४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’

‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल एक पत्रिकाको यात्रा मात्र होइन, नेपाली समाजका विविध आयाम– राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूको साक्षी र संवाहक पनि हो । ‘भञ्ज्याङ’ले सधैं आवाजविहीनहरूको आवाज बन्ने, समाजका समस्या र चुनौतीहरूलाई उजागर गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने दायित्व निर्वाह गर्दै आएको छ । संघर्षका अनेक उतारचढावका बीच पनि यसले सत्य र तथ्यमा आधारित पत्रकारितालाई आफ्नो मूल आधार बनाउँदै आएको छ ।
प्रविधिको विकाससँगै ‘भञ्ज्याङ’ले पनि आफ्नो स्वरूपलाई समयानुकूल रूपान्तरण गर्दै आएको छ । लिथो, लेटरप्रेस हुँदै आधुनिक छपाइ प्रविधिसम्म आइपुग्दा यसले नयाँ मिडियासँग पनि सहकार्य गर्दै आफ्नो पहुँच देश–विदेशका पाठकमाझ विस्तार गरेको छ । यद्यपि, प्रविधिको तीव्र विकासले छापा माध्यमलाई चुनौती पनि थपेको छ, जसले अझ परिष्कृत, विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता झनै बढाएको छ । ४४ वर्षको यो प्रकाशन यात्रा नेपाली समाजका समस्या, सम्भावना र समाधानको निरन्तर खोज हो । ‘भञ्ज्याङ’ले स्थानीय स्तरमा रोजगारी, बेरोजगारी, सामाजिक समानता तथा विकासका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । आजको विशेषाङ्क ‘स्वास्थ्य हाम्रो अधिकार, संरक्षण हाम्रो कर्तव्य’ भन्ने मूल विषयमा केन्द्रित रहँदै समग्र तनहुँ जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थालाई समेट्ने प्रयास गरिएको छ ।
संघीय संरचनामा प्रवेश गरेसँगै राज्यका हरेक तहमा जनअपेक्षा र जिम्मेवारी बढेको छ। यस सन्दर्भमा प्रभावकारी सेवा प्रवाह, विशेषतः स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्नु अत्यावश्यक छ। यस अंकमा जिल्लाका सबै स्थानीय तहहरूले स्वास्थ्य सेवा सुधारका लागि गरेका प्रयासहरूलाई समेट्ने प्रयत्न गरिएको छ । यस ऐतिहासिक अवसरमा हामी सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं । ‘भञ्ज्याङ’को आगामी यात्रा अझ सशक्त, प्रभावकारी र जनउत्तरदायी बनाउन यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछौं । नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्णमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको कामना गर्दै, देशलाई समुन्नतिको मार्गतर्फ अघि बढाउन सबै पक्षबाट सकारात्मक पहल होस् भन्ने अपेक्षा व्यक्त गर्दछौं । – प्रकाशक










