हाम्रो पत्रकारिता र आवाजविहीनहरुको आवाज

के.बि. मसाल

पत्रकारिता पढने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो, आवाजविहीनहरुको आवाज । यसको मतलब हो, पत्रकारिता आवाजविहीनहरुको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन, जो सीमान्तकृत छन, जसलाई राज्यका विभिन्न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न सकिन्छ ? कसैले आफ्नो अधिकार हनन ग¥यो भने न्याय खोज्न कहाँ जाने भन्ने थाहा छैन, ती मानिसहरु आवाजविहीन हुन् । पत्रकारिताको विद्यार्थीले आफू पत्रकार भएपछि सीमान्तकृत व्यक्तिका आवाजको प्रतिनिधि भएर काम गर्छु भन्ने कबुल गरेको हुन्छ ।
पत्रकारिताको विद्यार्थीलाई पढाइको सुरुतिरै पत्रकारिताका कार्यहरु पनि पढाइन्छ, जसमा पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्ने पर्छन् । यसैलाई अंग्रेजीमा इन्फर्म एजुकेट र इन्सपायर भनिन्छ । पत्रकारिताका यी कामहरु पनि समाजमा भएका आवाजविहीनहरुलाई सशक्तिकरण गर्नतर्फ लक्षित छन् । पत्रकारिताको अर्को महत्वपूर्ण काम भनेको राज्यका निकायलाई सर्वसाधारण जनताप्रति उत्तरदायी र जवाफदही बनाउने पनि हो। उत्तरदायी भनेको सर्वसाधारणले गरेका प्रश्नहरुको उचित जवाफ दिने र गुनासोहरुलाई सम्बोधन गर्ने हो । जवाफदेही भनेको राज्यका निकायले गलत गरेको रहेछ भने त्यस्तो काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, गल्ती सच्याउने र सुध्रिएर अगाडि बढने पनि हो । यसरी पत्रकारले एकातिर सर्वसाधारणलाई सुसूचित, सचेत र उत्प्रेरित गर्ने अर्कातिर राज्यका निकायहरुलाई जनताको हितमा काम गर्न दबाब दिने अपेक्षा गरिन्छ । हरेक पत्रकार यी दुई भूमिकामा अब्बल साबित हुन सकेमा मात्रै पत्रकारिताले राज्यको चौथो अंग अर्थात सरकार, संसद र न्यायपालिका पछिको महत्वपूर्ण निकायको भूमिका निर्वाह गर्न सक्दछ ।
तर हाम्रो पत्रकारिता हामीले सोचेजस्तो वा अन्तर्राष्ट्रिय सिद्धान्तहरुले विवेचना गरे जस्तो छैन । यसका विविध कारणहरु होलान, तर पहिलो कारण पत्रकारको चाकरी प्रवृति हो । पढने बेलामा आवाजविहीनहरुको आवाजलाई प्राथमिकता दिनु पर्ने कुरा पढेका भए पनि कतिपय पत्रकारको व्यवहारमा त्यस्तो देखिँदैन । कुनै पत्रकार फूलको गुच्छा र खादा बोकेर नेतालाई एयरपोर्टमै स्वागत गर्न पुग्छ, नेतालाई सञ्चो भएपनि, विसञ्चो भएपनि, बोलाए पनि, नबोलाए पनि पत्रकार बनेर उनीहरुका अघिपछि रहन रुचाउँछ। आफूले चिनेको कुनै नेता सानोतिनो पदमा पुग्यो भने पनि राष्ट्रसंघकै महासचिव भएजस्तो गरेर सार्वजनिकरुपमै स्तुति र प्रशंसा गाउँछ वा आफूले काम गर्ने अखबारमै फोटोसहित शुभकामना र स्वागतका शब्दहरु चढाउँछ भने उसले पत्रकारिता होइन, चाकरी गरिरहेको छ ।
पत्रकारिताको सिद्धान्त, मर्यादा र आचारसंहितामा बाँझिने कुनै पनि पेसा व्यवसायमा पत्रकार संलग्न हुनुहुँदैन । पत्रकारको राजनीतिक संलग्नता र पूर्वाग्रह त झन् हुनै हुँदैन । कुनै पत्रकार एउटा सञ्चार संस्थामा काम गर्दछ । त्यहाँको परिचयपत्र र आपतकालमा लगाउने ज्याकेट प्रयोग गर्छन् । सञ्चार संस्थाको परिचयपत्रका आधारमा सूचना विभागबाट दिइने पत्रकार परिचयपत्र लिन्छ । तर, गोप्य वा सार्वजनिकरुपमा विभिन्न राजनीतिक समूह, नेता वा कार्यकर्ताको तलबी प्रेस सल्लाहकार बस्छ । त्यस्तो व्यक्तिले पत्रकारिता होइन, प्रोपगन्डा मात्रै गर्न सक्छ। उसको काम आफूले लाभ प्राप्त गर्ने संस्थाका कमजोरीहरुलाई लुकाउने र व्यक्ति वा संस्थाका बारेमा बढाइचढाइ गरेर उनीहरुको सार्वजनिक व्यक्तित्व निर्माण गर्ने हो । यस्तो भूमिकामा रहेका व्यक्तिहरु पेसेवर सञ्चारकर्मी त हुन् तर पत्रकार होइनन् । यदि पत्रकारकै रुपमा तिनै राजनीतिक दल वा व्यक्तिका समाचारर रिपोर्टर र अन्तर्वार्ता ल्याइरहेका छन् भने त्यो तटस्थ हुँदैन । पूर्वाग्रही हुन्छ। उनीहरुको काम अरु सञ्चारमाध्यममा पनि त्यस्तो समाचार प्रकाशन र प्रसारण नगर्न दबाब दिन्छन् । अर्थात् पत्रकार भएको मान्छेले वास्तविक पत्रकारितालाई गर्भमै तुहाउँछ । यो झन खतरनाक प्रवृति हो ।
विचार नभएको पत्रकार हुँदैन भन्दै केही राजनीतिक दलका भ्रातृसंगठनमा लागेर आफूलाई ‘पत्रकार’ भनाइरहेका छन् । उनीहरुको काम आफू सम्बद्ध राजनीतिक दल वा नेताहरूको प्रचारप्रसार गर्नु हो । त्यस्तो पत्रकारले आफू संलग्न राजनीतिक दलका नेताको सार्वजनिक छविको प्रचारप्रसार हुने किसिमका समाचार लेख्छ । उनीहरुले गरेका गल्तीमा आँचा चिम्लिन्छ। बरु उनीहरुले आफूइतर पार्टीको भने जमेरै आलोचना गर्छन् तर त्यस्तो आलोचना तथ्यपरकभन्दा पनि प्रायोजित र रणनीतिक हुन्छ । अझ चुनावका बेला यस्ता पत्रकारले सर्वसाधारणको विवेक र चेतना ध्वस्त पार्छ । पत्रकार भनिएको व्यक्ति कुनै नेता–कार्यकर्ताको वा कुनै उच्चपदस्थ कर्मचारी वा पदाधिकारीको जनसम्पर्क अधिकृत जस्तो भएको छ । उनीहरुका आलोचना र त्रुटिहरुलाई लुकाउने र राम्रो छविको बजारिकरण गर्ने । त्यस्तो व्यक्तिले स्थानीय तहका वास्तविक आवाजविहीनहरुलाई चिन्दैन ।
यस्ता गतिविधिलाई पार्टीकारिता भन्न पनि सकिएला तर यसले पार्टी भित्रका असंगत गतिविधिहरुलाई तटस्थ आलोचना गर्ने र पार्टीको गुणात्मक विकास गर्ने हैसियत राख्दैन । यो त एक किसिमको वफादारकारिता मात्रै हो । यस्ता वफादार पत्रकारलाई आफ्नो पार्टीको सरकार आएपछि प्रेस काउन्सिल, सञ्चारमन्त्रालय, सूचना विभाग वा सरकारी सञ्चार संस्थाहरुको ठाउँमा पुग्ने आश्वासन दिइएको हुन्छ । यस्तो पत्रकारले अन्तर्वार्ता लिँदा पनि आफूले चिनेजानेको वा आफूले समर्थन गर्ने राजनीतिक दलको नेता रहेछ भने सतही प्रश्न गर्छ । औपचारिकता निभाउँछ। उसलाई जोगाउन खोज्छ । अझ कतिपय त त्यस्ता नेता कार्यकर्ताको बचाउमा निवस्त्रै भएर मैदानमा उत्रिन्छन् । उनीहरुसँग तथ्याङ्क र तर्क हुँदैन, मिथ्यांक र कुतर्क गर्छन् । जसरी राजनीतिक गर्ने शिक्षकले शिक्षाको गुणस्तर धुलिसात् पारेका छन जसरी राजनीति गर्ने न्यायाधीशले न्याय मारेका छन जसरी राजनीति गर्ने प्रहरीले आफ्नो पदीय दायित्व निर्वाह गर्न सक्दैनन त्यसैगरी राजनीति गर्ने पत्रकारले पनि तटस्थ पत्रकारिता गर्न सक्दैन ।
पत्रकारको क्षमता र सफलता भनेको सूचना खोज्नु, पत्ता लगाउनु र सार्वजनिक गर्नु हो। पत्रकार कुनै पनि विषयको विज्ञ होइन । उसले कुन कुरा ठीक र बेठीक भनेर छुट्टाउने होइन । जे घटना र तथ्य छ, त्यही सार्वजनिक गर्ने हो । घटना र तथ्य विश्वमा कति हुन्छन कति । जुन तथ्य समाचार बन्न योग्य छन, त्यही तथ्यलाई लिने हो । समाचार बन्नका लागि धेरै मानिसलाई जानकारी नभएको नयाँ लाग्ने तथ्य हुनुपर्छ । अन्तिम सत्य के हो ? कसैलाई थाहा हुँदैन । उपलब्ध तथ्यका आधारमा अहिलेसम्मको सत्य यो हो भनेर मान्नुपर्छ । त्यसैले पत्रकारको काम तथ्यहरु सार्वजनिक गर्दै जाने हो, सत्य यही हो भनेर निष्कर्ष निकाल्ने होइन । कुन घटना र तथ्य समाचार हुन्छ भनेर थाहा पाउने गुण पत्रकारमा हुनुपर्छ । अडियन्सको रुचि चिन्नु नै पत्रकारको गुण हो। जुन तथ्य समाचारका रुपमा सार्वजनिक गरिन्छ, त्यसको अडियन्स नै भएनन भने पत्रकारको प्रयास व्यर्थ हुन्छ । घटनालाई कुन कोणबाट हेर्दा समाचार बन्छ भन्ने गुण पनि पत्रकारमा हुनुपर्छ । एउटै घटना कुनै पत्रकारले महत्वपूर्ण समाचारको रुपमा देख्न सक्छ, कुनैले सामान्य समाचार र कुनैले समाचार नै होइन भन्न सक्छ । समाचार बनाउने नाममा घटनालाई तोडमोड गर्न भने पाइदैन ।
पत्रकारको मूल धर्म नै निष्पक्षता र निरपेक्षता हो । पत्रकारले पीडितको पनि पक्ष लिनुहुँदैन । यो धर्म पालना गर्दा दुर्घटनामा पनि कठोर हृदय बनाउनुपर्ने हुन्छ । पीडित र पीडक भनिएका दुवै पक्षका भनाइ समाचारमा समावेश हुनुपर्छ । पीडित र पीडक छुट्टाउने अधिकार न्यायलयलाई मात्र हुन्छ, पत्रकारलाई हुँदैन। घटना र तथ्य धेरै हुन्छन । त्यसमध्ये कुन कुन घटना र तथ्यलाई समाचारको रुपमा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा पत्रकारले पूर्वाग्रह र बदनियत राख्ने सम्भावना हुन्छ। यहींनेर व्यावसायिक धर्मको महत्व हुन्छ। समाचार जहिले पनि सन्तुलित हुनुपर्छ । सत्यतथ्य समाचार प्रस्तुत गर्नु मात्रलाई पत्रकारको धर्म मानिंदैन । निष्पक्षता र सन्तुलन हुनैपर्छ। विभिन्न धारका सत्यतथ्य हुन्छन । एउटा धारको मात्र तथ्य प्रस्तुत गर्दा पत्रकारले झुटो समाचार दिएको त देखिंदैन तर वास्तवमा उसले धर्म निर्वाह गरेको हुँदैन । समाचार सामग्री समावेशी पनि हुनुपर्छ । विभिन्न स्थानमा मानिसहरुका विभिन्न प्रकारका पीडा र समस्या हुन्छन। ती सबैको प्रतिनिधित्व गराउन प्रयत्न गर्नुपर्छ। पत्रकारिता आवाजविहीनहरुको आवाज हुनुपर्छ ।
नेपालमा पछिल्लो समययता राजनीति र नेतामा जति मानिसमा अविश्वास गर्दछन । त्यति नै पत्रकारिता र पत्रकारहरुमा अविश्वास बढेको छ । पत्रकारको छवि विदेशी राजदूतावासको जागिरे, राजनीतिक दलको भरिया तथा भ्रष्ट शासक–प्रशासक र दलाल व्यापारीको भरौटेका रुपमा स्थापित भएको छ। दलका नेतादेखि प्रतिनिधिसभाका सभामुखसम्मले सार्वजनिक रुपमा आलोचना गर्नुपर्ने पात्रका रुपमा प्रेस जगत बदनाम छ । हिजो लोकतान्त्रिक शासकीय प्रणालीका लागि मोर्चाबन्दीका साथ आन्दोलन गर्ने प्रेस जगत आज अराजकता र स्वच्छन्दतालाई नै प्रेस स्वतन्त्रता ठानिरहेको छ । अहिले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ । लोकतन्त्रको बलियो सूचक स्वतन्त्र प्रेस हो । जुन मुलुकको राजनीतिक शासन व्यवस्थाले प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैन, त्यहाँ लोकतान्त्रिक प्रणाली छ भनेर मान्न सकिन्न । नीति तथा कानुनी प्रावधानका दृष्टिले नेपाली प्रेस जगत सुन्दर र सफल देखिन्छ । तर, व्यवहार हेर्दा उत्तिकै निराशाजनक पनि देखिन्छ । अझै पनि धेरै पत्रकारहरुले नियुक्तिपत्र पाएका छैनन् । राजनीतिक दलसँग आबद्ध रहेका पत्रकारका संगठनको सदस्य नलिई पत्रकारले नेपाल पत्रकार महासंघको चुनाव जित्न सक्तैन । वषौ काम गरे तापनि न्यूनतम पारिश्रमिकसम्म पत्रकारहरुले पाउन सकेका छैनन् ।
सत्य बाहिर ल्याउन, हरेक व्यक्तिलाई आ–आफ्नो जिम्मेवारीप्रति सजग गराउन प्रेस स्वतन्त्र र प्रभावकारी हुनु आवश्यक छ । एक आदर्श लोकतान्त्रिक व्यवस्थामा नागरिकको सर्वोच्चता, स्वतन्त्र र स्वच्छ निर्वाचन, हरेक नागरिकको व्यक्तिगत अधिकारको सुरक्षा आवश्यक मात्र नभएर आधारभूत मानिन्छ । यी सिद्धान्तको परिपालनाका लागि स्वतन्त्र प्रेस अनिवार्य हुन्छ । किनभने स्वतन्त्र प्रेसले नै सत्यका लागि आवाज उठाउँछ र आम नागरिकलाई सचेत पार्दछ । समाजमा सत्य हो कि असत्य हो भनेर सहज ढंगले छुटयाउन नसकिने मुद्दाहरु पनि हुन्छन । पत्रकारमै त्यस्तो विश्लेषणको क्षमता हुन्छ जसले सत्य–असत्यबीच सीमा कोरिदिएर आम जनतासमक्ष यथार्थ राखिदिन्छ। आम जनता स्वयंमा जटिल घटनाको विश्लेषण गर्ने योग्यता मात्र नहुनसक्ने होइन, समय र स्रोत–साधन पनि हुँदैन । सत्य परीक्षण गर्ने विधि र सीप पत्रकारमै हुने भएकाले उनीहरु स्वतन्त्र र अनुशासित दुवै हुनु आवश्यक हुन्छ ।
स्वतन्त्र प्रेसले नै शासन–सत्तामा रहेका व्यक्तिहरुलाई उत्तरदायी बनाउँछ । सत्तामा रहेका व्यक्तिमा भ्रष्टाचार गर्ने प्रवृत्ति प्रायः स्वाभाविक हुन्छ । उनीहरुलाई इमानदार बनाउने उपाय भनेको पारदर्शिता नै हो । सत्ताधारीहरुलाई पारदर्शी बनाउन स्वतन्त्र प्रेस सक्रिय हुनु आवश्यक हुन्छ । प्रेस जगत्को प्रमुख काम निगरानी भएका कारण सत्ताधारीमाथि निगरानी गर्न स्वतन्त्र निकायको उपस्थिति चाहिन्छ नै। यदि प्रेस स्वतन्त्र र इमान्दार छैन भने त्यो शक्तिको विस्तार मात्र हुनजान्छ । नेपालको सन्दर्भमा कतिपय प्रकाशन–प्रसारण गृहहरु शक्तिका विस्तार मात्र सावित भएका छन। शासन–सत्तामा रहेका व्यक्तिबाट भ्रष्टाचार मात्र होइन, मानवअधिकारको पनि हनन भइरहेको छ । अमानवीय व्यवहार, हिंसा र अन्य असामाजिक घटना भइरहेका छन सत्तामा रहेका व्यक्तिको बदमासीकै कारण शासन व्यवस्थाप्रति नै जनताको विश्वास स्खलित भएको छ । जनता निराश छन उपनिवेश र राष्ट्रिय पराधीनताको त्रास बढेर गएको छ । स्वतन्त्र प्रेसले शासन–सत्तामा रहेका व्यक्तिको निगरानी ठीक किसिमले गर्न सकेको भए राष्ट्रियता माथिको आघात मुलुकले सहनुपर्ने थिएन ।
पछिल्लो समय पत्रकारिता लगाम बिनाका घोडा जस्तै बन्दै गएको छ । आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग गरिँदा यसको गरिमामा आँच आउन थालेको महशुस भएको छ । दलगत रुपमा विभाजित भएका पत्रकारहरुले आफ्नो दलका एजेण्डा अनुकूल पत्रकारिता गर्दा आवाजविहीनहरुको आवाज भन्ने पत्रकारिता आज ठिक विपरीत भएको छ । पत्रकारिता सत्ता पक्षाको स्थायी प्रतिपक्षको रुपमा हेर्ने गरिए पनि पछिल्लो समय पत्रकारिता सत्ताकै वरिपरी घुमेर उसकै ढाकछोप गर्ने निकाय बन्दै गएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker