कांग्रेस नेता पौडेल, वाग्ले र आलेद्वारा तनहुँ-२ मा आवेदन दर्ता
भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले आवेदन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले आकांक्षीको आन्तरिक आवेदन खुला गरेकामा पौडेल, वाग्ले र आलेले मंगलबार आवेदन दर्ता गराएका हुन् । पौडेल र वाग्ले २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए । दुवै जनाले यसपटक प्रतिनिधिसभामा इच्छा देखाएका छन् ।
कांग्रेस नेता कृष्ण सिटौला निकट मानिने पौडेलले टिकट पाउने सम्भावना रहेको उनी निकट कार्यकर्ता बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई पनि भागबण्डा मिलाउँदा पौडेलले तनहुँ-२ को टिकटमा बाजी मार्ने सम्भावना रहेको बताइन्छ ।
पौडेल देउवा प्यानलबाटै १४औ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । यद्यपि उनी पराजित भएका थिए । देउवासँग निकट रहेका वाग्लेले पनि टिकट आफ्नो पक्षमा पार्न लागि परेको चर्चा चल्ने गरेको छ ।










