एवंम गाउँले जनजीवन र संस्कृति अवलोकन गर्न पाउदा पर्यटकहरुले छुट्टै अनुभव गर्दछन ।
गण्डकी प्रदेशमा हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा पनि पर्यटकहरुलाई लक्षित गरी होमस्टे सञ्चाालनमा आएका छन् । गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा, बाग्लुङ, पर्वत र म्यादीका र पूर्वी नवलपरासी जिल्लामा समेत पर्यटकहरु पुग्ने गाउँहरुमा होमस्टेले पर्यटन प्रवर्द्वन र बिकासमा परिवर्तन ल्याएको छ । पर्यटकहरुले नयाँ ठाउँ घुमफिर गर्न खोज्दछन् । नयाँ ठाउँको महत्व छुट्टै हुन्छ । अर्को तर्फ नदेखेको कुनै गाउँठाउँ कसैको लागि नयाँ बन्दछ । पर्यटनको लागि गण्डकी प्रदेशमा पर्यटकीय सम्भावना बोकेका धेरै भर्जिन गन्तव्यहरु छन् । प्रायः धेरै गाउँमा पर्यटनकै लागि होमस्टेको विकासले गर्दा दुरदराजका गाउँहरुमा पनि पर्यटकहरु पुग्दछन ।
नेपाल आउने पर्यटकको ४५ प्रतिशत पर्यटक गण्डकी प्रदेशमा पुग्दछन । गण्डकी प्रदेशमा पर्यटनको क्षेत्रबाट कुल रोजगारीको १५ प्रतिशत मानिसहरुले रोजगार पाएका छन । अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि बाहृय मात्र होइन आजभोली आन्तरिक पर्यटकहरुको समेत रुचि बढदो छ । अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायत पर्यटकीय गन्तव्यमा बर्सेनी लाखौं पर्यटकहरु पुग्ने गर्दछन ।
गण्डकी प्रदेशमा मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, विन्दावासिनी, ढोरवराह, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी, व्यासपराशर क्षेत्र लगायतका धार्मिक तीर्थाटनका गन्तव्य पर्दछन भने ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण, तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरी, अन्नपूर्ण तथा मनास्लु हिमश्रृंखला र सो अन्तर्गत रहेका महत्वपूर्ण हिमालले गण्डकी प्रदेशको पर्यटनको महत्व बढाएको छ । विश्वकै अग्लो स्थानको मनाङको तिलिचो ताल, रामसारमा सुचिकृत पोखराका फेवा, बेगनास, रुपा लगायतका तालहरु, संसारकै सबै भन्दा गहिरो गल्छी, शाल्रि्राम पाइने कालिगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरु, सुन्दर ग्रामीण बस्ती, विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गका साथै बिभिन्न जातजातीहरुको मौलिक संस्कृतिहरु प्रदेशमा पर्यटनका गन्तव्यस्थल बनेका छन ।
पर्यटन भनेको आँफैमा बृहत क्षेत्र हो । भूगोल, मानिस, इतिहास, समुदाय, संस्कृति, विकास आदि धेरै विषयहरु पर्यटनभित्र पर्दछन । ग्रामीण पर्यटन पर्यटन भित्रको एउटा विशिष्ट र मौलिक विषयसँग सम्बन्धित विधा हो । ग्रामीण समुदायको मौलिक जीवन पद्धतीका बहुआयामिक पाटोहरुलाई जोडेर अध्ययन/अवलोकन र मनोरञ्जनको पक्षलाई विकास गर्दै त्यसैलाई आधारित बनाएर पर्यटन व्यवसायको विकास गर्नु नै ग्रामीण पर्यटन हो । ग्रामीण पर्यटनको विकासमा मुख्य भूमिका निर्वाह गर्ने हिस्सा भनेको समुदाय नै हो । समुदायसँग प्रत्यक्ष जोडिएका स्थानीय सरकारहरुले नीति निर्माण, योजना निर्माण, योजनाको कार्यान्वयन र समुदायमा सहजीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन ।
गण्डकी प्रदेशको जनजातिको भेषभुषा, संस्कृति, परम्परा मात्र नभएर सुन्दर हिमश्रृंखला, अन्नपूर्ण तथा धवलागिरी भू-परिधिहरु, हिमालदेखि तराइसम्म बग्ने नदी प्रणाली सहितका संरक्षित हरियाली डाँडापाखा, क्षेत्र पर्यटन विकासका लागि अवसर र सम्भावनाको स्रोत बनेका छन । अहिले पर्यटनको विकासका लागि प्रदेशका सबै जिल्लाहरुमा पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको खोजी संरक्षण र संस्कृति एवं परम्परालाई गाउँघरमा पर्यटनसंग जोडिन थालेका छन् । पुराना मठ मन्दिरहरुको संरक्षण गर्ने मात्र नभएर नयाँ निर्माण गर्ने क्रम पनि बढ्दै गएको छ । पछिल्लो समय गाउँ-गाउँमा पर्यटन लक्षित महोत्सव आयोजना भएका छन । महोत्सव आयोजनाले कतिपय घर परिवारमा पनि गाउँघरमा घुमफिर गर्नर्पर्छ भन्ने सोच उत्पन्न भएको छ ।
गाउँमा घुमफिर गर्दा मध्यमवर्गीय परिवारका लागि होटलभन्दा होमस्टेको बसाइ पनि सहज र सस्तो हुन्छ । होमस्टेको विकाससंग कृषि विकास पनि जोडिन्छ । लोकल कुखुरा, ढिंडो लगायत परिकार होमस्टेको विशेषता भएकाले रैथाने कृषि उपजको पर््रवर्द्धन हुन्छ । अबको पर्यटन भनेको जति पूर्वाधारको विकास गर्न सकियो त्यतीनै पर्यटकको संख्या बढ्दै जाने हो । पर्यटन जस्तो अति सम्वेदनशिल विषयलाई सस्तो प्रचारमात्र गरेर हुँदैन । पर्यटकहरुले घुमफिर गर्ने गाउँघरमा सुरक्षाको अनुभुति हुनु पर्दछ । स्वास्थ्य केन्द्र र सञ्चारको सुविधा हुनु पर्दछ । पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।
पर्यटन ब्यवसाय नीजि क्षेत्रबाट चल्ने हो । पछिल्लो समय पर्यटनको बिकासको लागि नीजि क्षेत्रको लगानी हुन थालेको छ । नीजि क्षेत्रको लगानीबाट पर्यटनलाई लक्षित गरी पर्यटन उद्योग र होटल स्थापना भएका छन् । नीजि क्षेत्रको लगानीमा फन पार्क, भ्युटावर, डि्रमपार्क लगात पर्यटनको पूर्वाधारमा नीजि क्षेत्रको लगानी भएको छ । पर्यटनको क्षेत्रमा नीजि क्षेत्र आकर्षण हुन थाले पछि पर्यटनको पूर्वाधार बढेको छ । घुमफिरको सँस्कृति विकास भएको छ । घुमफिरको संस्कृतिलाई क्यास गर्दै निजी व्यवसायीहरुले पर्यटनको क्षेत्रमा लगानी गर्न थालेका छन । प्राकृतिक रुपमा रहेका पर्यटकिय गन्तब्य निर्माण गर्न मानवीय श्रम र रकम खर्च गर्न परेको छैन । ती क्षेत्रमा पर्यटक पुर्याउन पूर्वाधार निर्माण भए मात्र पुग्छ । तर धेरै ठाउँमा पर्यटकहरुलाई आकर्षण गर्न भने पर्यटकलाई तान्न सक्ने स्थलहरु निर्माण गर्न पर्दछ ।
प्रत्येक गाउँका आ-आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरु छन । ती सबै पर्यटनका विषयहरु हुन सक्दछन। तिनीहरुलाई व्यवस्थित वा विकसित गरेर पर्यटनको विकास गर्न सकिन्छ । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ । अब गण्डकी प्रदेश भित्रका सम्भावना बोकेका क्षेत्रलाई प्राकृतिक, साँस्कृतिक, मानव निर्मित र मिश्रतिका आधारमा पर्यटन गाउँ बनाउन पर्दछ । गाउँघरमा कृषि क्षेत्रमा उत्पादन बढाउन पर्दछ । गाउँमा पुग्ने पर्यटकहरुलाई उत्पादित बस्तुहरु बिक्री गर्न सकियोस तब मात्र गाउँमा पनि पर्यटनको बिकास हुन्छ । पर्यटकहरुले आफु पुगेको गाउँठाउबाट केही न केही चिनो स्वरुप वस्तुहरु घरमा लैजान चाहन्छन । पर्यटनको विकास गर्नको लागि स्थानीय बासिन्दाहरुमा कला र शिपको विकास हुन जरुरी छ । जुन शिपबाट उत्पादन भएका वस्तु पर्यटकहरुलाई किनु किनु हुन सकोस र गाउँलेहरुलाई आयआर्जन हुन सकोस, गाउँमा उत्पादन भएका बस्तुले गाउँठाउँलाई चिनाउन सकोस। उनिहरुले उत्पादन गरेका वस्तुहरु पर्यटकहरुले किन्न सकुन । अनिमात्र हुन्छ गाउँमा पर्यटनको बिकास ।
गण्डकी प्रदेशको ग्रामिण क्षेत्रमा अहिले होमस्टेको प्रचलन बढदो छ। पर्यटकहरुका लागि होमस्टेमा पाहुना बनेपछि स्थानिय समाजको रहनसहन, सँस्कृति, बोलीचालीलाई नजिकबाट साक्षतकार गर्न पाइन्छ । त्यस्तै बास बसेको गाउँमा गाउँलेहरुसंग आत्मियता पनि मिल्छ। बास बस्दा होमस्टेमा एउटै परिवार जस्तै भएर बस्न सकिन्छ । गाउँमा स्थानिय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सघाउ पनि पुर्याइरहेको छ । खासगरी पर्यटकहरुका लागि व्यवस्थित होटल, लज नभएको गाउँ ठाउँमा होमस्टे राम्रो विकल्प पनि हो । पर्यटकहरुलाई होमस्टेले स्थानिय रहसनसहन र सँस्कृतिलाई नजिकबाट बुझ्ने मौका दिएको छ । तर, त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि केही कुरामा भने पर्यटकहरुले ध्यान दिनै पर्दछ । वास्तवमा होमस्टेमा बास बस्नु भनेको जुन पर्यटक हो उ अपरिचित घरमा पाहुना लाग्ने हो । त्यस घर र गाउँको रहनसहन, चालचलन सबै कुरा पर्यटकहरुलाई थाहा हुँदैन । त्यसैले होमस्टेमा जानुअघि सामान्य जानकारी भने लिनु पर्दछ ।
पर्यटकहरुले होमस्टेमा बास बस्दा शिष्टचार पालना गर्न जान्नु पर्दछ । पर्यटकहरुले सकेसम्म परिवारका सदस्यलाई साइनो लगाएर सम्बोधन गर्दा राम्रो हुन्छ । जसतै उमेर अनुसार काका, दाई, भाई, बहिनी, फुपु आदी । जुन कुराले होमस्टे सञ्चालकसँग निकट हुने अवसर दिलाउँछ। अर्को तर्फपर्यटकले साइनो अनुसार उचित व्यवहार गर्न पनि जान्न पर्दछ । आफु बस्ने कोठा, आफुले प्रयोग गर्ने बाथरुम सफा राख्न पर्दछ । जसरी पर्यटकहरुले उनीहरुको बोली व्यवहारको ख्याल गरिरहेका हुन्छन त्यसैगरी होमस्टे सञ्चालकहरुले पनि नव आगन्तुक पर्यटकको हरेक कुरामा निगरानी गरिरहेका हुन्छन ।
पर्यटकहरुले आफु बसेको होमस्टेका परिवारका सदस्यहरुसँग कुराकानी, भलाकुसारी गर्न जान्नु पर्दछ । कुरा गर्दा आफु पुगेको गाउँको विशेषता, दर्शनिय स्थान, रहनसहन, संस्कृति आदिको बारेमा चर्चा गर्दा राम्रो हुन्छ । कुराकानी गर्ने क्रममा एक आपसका नीजि कुराहरु पनि गर्न सकिन्छ । होमस्टेमा बास बस्दा होटलको जस्तो वातावरण, होटलको जस्तो व्यवहार खोजेर हुँदैन र पाइन्न पनि । किनभने होमस्टेमा पारिवारिक रहनसहनमा भिज्न सक्नर्ुपर्छ । सबै कुरा आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने वा आफ्नो सुविधा मात्र हेरेर हुँदैन । होमस्टेमा बस्दा धेरै थरीका खानेकुराहरु माग्न हुदैन। होमस्टे सन्चालक अर्थात परिवारले जे दिन्छ, जसरी दिन्छ, त्यसैलाई राजीखुसीसाथ स्विकार गर्नु पर्दछ । तर, कुनै कुराले समस्या भएमा विनम्रतापूर्वक अवगत गराउन सकिन्छ।
गण्डकी प्रदेशमा ग्रामीण पर्यटनको अथाह सम्भावना छ । घरबास पर्यटनप्रति धेरै गाउँठाउँका बासिन्दाहरु आकर्षित हुन थालेका छन् । समुदायमा पनि यसको क्रेज बढेर गएको छ । घरबासले न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकषिर्त गरेको छ ।