तनहुँको भानुका व्यवसायिक कृषकहरुसंग अन्तरक्रिया
डिपि अधिकारी/भञ्ज्याङ

तनहुँको भानु नगरपालिकाले विषयगत कार्यालयहरुको समन्वयमा व्यवसायिक कृषि पेशा अंगालेका कृषकहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपालनको क्षेत्रमा रहेका समस्या र योजनाको सम्भाब्यता अध्ययन गरी कृषि र पशु बिकासको पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।
कृषकहरुले पशु वीमाको भुक्तानीमा समस्या हुने गरेको, कामदारको अभाव हुने गरेकाले सम्बन्धित निकायले बेलैमा देशमै बस्न प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने, उत्पादित बस्तुले उचित मूल्य नपाएको, बजारीकरणको समस्या, अनुदान कार्यक्रम सोझ-साझा कृषकको पहुँचमा नभएको, बिना ब्याजमा कृषि ऋणको ब्यवस्था गरिनु पर्ने, कृषिलाई उद्योगमा जोड्नु पर्ने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिनु पर्ने, बाँदर नियन्त्रणमा ध्यान दिनु पर्ने, कृषकलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउनु पर्ने लगायतका समस्या सुनाएका थिए ।

नगरप्रमुख नगरप्रमुख आनन्दराज त्रिपाठीले कृषि पेशालाई मर्यादित पेशाको रुपमा बिकास गर्न नगरपालिका सदैब अग्रसर रहने बताए । उनले वडा नं. १ मा रहेको कृषि संकलन केन्द्र छिट्टै संचालनमा ल्याउने तयारी भैरहेको समेत बताए।
कार्यक्रममा कृषि, उर्जा तथा जलश्रोत मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव प्रसाद हुमागाईले कृषकहरुको मागको आधारमा सरकारले योजना बनाउन लागेको भन्दै वास्तविक कृषहरुलाई सरकारले प्रोत्साहन गर्नु पर्ने धारणा ब्यक्त गरे। उनले एक वडा एक कृषि र एक पशु प्राविधिकको ब्यवस्था गरी कृषि क्षेत्रमा ब्यवसायिक बनाउनु पर्ने भन्दै गाउँघरको जग्गा जमिन बाँझै राखी बाहिरी देशबाट गुणस्तरहीन खाद्यन्न भित्रिरहेकाले त्यस तर्फसजग रही आम नेपालीलाई कृषि कर्ममा लाग्न आग्रह गरे ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले उत्पादनको आधारमा अनुदानको ब्यवस्था गर्नुपर्ने र त्यसका लागि कृषकहरुलाई वर्गीकरण गर्न आवश्यकता रहेको बताए । उनले बाँदरले कृषहरुलाई दुःख दिने र बालीनाली सखाप पारेकोले बाँदर आतंकलाई नियन्त्रण गर्न राष्ट्रिय बहस गर्न जरुरी रहेकोले संसदको ध्यान जान पनि अपरिहार्य रहेको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जिल्लामा बंगुरको पाठापाठी र बंगुर आवश्यकता भन्दा बढी उत्पादन भएकोले बजारीकरणमा समस्या हुने गरेको बताए । दाना चोकर आदीको मूल्य दिन प्रतिदिन बढ्दै गएकाले घाँसमा आधारित पशुपालन गर्न कृषकहरुलाई उनले आग्रह गरे ।










