तनहुँका विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा व्यक्तिहरूद्वारा आर्थिक सहयोग

तनहुँ : रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तनहुँका विभिन्न संघसंस्था, शैक्षिक संस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् ।
बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले तनहुँबाट विभिन्न माध्यममार्फत सहयोग रकम संकलन गरी प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
आदिकवि भानुभक्त क्याम्पसले बाढीपीडितको उद्धार तथा राहतका लागि रु. १ लाख ३५ हजार ४६२ सहयोग गरेको छ । क्याम्पस परिवारका तर्फबाट संकलन गरिएको उक्त रकम बुधबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको क्याम्पसले जनाएको छ ।
पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल, आदिकवि भानुभक्त क्याम्पस इकाइको पहलमा क्याम्पस सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको थियो । क्याम्पस इकाइका अध्यक्ष सह–प्राध्यापक राजन घिमिरेका अनुसार सञ्चालक समिति पदाधिकारी तथा सदस्यबाट रु. ११ हजार ५५५, प्राध्यापकबाट रु. १ लाख ३ हजार २८३ र कर्मचारीबाट रु. २० हजार ६२४ संकलन भएको हो ।
यसैगरी, नेपाली कांग्रेस भिमादका नगर सभापति अरविन श्रेष्ठले रु. १ लाख ५० हजार ७८० सहयोग गरेका छन् । श्रेष्ठले आफ्ना दाजुभाइ, दिदीबहिनी तथा परिवारका सदस्यहरूबाट रकम संकलन गरी बिहीबार तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई सहयोग रकमको भौचर हस्तान्तरण गरेका हुन् ।
रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले अझै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन तथा खोजीमा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न सरकारसँग माग गरेका छन् ।
सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को समयमा गरिएको सहयोगले पीडितको राहत तथा उद्धारमा महत्वपूर्ण योगदान पुग्ने बताए। श्रेष्ठ नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यरत्न श्रेष्ठका छोरा हुन्।
त्यस्तै, निर्माण व्यवसायी संघ तनहुँले रु. १ लाख १ हजार सहयोग गरेको छ । संघले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
राष्ट्रिय विपद्को कठिन घडीमा पीडितको पीडामा साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको संघका कोषाध्यक्ष सुरेश घिमिरेले जानकारी दिए ।
यसैगरी, व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयले रु. १ लाख १० हजार ८० आर्थिक सहयोग गरेको छ । विद्यालय परिवारको सामूहिक पहलमा विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त योगदानबाट उक्त रकम संकलन गरी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि प्रदान गरिएको विद्यालयले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा पीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दै सञ्चालन गरिएको सहयोग अभियानबाट संकलित रकम आर्थिक सहयोग मात्र नभई विद्यालय समुदायको करुणा, एकता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको विद्यालयको भनाइ छ ।
त्यस्तै, व्यास नगरपालिका–४ दमौलीस्थित दमौली मुस्लिम समाजले रु. १ लाख ५ सय सहयोग गरेको छ। समाजले दमौली मुस्लिम अन्जुमन कमिटीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई सहयोग गर्न समाजका दाजुभाइ तथा दिदीबहिनीबाट रकम संकलन गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीले जनाएको छ। कमिटीका सचिव मन्सुर अहमदले विपद्को यस घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पछिल्लो समय तनहुँमा विभिन्न संघसंस्था, शैक्षिक संस्था, व्यवसायी तथा सर्वसाधारणले राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम बढेको छ । पीडितको उद्धार, राहत र पुनःस्थापनामा राज्यको प्रयाससँगै नागरिकस्तरबाट भइरहेको सहयोगले विपद्मा सामाजिक एकता र मानवीय संवेदनाको सन्देश दिएको छ ।










