आँबुखैरेनी गाउँपालिकाको आठौं गाउँसभा : दुइवटा विधेयक पारित

चालु आवको हालसम्म सम्पादित कार्यक्रमको प्रगति विवरण सार्वजनिक

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको आँवुखैरेनी गाउँपालिकाले आठौं गाउँसभा सोमबार सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा भएको गाउँसभामा दुइवटा विधेयक पारित गरिएको छ। गाउँसभाले ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्छी पकेट क्षेत्र प्रवर्द्धन सहयोग कार्यक्रम संचालन निर्देशिका, २०७७ सम्बन्धी विधेयक पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी गराएका छन् ।

यस्तै गाउँसभाले आवधिक योजना निर्माण, १ वडा, बजार क्षेत्रमा हरित वेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रुपमा संचालन हुनेगरि वहुउद्देश्यीय भवन निर्माण कार्य प्रारम्भ गर्ने, प्राप्त स्रोतका आधारमा प्राथमिकता प्राप्त योजनाहरुलाई छनौट गरी कार्यन्वयन गर्ने निर्णय गरेको बताइएको छ । गाउँसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेट समेत पारित गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म पूर्वाधार निर्माण तर्फ प्रशासकीय भवनको निर्माण अन्तिम चरणमा पुराएको छ । फागुन मसान्तभित्र उक्त भवनबाट कार्य सन्चालन हुने गरी भवनको परिसरमा वाल कम्पाउण्डको ठेक्का प्रकृया अगाडी बढेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी गराएका छन् ।

पूर्वाधार तर्फ बहुउद्देश्यीय भवन ठेक्का प्रकृयामा रहेको, १ नं. वडा कार्यालयको आफ्नै भवन निर्माण भई सेवा सुचारु भएको, २ नं. वडा कार्यालयको भवन निर्माणका लागि जग्गा छनौट भएको, ४ नं. वडा कार्यालय भवन निर्माणधिन अवस्थामा रहेको, ५ नं. वडा कार्यालय भवन निर्माण सम्पन्न भएको, ६ नं. वडा कार्यालय भवन निर्माका लागि जग्गा खरिद भैसकेको र सो स्थानमा भवन निर्माणका लागि डि.पि.आर र ड्रोइङ्ग डिजाइन भई छिट्टै सो स्थानमा वडा भवन निर्माण गरिने, आधाभुत स्वास्थ्य केन्द्र भवन वडा नं. ४ भाँगेमा निर्माणधिन रहेको प्रगति विवरण गाउँसभामा सार्वजनिक गरिएको थियो ।

यस्तै, नेपाल सरकार मन्त्रिपरिषदबाट १५ शैयाको अस्पताल निर्माणका लागि निर्णय भै सकेको र सो निर्माणका लागि आवश्यक प्रकृया प्रारम्भ गरिएको, गाउँपालिका वडा नं. ४ आम्डाडा स्थित शहरी स्वास्थ्य केन्द्रको स्थापना, आँबुखैरेनी गाउँपालिका वडा नं. ६ प्यूघरटार स्थित शहरी स्वास्थ्य केन्द्रको स्थापना, १ नं. वडा कार्यालय जाने २०० मिटर कालोपत्रे सडक निर्माण गरिएको विवरण सार्वजनिक गरिएको छ ।

प्रथम चौमासिकको प्रगति विवरणमा सत्रसय आँधिमुल सडक कालोपत्रे ७५० मि. सडक सम्पन्न थप १ कि.मि.को काम सुचारु अवस्थामा, मार्किचोक पहरे तिवारी सडक कालोपत्रे ६४० मि. निर्माण सम्पन्न, आधाभुत स्वास्थ्य केन्द्र, १, २ को भवन सम्पन्न भै छिट्टै सेवा प्रवाह हुने, छविसे टोल सडक कालोपत्रे योजना ३०० मि. काम सुचारू, गाउँपालिका भित्र सबै वडा कार्यालयसम्म जाने कच्ची सडक जोडिएको, औधोगिक ग्रामको विस्तृत परियोजना प्रस्ताव सम्पन्न, गाउँपालिका आवधिक योजना निर्माण प्रकृया प्रारम्भीक चरणमा, प्रशासकीय भवनको परिसरका अव्यवस्थित वस्ती व्यवस्थापन गरिएको, गाउँपालिका स्तरीय रंगशाला निर्माण प्रकृयामा रहेको, शवदाह स्थल निर्माण गरिएको, आ.व. ०७७/०७८ का लागि स्वीकृत पूर्वाधार तर्फका योजनाहरु सम्झौता भई कार्य भै रहेको, योजना सम्झौताको शुरुवातदेखि योजना हस्तान्तरणसम्म व्यवस्थित गर्न योजना पुस्तिका तयार गरी कार्यान्वयन गरिएको प्रगति विवरण गाउँसभामा सार्वजनिक गरिएको थियो ।

गाउँपालिकाले फोहरमैला व्यवस्थापनका लागि १२ रोपनी जग्गा व्यवस्थापन गरेको छ । कुहिने, नकुहिने तथा सिसा जन्य पदार्थ छुट्टाछुट्टै कोठामा संकलन तथा व्यवस्थापनका गरिदै आइएको गाउँसभामा जानकारी गराइएको थियो । यस्तै, सूचना प्रविधी मैत्री गाउँपालिका निर्माणका लागि मन्त्रालयबाट उपलब्ध गराइएको वेवसाइड मार्फत अनलाइन सिस्टमबाट सबै वडाबाट व्यक्तिगत घटना दर्ता गर्ने गरिएको, अनलाइन प्रविधिबाट एकिकृत सम्पत्ति कर संकलन गरिएको, गाउँपालिका भित्र ४० वटा सिसिटिभि जडान गरी करिव ५ किलोमिटर क्षेत्रफलमा अपराधिक कृयाकलाप नियन्त्रण तथा सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको, सुचना सबैलाई सुचित बनाउन विभिन्न स्थानमा (गाउँपालिका प्रवेशद्वार, गाउँपालिका कार्यालय र इलाका प्रहरी कार्यालयमा) डिजिटल बोर्ड राखि सूचनाहरु सम्प्रेशण गरिएको जनाइएको छ ।

गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउनका लागि विभिन्न कृषि क्षेत्र तथा पशु क्षेत्रको विकासको लागि विभिन्न ट्याक्टर, मिनीटिलर, तरकारी विउ विजन तथा पशुको विकासको लागि विकासे बोका कृषकलाई हस्तान्तरण गरिएको, पशु बधशाला निर्माण, हाट बजार व्यवस्थापन अन्तिम चरणमा पुगेको, नार्क प्रविधि गाउँ स्थापना गरिएको, वडा नं. १ बरादी जडीबुटी खेती उत्पादन तथा बजारीकरणका लागि कृषकलाई तालिम तथा प्रशिक्षण, पशु तथा कृषि शिविर, कृषक पाठशाला लगायतका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ५० लाख रुपैयाँका लागतमा ऐन पहरा, छिम्केश्वरी, आँधिमूल, शिवालय मन्दिरको विकासको लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । ऐना पहराको विस्तृत परियोजना प्रस्ताव तयारी चरणमा रहेको, गण्डकी प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त पहल तथा कार्यक्रम अन्तर्गत वडा नं. ५ छिम्केश्वरी-लाब्दी तथा वडा नं. ६ हिलेखर्कमा होमस्टे संचालन गरिएको, छिम्केश्वरी मन्दिरलाई पूर्णता दिन बजेटको व्यवस्थापन गरिएको, पर्यटन प्रवर्द्धनका लागि छिम्कालेकमा कार्यपालिका वैठक आयोजना गरिएको जस्ता प्रगति विवरण गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले सार्वजनिक गरेका थिए ।

गाउँपालिकाको ८० प्रतिशत नागरिकले केन्द्रीय ग्रिड अन्तर्गतको विद्युत सेवा उपभोग गरिरहेका र विद्युत सेवा नपुगेका स्थानका घरधुरी तथा सडक बत्ती व्यवस्थापनमा बैकल्पिक उर्जा प्रणाली मार्फ व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker