तनहुँको देवघाटमा कुम्भमेलाको सम्भावना र यस्ले दिने सन्देश

देव बस्न्यात

विषय प्रवेश 
वि.सं. १४६३ पूर्व विशाल खस सम्राज्यको अभिन्न अङ्ग रहेको गण्डकी प्रदेश कालन्तरमा विशाल पाल्पा राज्य र तत्पश्चात तनहुँको अधिनमा रहन गएको थियो । भाषा संस्कृति र व्यापार व्यवसायका माध्मले खसहरुले काठमाडौं उपत्यकासम्म आफ्नो प्रभुत्व जमाका कारण आफ्नो बिस्तारित राज्यको भूभाग भित्र आफ्ना हितधारी सेनाहरुलाई बसोबास गराउँदै लगे । धन्यै १०० वर्षको अन्तरालमा डोल्पाको साल्दम केन्द्र बनाएर आएको ८.८ रेक्टर स्केलको महाभूकम्पले शक्तिशाली खस साम्राज्य पूर्णत तितरवितर हुन पुग्यो । कुनैबेलाको समृद्ध सिञ्जा खस सम्राज्य, विशाल पाल्पा र चौबिसी राज्य तनहुँको पनि प्रमुख तीर्थस्थलको रुपमा देवघाट आज प्रयन्त जीवन्त राखेको छ ।
२, कुम्भमेला भन्नाले के बुझिन्छ ?
कुम्भको शाब्दिक अर्थ घडा सुरही अर्थात भाँडा कुँडा भन्ने जनाउँछ र मेला भन्नाले  कुनै स्थानमा मिल्नु, संगसंगै हिंड्नु र  विशेष स्थानहरुमा सामुदायीक रुपमा हुने कार्यक्रमहरुमा एकसाथ हुने जमघट र भेटघाटलाई बुझाउने गर्दछ । आदि सनातन वैदिक परम्परा, पूर्वीय दर्शन तथा वेद एवं पौराणिक मत अनुसार कुम्भ भन्नाले अमरता भन्ने जनाउँछ । वास्तवमा कुम्भमेला भन्नाले अमरत्व प्राप्तिका लागि हुने विशाल धार्मिक मेला तथा जमघटलाई बुझाउने कुरामा हामी विश्वस्त रहेका छौं ।
कुम्भ मेला विशेष गरेर सूर्य एवं चन्द्रमा  वृश्चिक राशी तथा वृहस्पति मेष राशीमा  प्रवेश गरेको बेला आयोजना हुने गर्दछ । उक्त समयलाई मकर संक्रान्ति भन्ने गरिन्छ। मकर सक्रान्तिको समय नै कुम्भ मेला स्नान गर्ने र मोक्ष धाम प्राप्तिका लागि मनाउने गरिन्छ । कुम्भ मेलाको सुरुआत यही दिन नै मङ्गलकारी भएको मानिने हुनाले नेपाली लोक चलन अनुसार यसलाई माघे सक्रान्ति भन्ने गरिन्छ ।
३,कुम्भ मेलाको कसरी सुरुआत भयो ?
देवभूमिमा राक्षसहरुले आधिपत्य जमाए पछि श्री विहिन बन्न पुगेका देवताहरुमा भयँकर छटपटी भयो । यत्रतत्र भौंतारिए  पनि । देवसत्ताबाट च्युत भएका देवताहरु  ब्रह्माको शरणमा पुगे । ब्रह्मा एवं इन्द्रादि सहितका देवी देवताहरु विष्णुको शरणमा पुगे । विष्णुले देवताहरुलाई राक्षसहरुसँग मिलेर क्षीरसागर मन्थन गरेर अमृत प्राप्त गरी अमृतको सेवनले अमरत्व प्राप्त गर्न सल्लाह दिए । वैज्ञानिक हिसावले पनि पहिले यस स्थानमा टेथिस सागर भएको र उतरी तथा दक्षिणी धूर्वको थिचाईले बिस्तारै हिमालको उत्पति भएको बताउँछ । यदि यो सत्य हो भने त्यो बेलाको सुमेरु पर्वत अहिलेको पञ्चकन्या देवी मन्दिर रहेको घुमाउनेघाटको पर्वत नै थियो । त्यही हुनाले अहिले पनि घुमाउनेघाटको तनहुँ तर्फको पर्वतलाई सुमेरु पर्वतको नामले सम्वोधन गरिन्छ । आखिर समुन्द्र मन्थन गर्ने देवताहरुको चाहानामा राक्षसहरुको पनि मत मिल्यो । दुबैथरीअमरत्व प्राप्त गर्न समुन्द्र मन्थन गर्न सहमत भए । समुन्द्र मन्थका लागि देवता र राक्षसहरु हाल आँबुखैरेनी स्थित घुमाउनेघाट स्थित सुमेरु पर्वतमा जम्मा भए । नागहरु नेती बन्न तयार भए। यहाँका पञ्च कन्याहरुले समुन्द्र मन्थमा सहयोग पु¥याउने वचन दिए ।
अन्ततः समुन्द्र मन्थन जस्तो कठिन कार्य शुभारम्भ भयो । देवता र राक्षसहरुले कल्पना गरेको भन्दा फरक स्थित प्रादुभाव भयो । सर्वप्रथम अमृतको सट्टामा समुन्द्रबाट हलाहल विष निष्कियो । हलाहल विषले बिघ्नबाधा सृजना गर्दै लग्यो । विष नष्ट गर्ने उपाय कसै गरी सुझेन । समुन्द्र मन्थनमा संलग्न देवता र राक्षसहरु सबैजना मिली भगवान शिवका समिपमा गए। हलाहल विषलाई शिवजीले पान गरे । विषले पीडित भगवान शिव गोसाईकुण्ड पुगेर त्रिशुलले पहाड भेदन गरी पानी निकाले । क्षणभरमा उक्तस्थान कुण्डमा परिणत भयो । त्यही कुण्डको नाम गोसाई कुण्ड रह्यो । गोसाईकुण्डको चिसो जलभित्र विश्राम गरेर भगवान शिवले विषको दाहलाई शान्त पारे। त्यही गोसाईकुण्ड अहिलको त्रिशुली नदीको मुहान हो । विष निस्कदैमा देवता र राक्षसहरु हरेश खाएनन् । लगातारको  समुन्द्र मन्थनको प्रयासले निस्किएको अमृतको घडा राक्षसहरुको हात लाग्ला भनेर देवताहरुको ईसारामा इन्द्रपुत्र जयन्तले आकास मार्ग हुँदै लमजुङको हिमचुली र बौद्ध हिमालको नजिक पुगेर अमृत घडा बिसाए ।
यहीबेला राक्षसहरुका गुरु शुक्राचार्यले देवताहरुले जालसाजी गरेका महसुस गरी राक्षसहरुलाई जयन्तबाट अमृत खोस्न आदेश गरे। राक्षसहरु पनि आकास मार्ग हुँदै हिमचुली र बौद्ध हिमालको काखमा पुगे । राक्षसहरुले अमृत घडा लैजालान भनेर हतारमा अमृतघडा उठाएर दौडँदा थोरै अमृत पोखिएकोले त्यहाँ दूधपोखरी नै बन्यो । राक्षसहरुले अमृतघडा लैजालान भनेर जयन्त आकाश मार्ग हुँदै मनास्लु हिमालको काखमा पुगेर अमृतको घडा बिसाए । त्यहाँ पनि राक्षसहरु आईपुगे। पुनः हतारमा जयन्तले अमृतघडा उठाएर दौडँदा छचल्किएको अमृत पोखिंएर त्यहाँ पनि अमृतरुपि दूधपोखरी नै बन्यो । ईन्द्रपुत्र जयन्त अमृतघडा बोकेर पुनः अन्नापूर्णा हिमालको बेस क्याम्प धुर्चुको लेख पुगे । जयन्त र राक्षसहरु बीच अमृतको घडा खोसाखोस भयो । अन्नपूर्ण हिमालको हिमश्रृंखलामा अवस्थित माछापुच्छ«े हिमालको हिमदहमा पौडी रहेको असला माछाको पुच्छरले अमृत घडालाई धक्का दिंदा अमृत घडा बेसरी छचल्कियो। त्यही धक्काले अमृतघडाको एक तिहाई अमृत पोखिन जाँदा अमृतको धारा नै बहँदा दुग्धमा नामको सेती नदी नै बन्न गयो भने अमृतका केही बुँदहरुले धूर्चुमा पनि ठूलो दूधपोखरी बन्न गयो । अमृत घडा आ–आफ्ना हात पार्नकै लागि देवता र राक्षसहरुको बीचमा अन्नापूर्णा पर्वत शिखरमा १२÷१२ दिनसम्म घमसान युद्ध भयो। युछ थामिने छाँटै आएन । एक आपासमा अमृत घडा खोसाखोस हुँदा स्वर्ग र पृथ्वीका बाह्र ठाउँमा अमृतका बुँदहरु खस्न पुगे । जहाँ जहाँ अमृत खसे त्यही स्थानमा कुम्भ मेलाहरुको आयोजना हुन पुगे ।
४, कुम्भमेला कहाँ कहाँ लाग्छ ?
अमृतका बुँदहरु खसेका ८ स्थान  मध्ये स्वर्गमा ८ स्थान र गङ्गाका मैदानी क्षेत्रका ४ स्थानहरुमा अमृतका एक एक बुँदहरु खसे। भारतको मैदानी खण्ड प्रयाग, हरिद्वार, उज्जैन र नासिक लगायतका चारस्थानमा अमृतका बुँद खसेको हुनाले धेरै पहिलादेखि कुम्भ मेला लाग्ने गरेको तर धर्तीको स्वर्ग मानिने नेपालका ८ स्थानहरु आवत जावतका कठिनताले कुम्भ मेलाहरुले निरन्तरता पाउन सकेनन् । ईन्द्रपुत्र जयन्तले  आकाश मार्गबाट अमृतघडा बोकेर दौडाउँदा  बनेको तर रुपि नौनीको पिण्ड नेपालको वराह क्षेत्रमा खसेको हुनाले प्राचीन हरिद्वारको रुपमा चिनिने नेपालको सुनसरीको चतराधाम स्थित वराहक्षेत्र परम्परादेखि कुम्भमेला लागेर लोपको संघारमा पुग्न लागेको भएता पनि वि.सं. २०५९ सालदेखि पुनः ब्यवस्थित रुपमा १२ वर्षे कुम्भ मेला लाग्दै आएको छ । चतराधाममा १२ वर्षे कुम्भमेलाको आयोजना  जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले विद्वानहरुसंग शास्त्रार्थ गरेर सुरुआत गराएका हुन् ।
५, देवघाटको सामन्य परिचय
वि.सं २०३२ सालसम्म तनहुँ जिल्लाको अभिन्न अङ्ग रहेको गैंडाकोट गाउँ पञ्चायत नवलपरासी जिल्लामा गाभिन गएपछि  देवघाट तनहुँ, चितवन र नवलपुर समेत तीन जिल्लाको सङ्गम स्थल बन्न पुगेको हो  देवघाट । देवघाटको सबैभन्दा पुरानो स्थल वागेश्वरी मन्दिर हो। भारतका चारधाम  हरिद्वार, प्रयाग, उज्जैन र नाशिक भन्दा पनि अति पवित्र एवं पावनभूमि मानिने देवघाट  मानिसहरुको मात्र नभएर देवताहरुको पनि पूण्यभूमि मानिन्छ। देवताहरुको कुम्भमेला लाग्ने स्थल आज मानिसहरुको कुम्भ मेलाको आयोजना हुन नसक्नु सातौं आश्चर्य मान्नु पर्दछ । देवघाटका वशिष्ठ गुफा, सीता गुफा, मणिमुकुन्दसेन चक्रेश्वर महादेव मन्दिर, वद्रीनाथ मन्दिर, केदारनाथ मन्दिर, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, गलेश्वर सन्यास आश्रम, अघोर बाबा आश्रम, सीताराम मन्दिर, पशुपतिनाथ मन्दिर, गैंडाकोटको  मौलाकाली मन्दिर, घण्टाचुली दरवार आदि शंकराचार्य मन्दिर, गणेश मन्दिर, बौद्ध गुम्बा लगायतका मठमन्दिरहरु यहाँका शोभाहरु हुन भने वि.सं. १५७५–१६१० सम्मका पाल्पाली राजा मणिमुकुन्द सेन, डा स्वामि आत्मानन्द गिरी, डा. स्वामी रामानन्द गिरी, डा. स्वामी रमणानन्द गिरी, डा. गुरुप्रसाद सुवेदी लगायतका यहाँका मठाधीशहरु यहाँका शोभायमान रत्नहरु हुन् ।
मरणोपरान्त आत्मा रूपि शरिरलाई स्वर्ग सरहको लोकको निवास प्राप्त हुन सकोस भनेर देवघाट पुग्न नसक्ने हरेक नेपाली तीर्थयात्रीहरु आ–आफ्नो पायक पर्ने नेपालका हरेक नदीका संगमस्थल मानिने वेनी तथा त्रिवेनीहरुमा माघे संक्रान्तिका दिन माघी मेलामा स्नान गर्न जाने गर्दछन्। तनहुँका भिमाद, दमौली, तार्कुघाट, चेपेघाट, रामघाट, सराङघाट, घुमाउनेघाट, गाईघाट, घुमौरीघाट गडगडीघाट, पुट्टारघाट, केलादीघाट र देवघाटमा ठूलो मेलाहरु लाग्ने गर्दछ । अझ विशेष गरेर देवघाटमा देवताहरुको पनि हाटमेला लाग्ने भएकाले देवहाट तथा देवाट पनि भन्ने गर्दछन् । त्यही देवहाट, देवाट हुँदै अहिले यो स्थानको नाम देवघाट हुन पुगेको हो । देवघाटको पूर्व तर्फबाट बगेर आउने त्रिशुली नदीमा सेती र त्रिशुली मिसिए पछि भागिरथी नदीको नामले पुकारिने गरिन्छ । त्यही त्रिशुलीनदी काली गण्डकी मिसिए पछि नै नारायणाी तथा शप्तगण्डकी नामले चिन्ने गरिन्छ। भगवान विष्णुरुपि नदी कृष्णा गण्डकी र भगवान शिवको शिवाशरुपि त्रिशुली नदीको मिलन विन्दु पनि यही देवघाट हो । यसैले मानिस, देवता र राक्षस लगायत सबैको कुम्भ मेला लाग्ने स्थान केवल देवघाट मात्र हो भनेर किटान गर्न सकिन्छ । बाह्रमगरात भित्रको पवित्र स्थल देवघाटमा माघे संक्रान्तिका दिन तरुल, सक्खर, पिंडालु, भ्याकुर, तिलौरा, मस्यौरा लगायतका विशेष विशेष प्रकारका कन्दमूलहरु खाएर यस पर्वलाई धुमधामका साथ मनाउने गरिन्छ ।
६, देवघाटमा कुम्भमेला लाग्न सक्ने  केही आधार ?
तनहुँमा मादी नदीले बनाएको उपत्यका छ । त्यसैगरी चितवनको दक्षिणमा अवस्थित चुरे र चारकोशीझाडी अर्थात राष्ट्रिय निकुञ्जको आडैमा रहेको रिउखोलाको उपत्याका माडी छ । ड र द समान अर्थवोधक अक्षर भएकोले कहिले कुन र कहिले कुन अक्षर उच्चारण हुन पुग्दछ । यही बीचको चितवन जिल्लालाई अहिले पनि मधेश भनेर पुकारिन्छ । मधेश मध्यदेशको अपभ्रंश हो । यही मध्यदेश अर्थात चितवन र तनहुँको बीचको धुमाउनेघाटको पर्वतलाई सुमेरु पर्वत मानिन्छ । त्यही सुमेरु समुन्द्र मन्थनको प्रकृयामा मदनीको भूमिकामा रहेको थियो । नागको नेती र सुमेरु पर्वतको मदनीको सहायताले समुन्द्र मन्थनपछि निस्किएको अमृत देवता र राक्षसहरु बीच खोसाखोस हुँदा भगवान विष्णु मोहिनी रुप धारण गरी युद्धस्थल भएको अन्नपूर्णा महनाङ (मनाङ) धुर्चुमा पुगे । दुबै पक्षलाई आफैले बराबर अमृत बाडिदिने सर्तमा विष्णुले अमृतको घडा आफ्नो हात पारे । तत्कालै भगवान विष्णुले देवताहरुलाई अमृत र राक्षसहरुलाई सुरा बांडी दिए। धुर्चुको लेकको ठूलोदूधपोखरीबाट बहने अमृतयुक्त खोला, मेमेपोेखरी र वाराहीपोखरी नजिकको दूधपोखरीबाट बहने दोर्दी खोला, हिमालचुली र बौद्ध हिमालको काखको दूध पोखरीबाट बहने चेपे समेत तीन तीनवटा अमृतधारालाई आफुमा समाहित गर्दै त्रिशुलीमा विलय हुने मस्र्याङदी नदी माछापुच्छ«े हिमाल, पोखरा र दमौली हुँदै आउने दुग्धभा नाम गरेकी सेती नदीले मादीलाई दमौलीमा समाहित गर्दै गाईघाट नजिकको घुमाउनेघाटको पञ्चकन्या मन्दिरमा अवस्थित सुमेरु पर्वत नजिकमा आएर एक आपसमा मिल्दछन्। अमृतका धारा भएर बहेका सेती र त्रिशुलीको संयुक्त जलाधारलाई भागिरथी अर्थात अमृतमयी नदी भनिन्छ । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी र  दामोदर हिमालबाट अमृतमय जलधारा बोकेर बहेकी मस्र्याङदी त्रिशुलीका साथ देवघाटमा मिलन  हुन पुगेकाले  देवघाटलाई धरतीकै मूल तीर्थस्थल मानिन्छ ।
यसैगरी पारकोट राज्यको दमौलीमा अमृतको बुँदमात्र नभएर अमृतरुपी दुग्धभा नाम गरेको श्वेत गंगा र यमुना रुपि मादी गँगाको बेनीमा वेदशास्त्रका प्रवर्तक महर्षि वेदव्यासको जन्म भएको र ऋषि विभाण्डक पुत्र महर्षि श्रीङ्गीको व्यासत्वमा उहाँकै तपोभूमि ऋषिङको साराङघाटमा भएको पुत्रकामेष्टि यज्ञका प्रभावले त्रेतायुगका नरेश दशरथका राम सहित चार÷चार पुत्रको जन्म भएकोले पनि यो क्षेत्रअति पवित्र तीर्थस्थल मानिन्छ। त्रेता युगका अयोध्या नरेश दशरथको राज्य चितवनको अयोध्यापुरी नै हो भन्ने मानियो भने पनि अयोध्या नरेश  दशरथपुत्र रामको रामराज्य अन्तरगत देवघाट पक्कै पर्दछ। देवघाटमा सीता गुफा र वशिष्ठगुफा भेटिनुले  परापूर्व कालदेखि देवघाट सनातनीहरुको तीर्थस्थल थियो भन्ने पुष्टिकरण गरेको मान्न सक्दछौं । पाल्पाका राजा मुकुन्दसेनले पाल्पाको राज्य त्यागे पछि धर्मात्मा बनि १२ वर्षसम्म सन्त महन्त बनेर देवघाटमा नै बसेका थिए । यही बेलामा राजा मुकुन्द सेनले देवघाटमा पटकपटक १२ वर्षे कुम्भमेला लगाएका थिए । कुम्भमेला लगाएका राजा मुकुन्द सेनले अन्ततः यही देवघाटमा जलसमाधी लिए । यो मेलालाई यहाँका अरु राजाहरुले निरन्तरता दिए ।
एकपटक पृथ्वी नारायण शाहको भित्रनी रानी काशीबासको लागि जाँदा देवघाटको माघी मेलामा स्नान गरेर जाने ध्येयले देवघाट पुगिन । देवघाटमै रहेका राजा त्रिविक्रम सेनले गोरखाकी भित्रिनी रानी बसेको डोलीको घुम्टो उठाई रानीको अनुहार  हेरेको घटनाले तनहुँ र गोरखाको सम्वन्ध बिगरिन गई त्रिविक्रम सेनले नुवाकोटमा बन्दी जीवन बिताउन परेको इतिहास साक्षि छ । यसैले पनि देवघाटमा यस पूर्व पनि मेलाहरु आयोजना हुने गर्दथे भन्न सहयोग पु¥याउँछ । सन् १७५६ को आसपास देवघाट पुगेका पादरी ट्रयाङकुलो ले देवघाटमा एक महिना भन्दा बढी समय मेला लाग्ने कुरा आफ्नै दैनिकीमा उल्लेख गरेको र बृटिस सरकारलाई जानकारी गराएको इतिहास प्राप्त भएको छ । केही वर्ष अगाडि देवघाटमा कुम्भ मेला लाग्ने घोषणा भयो, लाखौं भक्तालु पुगे तर माघी मेलामै सिमित रह्यो । यी त भए झिना–मसिना टिपटाप अर्काे लेखमा शास्त्रीय मत समेटने प्रयास हुने नै छ ।
अन्त्यमा, वराह क्षेत्रको चतराधाममा जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले नेपालमा सुरुआत गराएको कुम्भ मेलाले नेपाली नेपाली बीच एकता कायम गराउने र तीर्थव्रत र धर्मका नाउँमा विदेशिने रकम रोकथाम गर्न मद्दत पुराएको विश्वाश गरिएको छ । यसैगरी अब चितवन देवघाटमा पनि कुम्भ मेलाको आयोजना गर्न सकियो भने यहाँ लाग्ने कुम्भ मेलाले हाम्रो देशमा हराउँदै गएको धर्म संस्कार संस्कृतिको जगेर्ना गर्न र देशलाई पुनः सनातनी राष्ट्रले शुशोभित गराउनका लागि स्वदेश तथा विदेशबाट आउनुहुने जगतगुरु शंकराचार्य र धर्माचार्याहरुबाट यहाँ  गरिने धर्मसभा, शास्त्रार्थ, कोटीहोम, वेदपाठ, पुराणवाचन र प्रवचनहरुले  पुनरुत्थान हुने विश्वास रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker