बन्दीपुर केवलकार सञ्चालनमा ल्याइयो

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा व्यवसायिक रुपमा केवलकार सञ्चालनमा ल्याइएको छ । परीक्षणका रुपमा मात्रै सञ्चालित केवलकार विहीबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।
व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा बन्दीपुर पुग्न सकिने भएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए ।
‘वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको हो’, उनले भने, ‘टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी र्सर्टिफिकेट प्रदान गरेको छ । करिब एक वर्ष अघिदेखि नै केवलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो ।’
तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले बताए । उनले भने, ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो ।’
केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैं साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएको अध्यक्ष शर्माले बताए । बन्दीपुर गाउँपालिका-४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति कार पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।










